मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १४ शुक्रबार ०७:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गठबन्धनमा आंशिक सहमति, दोहोरो दाबी शीर्ष नेतृत्वले टुंग्याउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १४ शुक्रबार ०७:१२:००

गठबन्धनमा रहेका पाँच दलबीच आसन्न प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा आंशिक सहमति जुटेको छ । तर, केही निर्वाचन क्षेत्रमा भएको एकभन्दा धेरै दलको दाबी शीर्ष नेताको समझदारीमा टुंगो लगाउने तयारी छ । बिहीबारको बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले दोहोरो दाबी रहेका करिब ३० क्षेत्रमा सिट अदलबदल गरेर बाँडफाँड टुंगो लगाउने प्रस्ताव गरे पनि सहमति भने जुट्न सकेन । सिटौलाले कांग्रेस र माओवादीलाई फाइदा हुने गरी प्रस्ताव ल्याएको भन्दै एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले असन्तुष्टि राखेका थिए । 

बिहीबारको बैठकमा सिटौलाले एकभन्दा बढी दलको दाबी रहेका क्षेत्रको अन्तिम टुंगो लगाउन कार्यदल संयोजक सिटौलाले क्षेत्र तोकेर प्रस्ताव गरेका थिए । तर, प्रारम्भिक छलफलबाट सहमतिमा पुग्न नसकेपछि शीर्ष तहमा छलफल गरेर टुंगो लगाउन लागिएको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । 

‘सिटौलाजीका तर्फबाट विस्तृत विवरण पेस भयो । प्रस्तावमा तत्कालै छलफल गरेर सहमति निस्कन सम्भव भएन । आबद्ध दलहरूबीच आन्तरिक छलफलपछि फेरि बसेर छलफल गर्छौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘दलहरूमा आन्तरिक छलफलको खाँचो देखियो ।’  अहिलेसम्मको वार्ताअनुसार कांग्रेस ८० आसपास, माओवादी ५० आसपास, एकीकृत समाजवादी र जसपा १५ आसपास र जनमोर्चाले प्रतिनिधिसभाका दुई सिट पाउने गरी सहमतिको सम्भावना छ । तर, केही क्षेत्रको हेरफेर आवश्यक रहेकाले अन्तिमसम्म अंक तलमाथि हुन सक्ने नेताहरूले बताएका छन् । 

दोहोरो दाबी परेकामा धेरैजसो स्थानमा कांग्रेस र अरू दलको दाबी रहेको छ । धनुषा ३, महोत्तरी ३, नवलपरासी पश्चिममा कांग्रेस र माओवादी, रुपन्देही १ मा माओवादी र जसपा र दैलेख १ मा कांग्रेस र एकीकृत समाजवादीले दोहोरो दाबी गरिरहेका छन् । अछाम १, बारा ४, धादिङ १, सल्यानमा माओवादी केन्द्र र एकीकृत समाजवादीको दाबी रहेको छ । त्यस्तै, कपिलवस्तु ३, सिराहा २, पर्सा ३ मा पनि एकभन्दा बढी दलको दाबी रहेको छ । 

बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले दोहोरो दाबी रहेका करिब ३० क्षेत्रमा सिट अदलबदल गरेर बाँडफाँड टुंगो लगाउने प्रस्ताव गरे पनि सहमति भने जुट्न सकेन । सिटौलाले कांग्रेस र माओवादीलाई फाइदा हुने गरी प्रस्ताव ल्याएको भन्दै एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले असन्तुष्टि राखेका थिए । 

दलहरूले सुरुमा आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय छलफल गरेर गठबन्धनको बैठकमार्फत विवादित क्षेत्रमा सहमति खोज्ने नेताहरूले बताएका छन् । करिब ३० स्थानमा एकभन्दा बढी दलको दाबी छ । मुख्यगरी ठूला नेताको व्यवस्थापनका लागि आ–आफ्नो दलमा छलफल आवश्यक भएको हो । केही नेतालाई समानुपातिकमा समेटेर भए पनि प्रत्यक्षतर्फको क्षेत्र बाँडफाँडमा सहमति जुटाउने दलहरूको तयारी छ ।

राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले कार्यदल संयोजक सिटौलाको प्रस्तावमा सहमति जुट्न नसकेको र छलफल जारी रहेको बताए । नेता पुरीका अनुसार ‘सिटौलाले क्षेत्र अदलबदलको प्रस्ताव गरेका थिए । ‘उहाँले गर्नुभएको संख्याको प्रस्तावमा पनि सहमति हुन सकेन, अदलबदलको प्रस्तावमा पनि सहमति जुट्ने अवस्था भएन,’ उनले भने । जसपा नेता मनीष सुमनले संयोजक सिटौलाबाट प्रस्ताव आएको र शुक्रबार थप छलफल हुने बताए । ‘कार्यदल संयोजकले क्षेत्र अदलबदलको प्रस्ताव राख्नुभएको छ । उक्त प्रस्तावमाथि शुक्रबार छलफल हुन्छ,’ उनले भने । 

एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले शीर्ष तहको छलफलबाट टुंगोमा पुग्ने बताए । ‘कार्यदलको प्रस्तावमा सहमति नजुटेपछि संयोजकका रूपमा सिटौलाले नयाँ प्रस्ताव राख्नुभयो । प्रस्तावमा सहमति भए त्यहीअनुसार, नभए शीर्ष तहबाट टुंग्याउनुपर्ने अवस्था छ,’ उनले भने । समानुपातिकको सूची सच्याउन दुई दिन मात्र समय बाँकी छ । यसलाई नजर राखेर दलहरूले सघन संवाद गर्नेछन् ।