१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Monday, 01 July, 2024
२o७९ असोज ३० आइतबार १७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चिनियाँ कम्पनीले ६० करोड भुक्तान नदिएको भन्दै सप्लायर्सले घेरे कार्यालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार १७:३९:oo

बुटवल–नारायणगढ सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले सडक विस्तारको काम थालेको ३ वर्ष कटेको छ। सम्झौता अवधि सकिएर म्याद थप गर्दासमेत उसले जम्मा १८ प्रतिशतको हाराहारीमा मात्र काम सकेको छ।

एकातिर सडक अलपत्र छ, अर्कोतिर सडक धुलाम्य र खाल्डाखुल्डी भएर यात्रुलाई समेत सास्ती हुने गरेको छ। अर्कोतर्फ सरकारले चाइना स्टेट कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ।

बुटवल–नारायणगढ सडकखण्ड विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले सप्लायर्स कम्पनीहरूलाई ६० करोड बढी भुक्तान नदिएको भन्दै आइतबार कम्पनीको कार्यालयअगाडि धर्ना दिएका छन्। उनीहरूले आफूहरूले ९ महिनादेखि भुक्तान नपाएको भन्दै धर्ना दिएका हुन्।

बुटवल नारायणगढ सडक खण्ड विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीले विभिन्न सप्लायर्स कम्पनीहरूलाई ९ महिनादेखि गरी ६० करोड बढी भुक्तान नदिएपछि सप्लायर्स कम्पनीका सञ्चालक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

उनीहरूले आइतबार आजदेखि कावासोती नगरपालिका- १० मगरकोटनजिक रहेको कम्पनीको कार्यालयअगाडि धर्ना सुरु गरेका छन्। उनीहरूले नेपाली र चाइनिज भाषामा ब्यानरसहित धर्ना दिएका हुन्। 

उनीहरूले ६० करोड बढी रकम भुक्तान पाउन बाँकी रहेको आन्दोलनमा सहभागी नेपाल मेसिनरी एक्जिमका सञ्चालक निर्मल सरावगीले बताए। उनले आफूहरूले पाउनुपर्ने रकम तत्काल नपाए धर्नामा बसिरहनुको विकल्प नभएको चेतावनी दिए।

कम्पनीले माग गर्नासाथ आफूहरूले कुनै पनि काम नरोकियोस् भनेर रड, सिमेन्ट, गिटीलगायतका निर्माण सामग्रीदेखि निर्माण उपकरणहरू रोलर, टिपर, एक्साभेटरलगायतका उपकरण तत्काल उपलब्ध गराएको भए पनि अहिले निर्माण कम्पनीले लामो समयदेखि भुक्तान नदिएर आफूहरूलाई अप्ठेरामा पारेका सप्लायर्स कम्पनीका कर्मचारी एवं प्रतितिधिहरूले गुनासो गरेका छन्।

ठेकेदार कम्पनीले ९ महिनादेखि रकम भुक्तान नगर्दा आफूहरू चल्नै नसक्ने अवस्थामा पुगेको र बैंकमा लोन तिर्नेदेखि कर्मचारीलाई तलब खुवाउन र आफूले समान ल्याउने गरेको कम्पनीहरूलाई रकम भुक्तान गर्न नपाउँदा आफूहरू समस्या परेको नेपाल मेसिनरी एक्जिम वीरगन्जका फाइनाइन्स प्रमुख रिया कोइरालाले बताए।

सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले कामको दौरानमा यसअघि पनि कर्मचारीहरूलाई तलब नदिएको, मजदुरहरूको पारिश्रमिकको कमिसन खाइदिने गरेकोजस्ता घटनाहरू बाहिर आउने गरेका थिए।

सप्लायर्सहरूले ठेकेदार कम्पनीका आधिकारिक व्यक्तिसँग प्रशासनमा बसेर छलफल गरी सहमति गर्नुपर्ने वा आफूहरूलाई तत्काल चेक दिनुपर्नेलगायतका माग राखेका छन्। नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आफूलाई पनि यस विषयमा जानकारी आएको र तत्काल दुवै पक्षलाई बोलाई छलफल गर्ने बताए।

२०७५ साल माघ २४ गते सरकार र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। विस्तार कार्यको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा गरेका थिए।

अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ। हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको बनाउन लागिएको छ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर काम सुरु गरिएको हो। तर, काम सुरु गरेको ३ वर्ष बितिसक्दा पनि १८ प्रतिशतको हाराहारीमा मात्र काम भएपछि चाइना स्टेट कम्पनीको चौतर्फी आलोचना भएको छ।

ad
ad
ad
ad