ताप्लेजुङ जिल्लाको पर्यटकीय हिमाली गाउँ ओलाङचुङगोलाका महिलाले गलैँचा बुनाइबाट राम्रो आम्दानी गर्ने गरेका छन् । घरमा नै हाते उद्योग सञ्चालन गरी स्थानीय महिला गलैँचा बुनेर आत्मनिर्भर बनेका छन् । तर, कोरोनाका कारण तीन वर्षदेखि चीनको तिब्बत नाका बन्द हुँदा गलैँचा निकासीमा समस्या परेको छ । जसले गर्दा गलैँचा बुनेर आत्मनिर्भर बन्दै गरेका स्थानीय महिला चिन्तित छन् ।
अहिले राजधानी काठमाडाैं तथा भारतको दार्जिलिङमा लगेर बिक्री गर्ने र कच्चा पदार्थ पनि सोही ठाउँबाट आउने गरेको छ । यो पर्यटकीयस्थल भएकाले पर्यटकले समेत यहाँ उत्पादित गलैँचा खरिद गर्ने गर्छन् ।
६१ घरपरिवार रहेको फक्तालुङ गाउँपालिकाको वडा नं. ७ को ओलाङचुङगोलामा पुरुष व्यापारका लागि राजधानी काठमाडौं तथा बाहिरी जिल्ला जाने गर्छन् भने कतिपय पुरुष चौँरीगोठमा बस्छन् । तर, प्रत्येक घरका महिला गलैँचाको तान लगाई गलैँचा बुनेर आम्दानी गर्दै आएका छन् ।
एउटा गलैँचाबाट न्यूनतम १५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी
एउटा गलैँचाबाट न्यूनतम १५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने स्थानीय महिला बताउँछन् । यहाँ उत्पादित गलैँचा धेरै वर्षसम्म टिक्ने र बाक्लो हुने गरेको कारण ग्राहकको रोजाइमा पर्ने गर्छ ।
ओलाङचुङगोलामा १५ हजार र बाहिर लगेर बिक्री गरेमा सोही गलैँचाको ३० हजार रुपैयाँसम्म पर्ने गरेको व्यापारीको भनाइ छ । गलैँचाको बुनाइ, गलैँचामा बनाइएको चित्र, बुट्टा तथा अन्य विविध कारणले पनि मूल्य फरक हुने गरेको फक्ताङलुङ गाउँपालिकाका वडाध्यक्ष छेतेन शेर्पा बताउँछन् ।
बाक्लो गरी बुनिएको छ भने एक गलैँचाको मूल्य ३० हजारसम्म पनि पर्ने गरेको छ । तर, साधारण बुनाइ भएमा १५ हजारसम्ममा आउने गरेको उनको भनाइ छ । चीनसँगको नाका बन्द भएका कारण गलैँचा निकासीमा ठूलो समस्या आएको वडाध्यक्ष शेर्पाको गुनासो छ ।