मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तेजराज भट्ट काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०७:३८:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

घर फर्किन सकेनन् कैलालीका बाढीपीडित

विस्थापित तीन हजार दुई सय परिवारमध्ये करिब सय परिवार अझै सडक र सामुदायिक भवनमा

Read Time : > 2 मिनेट
तेजराज भट्ट, काठमाडाैं
२०७९ असोज १४ शुक्रबार ०७:३८:००

स्थानीय काँडा र पथरैया नदीमा आएको बाढीले घर डुबानमा परेपछि गत साता विस्थापित भएका भजनी नगरपालिका– ८ काँडाढिकका ध्वजबहादुर विकको परिवार अझै घर फर्कन सकेका छैनन् । एक साता हुलाकी सडकमा त्रिपाल टाँगेर बसेका उनी चारजनाको परिवारसहित गत आइतबार नजिकै रहेको आफ्नो भिनाजुको घरमा आश्रय लिन सरेका छन् । 

उनको घरभित्र बाढीसँगै पसेको हिलो अझै सुकेको छैन । ‘सडकमा खान, बस्न निकै समस्या हुन थालेपछि भिनाजुको घरमा बस्दै छौँ,’ ध्वजबहादुरले भने । हिलोले घरभित्र बस्न सक्ने अवस्था नरहेको उनले बताए । अन्नपात र लुगाकपडा बाढीले भिजाएपछि उनको परिवार थप समस्यामा परेको छ । ‘एकाएक बाढी आएकाले अन्नपात जोगाएर सुरक्षित स्थानमा लैजान पाएनौँ,’ विकले भने, ‘बाढीले नभेट्ला भनेर कोठाभित्र दुईवटा खटिया खप्ट्याएर त्यसमाथि अन्न राखेका थियौँ, बाढी धेरै आयो, अन्नपात सबै भिजायो ।’ 

भजनी– ८ का खेमराज काफ्लेले पनि यसबीच ठूलो समस्या व्यहोरे । हिलोसँगै बाढीले बगाएर ल्याएको फोहोरले भित्र र बाहिर दुर्गन्धित बनेको काफ्लेले बताए । ‘बाढीले गाउँमा कतिपयका घरका भित्ता भत्किएका छन् । ती परिवार तत्कालै घरमा बस्न सक्ने अवस्था छैन,’ काफ्लेले भने, ‘सडकमा समस्या हुन थालेकाले हिलोमै भए पनि धेरै परिवार घर फर्केका छन् ।’

 भजनी नगरपालिकामा मात्रै सयभन्दा बढी परिवार अहिले पनि विस्थापित छन् । घर हिलाम्य हुँदा सयभन्दा बढी परिवार घर फर्कन नसकेका नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले बताए । चौधरीका अनुसार अविरल वर्षासँगै अघिल्लो शुक्रबार आएको बाढी र डुबानले भजनीमा तीन हजार दुई सय परिवार विस्थापित भएका थिए । ‘हिलो अलि कम भएपछि कतिपय बिस्तारै घर फर्केका छन् । कतिपय परिवारको घर अझै बस्न मिल्ने अवस्थाको छैन,’ उनले भने, ‘अझै सयभन्दा परिवार सामुदायिक भवन र हुलाकी सडकमा बसिरहेका छन् ।’ पीडितलाई विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न, त्रिपाललगायत राहतको व्यवस्थापन भइरहेको नगरपालिकाले जनाएको छ ।

