मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
शान्ति तामाङ काठमाडौं
२०७९ असोज १७ सोमबार १०:२२:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

तीन वर्षअघि बनेको काठमाडौंमा साइकल लेनको गुरुयोजना अझै अलपत्र 

ओभरहेड लेनका लागि एक करोड विनियोजन

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७९ असोज १७ सोमबार १०:२२:००

ललितपुर महानगरपालिकाले साइकल लेन व्यवस्थित गर्दै ब्यारिकेडेट पोल (साइकलका लागि मात्रै छुट्याइएको) नै राखिसकेको छ । महानगरभित्रका अन्य साइकल लेनलाई पनि हरियो र सेतो रङ लगाएर चिटिक्क पारेको छ । तर, ०७६ मै काठमाडौं महानगरले साइकल लेनका लागि गुरुयोजना तयार पारे पनि काम भने शून्यजस्तै छ। 

महानगरअन्तर्गत सहरी योजना आयोगले बनाएको गुरुयोजनाअनुसार माइतीघरदेखि बानेश्वर हुँदै तिनकुने–कोटेश्वरसम्म साइकल लेन बनाउने भनिएको थियो । तर, हालसम्म कामले गति लिन सकेको छैन।

महानगरअन्तर्गत आयोगले बनाएको लेन निर्माण कार्य अगाडि बढ्न नसक्दा आयोगले बनाएको डिजाइन नै फेरबदल गर्नतर्फ महानगर लागेको छ। 

महानगरअन्तर्गत सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले आयोगले बनाएको डिजाइन फेरबदल हुने जानकारी दिए । ‘हामीले साइकल लेन बनाउने क्षेत्रमै विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गर्दै छ । त्यसका लागि समन्वयात्मक रूपमा अगाडि बढ्न परिहाल्यो,’ थापाले भने, ‘गुरुयोजना आयोगले बनाएकै हो । तर, डिजाइनमा केही फेरबदल गर्नुपर्ने भएको छ ।’ 

डिजाइनमा फेरबदल नै गर्नुपर्ने भए पनि चालू आर्थिक वर्षबाटै साइकल लेन प्रयोगमा आउने महानगरको दाबी छ । महानगरका अनुसार साइकल लेन निर्माणका लागि दसैँ–तिहारपछि टेन्डर आह्वान हुनेछ । ‘धेरै काम पहिले नै भइसकेको छ । त्यसैले हामीले गर्नुपर्ने भनेको डिजाइनमा केही फेरबदल मात्र हो । त्यसैले दसैँ–तिहारपछि टेन्डर आह्वान गर्छौँ । चालू आर्थिक वर्षबाटै महानगरभित्र साइलक लेन प्रयोगमा आउँछ,’ थापाले भने।

काठमाडौं महानगरपालिकामा ०७६ मै साइकल लेन बनाउन काम भएको थियो । ३ दशमलव ५ किलोमिटर दूरीमा लेन निर्माणका लागि महानगरले तीन करोड बजेट छुट्याएको थियो । तर, साइकल लेनको गुरुयोजनाबाहेक अन्य काम हुन सकेन । चालू आर्थिक वर्षमा पनि महानगरले सार्वजनिक निर्माणअन्तर्गत माइतीघरदेखि तिनकुने खण्डमा साइकल लेन निर्माणका लागि पाँच करोड विनियोजन गरेको छ। 

साइकल लेन बनाउन नसकेको काठमाडौं महानगरले चालू आर्थिक वर्षमा ओभरहेड साइकल लेनका लागि बजेट विनियोजन गरेको छ । ०७६ देखि अलपत्र गुरुयोजनाकै काम अगाडि बढाउन नसकेको महानगरले चालू आवका लागि ओभरहेड साइकल निर्माण गर्न बजेट छुट्याएको हो।

महानगरले आव ०७९/८० मा ओभरहेड साइकल लेन सम्भाव्यता अध्ययनका लागि एक करोड बजेट विनियोजन गरेको हो । महानगरका अनुसार छुट्याइएको बजेटले परामर्शदाता नियुक्त गरेर सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) गरिनेछ । ‘हामीले छुट्याएको बजेटले ओभरहेड साइकल लेन कुन–कुन ठाउँमा निर्माण गर्न मिल्छ ? ओभरहेड साइकल लेन बनाउँदा सवारी सडकमा असर गर्छ–गर्दैन लगायत अध्ययन गर्छौँ,’ विभाग प्रमुख थापाले भने, ‘दसैँपछि कन्सल्ट्यान्ट हायर गरेरै भए पनि डिपिआरलगायतका काम गर्छौँ।’ 

