Skip This
आगजनी, तोडफोड र लुटपाटका भिडियो र फोटो समेटिएका ३० हजार इमेल प्रहरीलाई प्राप्त 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
टेकराज थामी काठमाडाैं
२o८२ भदौ ३१ मंगलबार o६:१३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आगजनी, तोडफोड र लुटपाटका भिडियो र फोटो समेटिएका ३० हजार इमेल प्रहरीलाई प्राप्त 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार o६:१३:oo

आन्दोलनमा भएको हिंसाको अनुसन्धानमा प्रहरीलाई सर्वसाधारणको सहयोग

  • चोक, सडक, सरकारी भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान, निजी कम्प्लेक्सलगायतमा जडान गरिएका सिसिक्यामेरामा कैद भिडियो पनि संकलन गर्दै प्रहरी 

दुई दिनको जेन–जी आन्दोलनका वेला भएका आगजनी, तोडफोड र लुटपाट अनुसन्धान र संलग्नको पहिचान गर्न प्रहरीलाई सर्वसाधारणको ठुलो समर्थन मिलेको छ । तीन दिनमै प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने भिडियो–फोटो समेटिएका ३० हजारभन्दा धेरै इमेल प्राप्त भएका छन् । उपलब्ध सबै भिडियो र फोटो विश्लेषण गरी अनुसन्धान गर्न प्रहरीले विशेष टोली नै बनाएको छ । 

प्रहरीले गत २७ भदौमा घटनामा संलग्नका भिडियो तथा फोटो इमेल गर्न सूचना सार्वजनिक गरेको थियो । सूचनापछि सर्वसाधारणले आफ्ना मोबाइल तथा सिसिक्यामेरामा कैद भएका भिडियो तथा फोटा इमेल गर्न सुरु गरेका हुन् । यसबाहेक प्रहरीले सार्वजनिक चोक, सडक, सरकारी भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान र निजी कम्प्लेक्सलगायतका ठाउँका सिसिक्यामेराका भिडियो पनि जुटाइरहेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सूचना सार्वजनिक भएको तीन दिनमा ३० हजारभन्दा धेरै इमेल प्राप्त भएको बताए । ‘आन्दोलनको उद्देश्य आगजनी, तोडफोड र लुटपाट गर्ने थिएन । तर, २३ र २४ भदौको प्रदर्शनमा सार्वजनिक सम्पत्तिका साथै व्यक्तिका घरमा आगो लगाइए । व्यापारिक प्रतिष्ठान लुटपाट भए,’ उनले भने, ‘यस्ता घटनामा संलग्नहरूका भिडियो र फोटो पठाउन हामीले सूचना सार्वजनिक गरेका थियौँ । हालसम्म ३० हजारभन्दा धेरै इमेल हामीले प्राप्त गरेका छौँ । यस्ता इमेल हाम्रो अनुसन्धानमा सहयोगी हुन्छन् ।’

अनुसन्धानको समग्र नेतृत्व प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ । प्रहरीका अनुसार सिंहदरबार, संसद् भवन, प्रधानमन्त्रीनिवास, मन्त्रीनिवास, अदालत, राष्ट्रपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका ठुला सरकारी कार्यालय तोडफोड तथा आगजनीको अनुसन्धान सिआइबीले गरिरहेको छ । व्यापारिक प्रतिष्ठान तथा नेताका घरमा भएको तोडफोड र आगजनीको अनुसन्धान भने अपराध अनुसन्धान कार्यालयले गरिरहेको छ । 

‘प्राप्त विभिन्न भिडियो र फोटालाई छुट्टाछुट्टै युनिटले अनुसन्धान गरिरहेका छन् । यो स्वाभाविक प्रक्रिया पनि हो । तोडफोड, लुटपाट, आगजनी, हत्याजस्ता घटनालाई आन्दोलनसँग जोड्नुहुँदैन,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी घिमिरेले भने, किनकि यी आपराधिक घटना हुन्, आन्दोलनको उद्देश्य यस्तो थिएन ।’

जेन–जी प्रदर्शनका क्रममा मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारका अधिकांश भवनमा आगो लगाइएका छन् । पार्क गरिएका गाडी जलाइएका छन् । कुर्सी, टेबुललगायतका फर्निचर मात्रै होइन, सन्धि–सम्झौतासँग सम्बन्धित महत्वपूर्ण कागजातसमेत खरानी बनाइएका छन् । कतिपय संरचनामा लागेको आगो अझै निभ्न सकेको छैन । 

सर्वोच्च अदालत, महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन, जिल्ला सरकारी वकिल कार्यालय, विशेष सरकारी वकिल कार्यालय, काठमाडौं जिल्ला अदालतमा राखिएका महत्वपूर्ण मुद्दाका सबै फाइल खरानी बनाइएका छन् । कार्यालयका गाडी, फर्निचर पूरै ध्वस्त बनाइएका छन् । 

प्रमुख तीन दल कांग्रेस, एमाले, नेकपा माओवादीको पार्टी कार्यालय, शीर्ष नेताका निजी भवनमा छानीछानी आगो लगाइएको छ । उनीहरूको सम्पत्ति लुटिएको छ । नेकपा समाजवादीका वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई जिउँदै आगो लगाइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणालाई अमानवीय तवरले कुटपिट भएको छ । 

उद्योग व्यवसायी विनोद चौधरीसम्बद्ध व्यापारिक प्रतिष्ठान, मीनबहादुर गुरुङको भाटभटेनीका चेन, शंकर ग्रुपको हिल्टनलगायतका तारे होटेलमा लुटपाट र आगजनीका कारण ध्वस्त बनेको छ । 

त्यसबाहेक प्रदेश सरकारमातहतका सरकारी कार्यालय, पालिका कार्यालय पनि आगजनी भएका छन् । सहरी जिल्लाका अधिकांश प्रहरी कार्यालय र मातहतका युनिट ध्वस्त बनेका छन् । प्रहरीका अनुसार ध्वस्त बनेका संरचनाको क्षति विवरण अझै संकलन हुन सकेको छैन । प्रहरी जवान उत्तम थापालाई कुटीकुटी हत्या गरिएको छ । सुरक्षाकर्मीलाई नदीमा खसालेर लघारीलघारी कुटिएको छ । उनीहरूका हतियार खोसिएको छ । नांगेझार बनाई हात उठाएर सडकमा मार्च गर्न लगाइएको छ ।