१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १७ सोमबार २२:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सधैँ सांसद, मन्त्री, प्रधानमन्त्री बन्ने लोभले लोकतन्त्रलाई आघात पुर्याइरहेको छ - डा. भट्टराई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १७ सोमबार २२:१५:००

डा. बाबुराम भट्टराईले जसरी पनि संसद्मा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको बताएका छन् । 
आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबने घोषणा गरेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । 

उनले सदन बाहिरबाट गरिने कर्म पनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको स्पष्ट पारेका छन् । अघिल्लो प्रतिनिधिसभामा गोरखा–२ बाट निर्वाचित भट्टराईले सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताए । 

उनले राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद् बाहिरबाट पनि जनताको सेवा गर्न सकिने स्पष्ट पारे । उनले भने, ‘सक्रिय राजनीति गर्ने मान्छेले चुनाव नलड्ने यो नै रोचक प्रश्न हो । किनकी, राजनीति भनेको चुनाव मात्रै हो, सत्ता मात्रै हो भन्ने जुन पर्न गयो, खासगरी ढिलो लोकतान्त्रिकरण भएको नेपालमा यो अत्यन्त विडम्बनापूर्ण कुरा छ । तर, राजनीति भनेको समाज रुपान्तरणको निम्ति गरिने, जनताको र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म हो । त्यसका निम्ति सत्ता, चुनाव भनेका ती एउटामध्येको साधन हो । त्यो मात्रै होइन । 

उनले जसरी पनि संसद्मा पुग्ने, जसरी पनि मन्त्री र कार्यकारी हुने भन्ने प्रवृत्तिले लोकतन्त्रलाई आघात पुर्याइरहेको भन्दै पटक–पटक लामो समयदेखि सांसद भएका, कार्यकारी भूमिकामा रहिराखेकाहरुले सदन बाहिरबाट, सरकार बाहिरबाट राष्ट्रलाई सेवा दिनुपर्ने बताए । ‘मैले अलि पहिलेदेखि सोच्दै आएको थिएँ । अब यो उपयुक्त वेला हो । मैले नै पहल गर्नुपर्छ भनेर मैले गरेको हुँ,’ उनले भने ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले पार्टी काममा भने निरन्तर रहने बताए । उनले आफू समाजवादी धार बनाउन क्रियाशील हुने पनि बताए । उनले राज्यका अंगहरुमा भइरहेको भ्रष्टिकरण, शासकीय स्वरुपमा परिवर्तन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने सवालमा आफू संसदबाहिरको सबै ठाउँबाट क्रियाशिल हुने बताए । 

‘बाबुराम भट्टराईलाई तपाईंले जनताको बीचमै देख्नुहुन्छ । म त्यसमै क्रियाशील भइराखेको हुन्छु । हामीले एउटा नयाँ वैकल्पिक राजनीतिक धार, समाजवादी धार निर्माण गर्ने हाम्रो प्रयत्न पनि जारी छ,’ उनले भने, ‘नेपालको पिछडिएको अर्थ सामाजिक संरचना, भूराजनीति यो सबैलाई सम्बोधन गर्नको निम्ति हामीले समावेशी सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवादी धार उपयुक्त हुन्छ भन्ने कुरामा हामी सोचले लागेका छौँ । म पार्टीमा सक्रिय हुन्छु । म पार्टी निर्माण गर्ने क्रममा, यो राजनीतिक अभियानलाई अगाडि बढाउने कुरामा एकापट्टी सक्रिय हुन्छु । अर्कोपट्टी देशको मुख्य समस्या भनेको गरिबी र बेरोजगारी नै हो । पीछडिएको आर्थिक, सामाजिक संरचना नै हो पहिलो । दोस्रो राज्यका अंगहरुमा जुन खालको भ्रष्टिकरण, विकृतिकरण आएको छ, त्यसलाई सुधार गर्ने कुरा छ । तेस्रो कुरा लोकतन्त्रको अपूर्णता, शासकीय स्वरुप नेपालमा जुन हामीले चलाएका छौँ । मिश्रित प्रकारको संसदीय व्यवस्था जस्तो । त्यसले गर्दाखेरी राजनीतिक स्थिरता दिँदैन । त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद चाहिन्छ भन्ने कुरा मैले शुरुदेखि भनेको थिएँ । त्यो विषयमा मैले आवाज उठाउँछु । र चौथो कुरा जुन जटिल भूराजनीति छ । खासगरी भारत, चीनकाबीचमा हामी छौँ । विश्व महाशक्तिहरुको पनि यहाँ चासो छ । त्यस्तो अवस्थामा एउटा राष्ट्रिय नीति हामीले लिएर कसरी राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने भन्ने जुन कुरा छन् । यी विषयमा म निरन्तर क्रियाशील हुन्छु र तपाईंहरुले मलाई संसद् बाहिरका सबै स्थानमा पाउनुहुन्छ ।’

भट्टराईले आफूले संसदीय निर्वाचनमा उम्मेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पारे । ‘छिटोभन्दा छिटो कसरी यो देशलाई मध्यमस्तरसम्म पु¥याउने त भन्ने मेरो परिकल्पना हो । त्यसो भएको हुनाले म सक्रिय ढंगले लाग्छु । कुनै पदलाई बार्गेनिङ गर्नको लागि यो च्याखे थापेको भन्ने कसैले बुझ्छ भने अत्यन्त पीछडिएको चेतना हो । त्यसबारे मेरो भन्नु केही पनि छैन,’ उनले थपे ।

उनले आफूले छोरी मानुषी यमी भट्टराईको लागि ठाउँ खालि गर्नका लागि सो निर्णय नगरेको पनि स्पष्ट पारे । छोरी काठमाडौंबाट निर्वाचनमा उठ्ने उनले बताए । छोरी आफैँ स्थापित रहेको भन्दै आफ्नो नामबाट छोरीलाई चिनाउनु जरुरी नभएको उनले बताए । 

उनले भने, ‘नयाँ त भनिराखेको छ मान्छेले, तर विचारसहितको नयाँ पुस्ता आइराखेको छैन । त्यसैले विचारसहितको नयाँ पुस्ता आओस् भन्ने मेरो चाहना छ । त्यो भनेको मेरो छोरी भन्ने मात्रै अर्थ लाग्दैन । हाम्री छोरी पनि जतिबेला उनी सचेत भइन् आफ्नैँ स्वेच्छाले आन्दोलनमा उनी लागिन् । उनी ३७ वर्ष भइन् । करिव २२ वर्ष त उनको आफ्नै राजनीतिक जीवन भइसकेको छ । र, उनी आफैँ स्थापित छन् । हाम्रो छोरीको रुपमा उनलाई चिनाउनु पनि जरुरी छैन । त्यसकारण त्यसमा सत्य छैन । दोस्रो मेरो निर्वाचन क्षेत्र गोरखा, हिसिलाजी त काठमाडौंको हो । वास्तवमा छोरी त हिसिलाजीको छोरी बढी हो काठमाडौंको हिसावलेभन्दा । त्यसैले उनी काठमाडौंमा लडिराखेकी छन् भने मैले उनको निम्ति छोड्नुपर्ने त्यहाँ कुनै पनि कारण छैन । यसमा सत्यता छैन ।’