१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Saturday, 28 September, 2024
२o७९ असोज २४ सोमबार १२:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगु पहिरो : बेपत्ता आठजनाको खोजीकार्य जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार १२:५२:oo

एक सातायताको अविरल वर्षाका कारण मुगुको छायानाथ–रारा नगरपालिका–११ तल्लो सालिमगाउँको माथिबाट आएकाे पहिराेमा परी आठजना बेपत्ता भएका छन्। आइतबार दिउँसो गाउँमाथिबाट आएको पहिरोले दुई घर पुर्दा घरभित्र रहेका उनीहरू बेपत्ता भएका हुन् भने २५ परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार बेपत्ता भएकामध्ये दुईजनाको शव भेटिएको जानकारी प्राप्त भएको छ। बाढीका कारण गमगाढ खोलाका सबै पुल–पुलेसा भत्किएकाले बिहान ७ बजे हिँडेको सुरक्षाकर्मीको टोली अझै घटनास्थल पुग्न नसकेको उनको भनाइ छ।

उक्त स्थानमा मोबाइल नेटवर्कको समस्याका कारण क्षतिको यकिन विवरण आउन सकेको छैन। बेपत्ता भएकाहरूको स्थानीयले खोजी गरिराखेका बताइएको छ।

वडाध्यक्ष कुन्जुमा कुमाईंका अनुसार बेपत्ता हुनेहरूमा ८२ वर्षीया गोरीकला बोहरा, ६० वर्षीया हाजिरी भग्री, ३० वर्षीया होइजाली भग्री, १५ वर्षीया सुस्मिता भग्री, ३६ वर्षीय वीरबहादुर भग्री,  २४ वर्षीय सत्ता सावत,  २३ वर्षीय कृष्ण सावत र १५ वर्षीय चक्रवीर बोहरा रहेका छन्।

विस्थापित परिवारलाई गाउँमै रहेको प्रभात माध्यमिक विद्यालयमा राखिएको छ। अहिलेसम्म सहयोग र उद्धारका लागि गाउँमा कोही नपुगेका वडा कार्यालयका प्राविधिक जितेन्द्र कुमाईंले बताए।

निरन्तरको वर्षाले नगरपालिकाको गमगाढमा रहेका काठेसाँघु, झोलुंगेपुल बगाएको छ भने गमगाढ वितरण केन्द्रमा क्षति पुर्‍याउँदा विद्युत् अवरुद्ध भएको छ। खराब मौसम, सञ्चारविच्छेद र पुलहरू बगाउँदा उद्धारका लागि कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।

वडा नम्बर ८ झ्यारीगाउँ, वडा नम्बर ७ टोप्लागाउँ, वडा नम्बर ४ को ढुम, वडा नम्बर ५ को भियालवाडा गाउँ र सदरमुकाम गमगढीको कालिका मालिका दक्षिण खण्डमा वर्षाले क्षति पुर्‍याउँदा करिब पाँच सय परिवार विस्थापित भएका अनुमान गरिएको छ। त्यस्तै, खत्याड गाउँपालिका– ९ नखर्जीगाउँका १० घर बाढीले बगाउँदा पीडितहरू नजिकैको विद्यालयमा बसेका छन्।