ललितपुरले चक्रपथमा विस्तार गर्दै साइकल लेन

साइकल लेन विस्तारका लागि काठमाडौं महानगर अलमलमा परेका वेला ललितपुर महानगरपालिकाले चक्रपथमा पनि साइकल लेन विस्तार गर्ने भएको छ । हाल लगनखेलको बटुक भैरव मन्दिरदेखि सातदोबाटोसम्म पाँच सय मिटर सडकमा राखिएको ब्यारिकेडेट पोल  (साइकलका लागि मात्रै छुट्याइएको) जस्तै चक्रपथमा राख्न लागिएको महानगरले जनाएको छ। 

बल्खुदेखि बालकुमारीसम्म १५ किलोमिटर सडकखण्डमा पोल राख्न दसैँ–तिहारलगत्तै सुरु हुनेछ । ‘चक्रपथको दायाँ–बायाँ गरेर १५ किलोमिटर सडकखण्डमा पोल राख्ने काम तिहारपछि सुरु हुनेछ,’ महानगर प्रमुख चिरिबाबु महर्जनका स्वकीय सचिव राजु महर्जनले भने । उनका अनुसार महानगरको भित्री भागका सडक साना भएकाले ती क्षेत्रका साइकल लेनमा रङले मात्र रंगाउने काम गरे पनि चक्रपथको सडकखण्ड ठूलो भएकाले त्यहाँ भने ब्यारिकेटेड पोल राखिनेछ।

हालसम्म महानगरभित्र ३२ किलोमिटर साइकल लेन बनिसकेको छ । साइकल लेनलाई हरियो रङ लगाएर छुट्याइएको छ । यी लेनमा साइकल नगुड्ने समयमा अन्य सवारीसाधनसमेत आवातजावत गर्न सक्छन् । पहिलो चरणमा महानगरले १४ मंसिर ०७६ मा साढे १० किलोमिटर साइकल लेनको शुभारम्भ गरेको थियो । त्यतिवेला महानगरपालिकाले कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार हुँदै पाटन दरबार स्क्वायरसम्म पुग्ने साइकल लेन सञ्चालनमा ल्याएको थियो । महानगरले नेपाल साइकल एसोसिएसनसँग सहकार्य गरेर साइकल लेन सञ्चालनमा ल्याएको हो। 

दोस्रो चरणमा २२ किलोमिटर साइकल लेन निर्माण भएको थियो । महानगरभित्रका एकान्तकुना हुँदै पुल्चोक आउने, पुल्चोकदेखि लगनखेल, टंगाल हुँदै मंगलबजार जाने, पुल्चोकबाट गाबहाल हुँदै मंगलबजारसम्म पुग्ने, कुपन्डोलबाट पुल्चोक हुँदै सीधा दरबार स्क्वायरसम्म साइकल लेन बनेको हो । ०७७ पुसको पहिलो साताबाट ती साइकल लेन प्रयोगमा आएका थिए । महानगरले जावलाखेल, पाटनढोका, मंगलबजार, लगनखेल र महानगरको प्रांगणलगायत १० ठाउँमा साइकल स्ट्यान्ड राखिसकेको छ। 

महानगरले साइकल लेनका लागि पहिलो चरणमा आव ०७५÷७६ को बजेटमा ५० लाख र आव ०७६÷७७ मा पनि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । आव ०७९÷८० का लागि पनि ५० लाख विनियोजन गरेको थियो।

संसारका प्रदूषित सहरमा काठमाडौं पनि पर्छ । विश्व वायु गुणस्तर सूचक (एक्युआई) २०२० अनुसार काठमाडौं विश्वमै १९औँ प्रदूषित सहर हो। 

प्रदूषणको स्रोतमध्ये पहिलो नम्बरमै पर्छ– सवारीसाधनको चाप र त्यसबाट निस्किने हानिकारक धुवाँ । प्रदूषण कम गराउनकै लागि विकसित र ठूला सहरले इन्धनको उपयोग नहुने विद्युतीय सवारीसाधन र साइकललाई प्राथमिकतामा राख्न थालेका छन् । 

साइकलको प्रयोगका कारण वायु प्रदूषण कम गर्नसमेत उत्तिकै सहयोग हुने साइकल अभियन्ता बताउँछन् । ‘गाडीमा हाल्ने तेलकै लागि देशको अर्बौँ रुपैयाँ बिदेसिने गरेको छ । तेल खरिदकै लागि महँगो रकम बिदेसिने क्रम रोक्न पनि साइकल चढ्न आवश्यक छ। हरेक दिन ६–७ किलोमिटर साइकल यात्रा गर्दा स्वास्थ्यलाई पनि राम्रो हुन्छ,’ अभियन्ता शैल श्रेष्ठले भने ।