दसैँका वेला घर फर्कनेहरुको घुइँचो अहिले पनि छ । यही मौका छोपी यात्रुसँग दोब्बर भाडा असुली भइरहेको छ । तर, अधिकांश यात्रुले आफू ठगिएको सूचना राज्यका निकायलाई दिँदैनन् । जसका कारण उनीहरु अन्यायमा परिरहेका छन् ।
तर, दोब्बर भाडा असुलेको गुनासो गर्ने अर्घाखाँचीका यात्रुले भने न्याय पाएका छन् । दोब्बर भाडा असुल्न थालेपछि यहाँका यात्रुले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा गुनासो गर्न थालेपछि अनुगमन बढाएर कारबाही भएको हो ।
‘गोरुसिंगेबाट सन्धिखर्क फर्कने गाडीले ठाडासम्मका यात्रुसँग सन्धिखर्क सहरकै भाडा उठाउँदै आएका छन्,’ शितगंगा– ३, ठाडाका सुधन पौडेलले भने, ‘२२० रुपैयाँ भाडा लिनुपर्नेमा ५०० रुपैयाँ उठाइएको छ ’ ।
यात्रुहरुले गुनासो गरेपछि अनुगमनका क्रममा दोब्बर भाडा असुल गरेको पाइएपछि इलाका प्रहरी कार्यालय र अस्थायी ट्राफिक पोष्ट ठाडाको टोलीले चेकजाँच गरेर भाडा फिर्ता गराएको हो । तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य ३५ यात्रुको भाडा फिर्ता गराइएको तथा भाडादर सूची नटाँस्ने ६ वटा गाडीलाई जरिवानापछि सचेत गराएर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी बहादुर केसीले जानकारी दिए । ‘यात्रुहरुबाट व्यापक गुनासो आएपछि अनुगमन गर्दा दोब्बरसम्म भाडा लिएको पाएपछि कारबाही गरिएको हो’ केसीले भने ।
चाडबाडको मौकामा यात्रुहरुको बाध्यताको गलत फाइदा उठाउँदै तोकिएको भाडादरमा जान नसकिने भन्दै बस, हाइस तथा जिपचालकले दोब्बर भाडा असुल्ने गरेका बताइएको छ । यातायात व्यवसायीले सुरुमै दोब्बर भाडा दिने भए मात्र गाडीमा चढ्न दिने भन्दै मोलमोलाइ गर्ने गरेको गुनासोपछि जिल्ला प्रहरी कार्यालयले अनुगमनका लागि प्रहरी खटाएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले भाडादर कार्यान्वयन भए÷नभएको विषयमा जिल्लाभरी अनुगमन भइरहेको र तोकिएको भाडादर कार्यान्वयन नभएको पाइएमा कारबाही गरिने बताए । उनले भने, ‘जिल्लाभित्र चल्ने सार्वजनिक यातायातहरुको हाल कायम भाडादर भन्दा बढी भाडा लिएको पाइएमा कारबाही गर्छौं ।’
सोमबारसम्म दसैँको लागि जिल्ला तथा देशबाहिरबाट अर्घाखाँची भित्रिनेको संख्या १५ हजार नाघेको छ । घटस्थापनापछि सप्तमीसम्म सात हजार एक सय महिला, ७ हजार ५ सय पुरुष, बालबालिका गरेर जम्माजम्मी १५ हजारका हाराहारीमा सर्वसाधारण जिल्ला भित्रिएका छन् ।