मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ८ सोमबार
  • Monday, 25 September, 2023
गणेश लम्साल विराटनगर
२०७९ असोज २६ बुधबार १७:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेबिवेट’ लाई टक्कर दिन मतदाता फकाउँदै रेखा

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असोज २६ बुधबार १७:३५:००

रिल लाइफमा प्रशस्त नाम र दाम कमाइसकेकी अभिनेत्री रेखा थापा रियल लाइफमा यसपालि चुनौती मोलेर चुनावी प्रतिस्पर्धा गर्दै छिन्।

मोरङको ३ नम्बर निर्वाचन क्षेत्रको सुन्दरहरैँचा नगरपालिकाको विराटचोक माइतीघर भएकी अभिनेत्री रेखा ४ मंसिरमा हुने आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्। 
  
राप्रपा पार्टीबाट उम्मेदवारी बनेकी रेखा आजकल आफनो चुनावी प्रचारप्रसार अभियानलाई आक्रमक बनाउँदै लगेकी छन्। उनी बिनदेखि साँझसम्म घरदैलो र भेटघाटमा व्यस्त भइरहेकी छिन्। 

 

‘रिल लाइफमा मैले धेरै नाम र दाम कमाएँ। मलाई नपुग्दो केही छैन तर आफना नागरिकहरूको सेवा गर्न म आफ्नो जन्मघर आएकी हुँ। विजयी भएर यहाँका त्रुटि र विकृति सबै हटाउनेछु।’ उनले भनिन्। 

उनले आफनो उम्मेदवारीलाई युवाहरूको सकारात्मक विद्रोह हो भनेर अर्थ्याउने गरेकी छिन्। उनले सचेत आमा–बुबा, दिदी–बहिनी र युवाहरूले सकारात्मक विद्रोह गरेर आफूलाई विजयी गराउने दाबी गरिरहेकी छन्।

रेखाले चुनावी प्रचारप्रसारका क्रममा धेरैजसो महिलाहरूलाई फोकस गर्दै आएकी छिन्। उनी जहाँ जान्छिन् प्रायः महिलाहरूबाट घेरिने गरेकी छिन्। उनले प्रचारप्रसारका क्रममा सबैभन्दा पहिला महिलाहरूका लागि योगदान गर्ने प्रतिबद्धता जनाउने गरेकी छिन्। 

उनले चुनावी प्रतिबद्धताका क्रममा भन्ने गरेकी छिन्, ‘रिल लाइफमा मैले धेरै अन्यायविरुद्ध लडेर विजयी प्राप्त गरेँ। अब रियल लाइफमा तपाईंहरूको अधिकारका लागि लड्छु। तपाईंहरू उच्च चेतना प्रर्दशन गर्नुहोस्। म महिला र समाजका लागि निर्धक्क निस्वार्थ सेवा गर्न सधैँ तत्पर रहनेछु।’

तर, मतदाताहरूले भने चुनाव जितेर गएका अरू नेताजस्तै तिमी हराउने त हैनौ भन्दै रेखाप्रति प्रश्न तेर्साउने गरेका छन्।  

सुकुमबासीलाई लालपुर्जा दिलाउने ‘कसम’ 
 
आफ्नो माइती खलक अझै ऐलानी जमिनमा बस्न बाध्य भइरहेको भन्दै उनले सुकुमबासीहरूलाई लालपुर्जा दिलाउन लागिपर्ने कसम पनि खाने गरेकी छिन्। उनले सुकुमबासी टोलमा गएको भनिन्, ‘मेरो दाजु अझै ऐलानी जमिनमा बस्न बाध्य हुनुहुन्छ। मैले पनि धनीपुर्जा नहुनुको पीडा प्रत्यक्ष भोगेको छु। यसैले मैले जिते भने सबैलाई पुर्जा दिलाउन लागिपर्नेछु। यो मेरो वाचा भयो।’

रिल लाइफको ख्यातीले आसन्न निर्वाचनमा जित हासिल गर्न सफल हुने विश्वास लिएर चुनावी प्रचारप्रसारमा लागिरहेकी अभिनेत्री रेखालाई आफनो जित सुनिश्चत गराउन सहज भने छैन। 

उनले वाम –लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका सुनील शर्मा र एमालेबाट पूर्वमन्त्री भानुभक्त ढकालसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्नेछ। कांग्रेस र वामपन्थीहरूको झन्डै समानान्तर पकड भएको मोरङ ३ मा रेखाको पार्टी राप्रपाको भने खासै पकड छैन। 

२०७४ को निर्वाचनमा यहाँ एमालेका भानुभक्त ढकालले कांग्रेसका सुनील शर्मालाई झिनो मतान्तरले हराएका थिए। तत्काल वामगठबन्धनबाट ढकालले ४२ हजार ४१३ मत प्राप्त गरेका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनील शर्माले ४० हजार ६०७ मत पाएका थिए।
 हाल चुनावी प्रतिस्पर्धा गरिरहेकी रेखाको पार्टी राप्रपाले तत्काल उम्मेदवारी नै दिएको थिएन।

विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक रहेका शर्माले यसपालि गठबन्धनबाट शक्त्तिशाली उम्मेदवार मानिएका छन्। उनले पहिलेदेखि नै यो क्षेत्रका मतदाताहरूलाई निःशुल्क उपचार सेवा दिँदै आएकोले उनी चर्चामा छन्।

स्थानीय मतदाताका अनुसार चुनौती दिएका उम्मेदवारहरू उनीभन्दा धेरै चर्चित र बलशाली भएकोले प्रतिस्पर्धालाई जितमा बदल्न रेखालाई रिल लाइफमा जस्तो पक्कै सजिलो छैन।