खानेपानीको समस्या 
बाढी प्रभावित क्षेत्रमा खानेपानीको समस्या देखिएको छ । भजनीका अधिकांश बाढी प्रभावित क्षेत्रमा शुद्ध पिउने पानीको व्यवस्था छैन । स्थानीय नल्का पानी पिउने गर्छन् । बाढीले अहिले नल्कामा फोहोर र धमिलो पानी आउने गरेको छ । नल्कामा आउने धमिलो फोहोर पानी पिउनुपर्ने बाध्यता रहेको भजनीको सोनाफाटाका लाल्तु डगौराले बताए । वडासदस्यसमेत रहेका उनले डुबानले जम्मा भएको फोहोरमैला र फोहोर पानीले संक्रमण फैलने जोखिम रहेको बताए ।
डगौरा आफू पनि विस्थापित भएर ६ दिनपछि घर फर्केका छन् । हिलोले गाउँका केही घर अहिले पनि बस्नयोग्य नरहेको उनले बताए । ‘मेरै गाउँमा बाढीले ६ घर भत्काएको छ । पीडित परिवार अहिले आफन्तकहाँ आश्रय लिएर बसेका छन्,’ उनले भने, ‘बाढीले गाउँमा ठूलो क्षति पुगेको छ ।’ गाउँका सबै दुई सय ६ परिवारका घर डुबानमा पर्दा विस्थापित भएका डगौराले बताए ।

डुबानमा परेका घरमा पानी सुक्दै गएपछि अधिकांश बाढीपीडित घर फर्कन थालेका हुन् । बाढीपीडित भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र भिजेको अन्नपात, लुगाकपडा सुकाउन थालेका छन् । अन्नपात नष्ट भएको र भिजेको परिवारलाई खाद्यान्नको समस्या भएको छ । ‘भएको अन्न बाढीले भिजेर लथालिंग छ । अलिअलि चामल जोगाएका थियौँ । त्यसैले छाक टारिरहेका छौँ,’ सोनाफाटाकै गणेश विकले भने, ‘तीन किलोजति चामल राहत पाइएको थियो ।’ अहिले पानीको ठूलो समस्या रहेको उनले बताए ।

बाढी सुकेकाले विस्थापित भएका धेरैजसो परिवार घर फर्केका उनले बताए । बुढापाका भएका घरमा लिपपोत र सरसफाइ गर्न समस्या भएको स्थानीयले बताएका छन् । दसैँ सुरु हुने वेला भएको डुबानले स्थानीय पीडामा छन् । बर्सेनि डुबान हुने भएकाले नदीमा ड्याम तथा तटबन्ध र गाउँमा उच्च सुरक्षित भवन बनाइदिनुपर्ने बाढीपीडितको माग छ ।

बाढीबाट धानबालीमा पनि क्षति पुगेको छ । बाढीले गरेको क्षतिको विवरण संकलन भइरहेको नगरपालिकाले जनाएको छ । भजनीका मेयर केवल चौधरीले बाढीपीडितहरू पीडामा रहेको बताए । धेरैको अन्नपात नष्ट हुनुका साथै घरमा क्षति पुगेको उनले बताए । ‘बाढीपीडितलाई खाद्यान्न, लुगाकपडाको समस्या छ । संघसंस्थाको सहयोगमा राहत दिने कोसिस गरिरहेका छौँ,’ मेयर चौधरीले भने, ‘बाढीले धेरै नागरिकको बिचल्ली भएको छ । घर बगेका छन्, घरमा भएका सबै सामान नष्ट भएका छन् ।’ ठूलो संख्यामा पीडित हुँदा पालिका मात्रले सहयोग गर्न सक्ने अवस्था नरहेको भन्दै उनले सहयोगका लागि अपिल गरिएको बताए । 

चिसो र प्रदूषित पानीले बिरामी
बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी, झाडापखालाजस्ता रोग देखिन थालेको छ । दूषित खानेपानी तथा विस्थापित चिसोमा भुइँमा सुत्नुपर्ने बाध्यताले ज्वरो, रुघाखोकीजस्ता समस्या देखिएको मेयर चौधरीले बताए । गाउँमा औषधिसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको उनले बताए । अविरल वर्षापछिको बाढी र डुबानले कैलालीमा सयौँ परिवार विस्थापित भएका थिए । बाढी र नदी कटानले कतिपयका घर बगाएका छन् । ती परिवार झन् बिचल्लीमा परेका छन् । सबैभन्दा बढी क्षति भजनी क्षेत्रमा भएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत तहमा बाढी र डुबानले ठूलो क्षति गरेको छ । विस्थापित विद्यालयमा बसेकाले बाढी प्रभावित क्षेत्रमा एक सातायता पठनपाठन ठप्प छ ।