मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २६ बुधबार ०६:२५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको हवाई सेवा इयूको कालोसूचीबाट हट्ला त ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २६ बुधबार ०६:२५:००

युरोपियन युनियन (इयू)ले एक दशकपछि नेपालको हवाई क्षेत्रलाई गम्भीर सुरक्षा चासो लिस्ट (कालोसूची)बाट हटाउने संकेत दिएको छ । इयूअन्तर्गतको युरोपेली आयोगको टोलीले तीन दिनसम्म मिहिन सुपरीवेक्षण गरेर नेपालले हवाई सुरक्षामा उल्लेख्य सुधार गरेको प्रतिक्रिया दिएको छ । युरोपेली मुलुकमा उडान गर्न नपाउने गरी इयूले विगत १० वर्षदेखि नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध केही महिनाभित्रै हट्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले बताए । 

नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबाट इयूको टोली सन्तुष्ट रहेको उनको दाबी छ । ६ अक्टोबरदेखि ८ अक्टोबरसम्म नेपाली हवाई क्षेत्रको अडिट गरेर इयूको टोली फर्किसकेको छ । अडिटको अन्तिम रिपोर्ट २८ अक्टोबरमा आउने बताइएको छ । ‘अडिटका क्रममा उठाइएका विषय रिभ्यु गरेर हामीले आफ्नो कमेन्ट पठाएपछि टोलीले प्रतिवेदनलाई पूर्णता दिई युरोपियन आयोगमा पेस गर्नेछ,’ उनले भने, ‘यो काम चाँडै सकाएर प्रतिवेदन पेस गर्न सकेमा नोभेम्बरमा सेफ्टी लिस्टबाट हट्नेछौँ, यदि ढिला भयो भने मार्चसम्म कुर्नुपर्ने हुन्छ ।’ उनका अनुसार आयोगको सेफ्टी कमिटीको बैठक ५ नोभेम्बरबाट सुरु हुँदै छ ।

इयूले सन् डिसेम्बर २०१३ देखि नेपाली वायुसेवालाई युरोपेली मुलुकमा उडान गर्न नपाउने गरी गम्भीर सुरक्षा चासो लिस्टमा राखेको छ । जुलाई २०१२ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाली वायुसेवाको उडान सुरक्षामा जोखिम बढेको भन्दै गम्भीर सुरक्षा चासोको लिस्टमा राखेको थियो । आइकाओको त्यही अडिटलाई आधार बनाएर इयूले पनि नेपाली वायुसेवालाई कालोसूचीमा राखेको हो ।

आइकाओले नेपाली हवाई क्षेत्रको सुरक्षामा प्रगति भएको ठहर गर्दै सन् २०१७ मै सुरक्षा चासोको लिस्टबाट हटाइसकेको छ । तर, इयूको सुरक्षा चासो भने १० वर्षदेखि यथावत् छ । यसै वर्ष १३ अप्रिलदेखि २५ अप्रिलसम्म आइकाओको टोलीले गरेको अनसाइट अडिटमा नेपालको सुरक्षा स्कोर विश्वको औसत स्कोरभन्दा धेरै आएको छ । सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अंक पाएको छ । यो अंक एसिया प्यासिफिक क्षेत्रको औसत स्कोरभन्दा पनि धेरै हो । यही स्कोरका आधारमा पनि इयूले कालोसूचीबाट हटाउने विश्वास क्यानको छ ।

क्यानका महानिर्देशक प्रदीप अधिकारी भन्छन्– मार्चसम्म इयूले नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको लिस्टबाट हटाउनेछ

इयूको टोलीले दिएको प्रारम्भिक रिपोर्टमा नेपाली हवाई क्षेत्रले १० वर्षको अवधिमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गरिएको महानिर्देशक अधिकारीले बताए । इयूको टोलीले क्यानसहित दुर्गम क्षेत्र (स्टल रुट)मा उडान गर्ने तारा एयर र समिट एयरको पनि अडिट गरेको थियो । इयूले सुरक्षा स्कोर ग्लोबल एभरेजभन्दा धेरै कम रहेको, नेपाली आकाशमा धेरै दुर्घटना भएकोलगायत कारण देखाउँदै नेपाली वायुसेवालाई सेफ्टी लिस्टमा राखेको थियो । त्यो वेला नेपालको औसत स्कोर ४० प्रतिशत रहेको थियो । जबकि विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत र एसिया प्रशान्त क्षेत्रको ६१.४ प्रतिशत रहेको थियो । तर, पछिल्लो अडिटमा विश्वको औसत दरभन्दा ३.३४ प्रतिशत बढी अंक हासिल गरेको छ ।

 ‘समस्या एकातिर, अल्झियौँ अर्कोतिर’
नेपालको स्टल रुटमा उडान गर्ने क्यानेडेली जहाजहरू १२ हजार फिटमा उड्न सक्छन् । तर, नेपालमा एयरपोर्ट नै १२ हजार फिटमा छन् । २९ हजार फिटसम्म अग्ला हिमाल तथा पहाड रहेको नेपालमा डाँडाको बीचबाट जहाज उडान अवतरण गर्नुपर्ने हुन्छ । त्यसमाथि नेपालको पहाडी र हिमाली भेगको मौसम फोरकास्ट गर्न नसकिने खालको छ । त्यसैले स्टल रुटका उडान धेरै दुर्घटनामा पर्ने गरेको क्यानका महानिर्देशक अधिकारीले बताए ।

आइकाओ र इयूले स्टल रुटमा आधुनिक प्रविधि, हवाई पूर्वाधारलगायतमा स्तरोन्नति गरेर हवाई सुरक्षा बढाउन सुझाब दिएको उनको भनाइ छ । ‘इयूले स्टल एयरपोर्टमा सुरक्षा प्रत्याभूति बढाउन अत्याधुनिक प्रविधि र एयरपोर्ट पूर्वाधारमा खर्च गरेर सुरक्षा बढाउन भनेको छ,’ उनले भने, ‘तर, हामी बेकारमा १० वर्षदेखि क्यानलाई टुक्य्राएर नियामक र व्यवस्थापक छुट्टाछुट्टै बनाउनुपर्ने बहसमा अल्झिरहयौँ ।’ कुहिरोले ढाकिरहने पहाडका बीचबाट उडान गर्नुपर्ने स्टल एयरपोर्ट आधुनिक प्रविधिका हिसाबले धेरै पछाडि रहेका छन् ।

सरकारले प्रविधिमा लगानी गर्न नसक्दा स्टल रुटमा वायुयान चालकले आँखाले देखेको ठाउँमा मात्र उडान गर्न सक्छन् । चालकलाई बादल र कुहिरोभित्र छिर्न नपाउने व्यवस्था छ । ‘आइकाओ र इयूले पनि स्टल एयरपोर्टमा जहाज बादलभित्र छिरेर दुर्घटनामा परे, त्यो कम गर भनेका छन्,’ महानिर्देशक अधिकारीले भने, ‘त्यो काम छाडेर दशकदेखि क्यान टुक्य्राउने बहसमा बिताउँदा नेपाली वायुसेवा लामो समयदेखि इयूको प्रतिबन्धमा परेका हुन् ।’