एमालेमा प्रत्यक्ष उम्मेदवारमाथि प्रारम्भिक छलफल : अन्तिम निर्णयअघि ओलीलाई परामर्शको जिम्मेवारी

क्षेत्र बाँडफाँड र टिकटको टुंगो लगाउन सत्तागठबन्धनभित्र भइरहेको ढिलाइले निम्त्याउने असन्तुष्टि विश्लेषण गरेर मात्र निर्णय लिने एमालेको नीति

शुक्रबार, १४ असोज, २०७९
डिजिटल संस्करण

एमालेले अध्यक्ष केपी ओलीले परामर्श गरेपछि मात्रै प्रत्यक्षतर्फका उम्मेदवारहरूको नामावली टुंग्याउने निर्णय गरेको छ । भक्तपुरस्थित ओलीको निजी निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको नामावली सचिवालयले टुंग्याउनुअघि आवश्यक परामर्श लिने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको हो । 

ओलीले परामर्श गरेर गृहकार्य पूरा गरेपछि केन्द्रीय सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाउने उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकमा प्रतिनिधिसभा र प्रदेश सभाका सम्भावित उम्मेदवारका सन्दर्भमा प्रारम्भिक छलफल मात्रै भएको छ । यसअनुसार गठबन्धनको क्षेत्र बाँडफाँड टुंगिएर छनोट सुरु भएपछि मात्र एमालेले आफ्ना उम्मेदवार टुंगो लगाउने रणनीति अख्तियार गरेको छ ।

‘४ मंसिरमा हुने प्रत्यक्षतर्फको निर्वाचनमा को–को निर्वाचित हुन सक्छन् भन्नेबारे प्रारम्भिक छलफल भएको छ । त्यस्तै, सातवटै प्रदेश सभाका तीन सय ३० क्षेत्रका सम्भावित उम्मेदवारबारे छलफल गरेका छौँ, तर ठोस निर्णय गरेका छैनौँ,’ बैठकपछि उपमहासचिव गुरुङले भने, ‘केन्द्रीय हेडक्वार्टर र अध्यक्षज्यूले परामर्श लिनुहुनेछ र उपयुक्त समयमा सचिवालयको बैठक गरेर नामावली बाहिर ल्याउनेछौँ ।’ गुरुङले दसैँको टीका सकिएर प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन गर्ने सँघारमा मात्रै नामावली टुंगो लाग्ने संकेत गरे । ‘प्रत्यक्षतर्फको उम्मेदवार टुंग्याउने काम २१ र २२ असोजभित्र हुन सक्छ,’ उनले भने । त्यस्तै, गुरुङले समानुपातिकतर्फको उम्मेदवारहरूको नामावली लगभग टुंगो लागिसकेको पनि जानकारी दिए । 

एमालेले जिल्ला र प्रदेशको सिफारिसलाई मुख्य आधार मानेर विपक्षीलाई चुनौती दिन सक्ने लोकप्रियलाई छनोट गर्ने गरी प्रत्यक्षतर्फका उम्मेदवार छनोटको मापदण्ड बनाएको छ । ‘हाम्रो पहिलो मापदण्ड जो लोकप्रिय छ, त्यसैलाई प्राथमिकतामा राखेर छनोट गर्ने भन्नेछ,’ गुरुङले भने, ‘नयाँ प्रवेशी छ र ऊ नै लोकप्रिय छ भने पनि उसैले टिकट पाउन सक्ने गरी विशेष मापदण्डअनुसार ढोका खोलेका छौँ ।’ उनले जिल्ला र प्रदेशबाट आएका नामको प्राथमिकता क्रमलाई आधार मानेर छनोटका लागि छलफल अघि बढेको पनि जानकारी दिए । दशबुँदे समूहका नेतालाई टिकट नदिने, पूर्वमाओवादी समूह समानुपातिक सूचीमा असन्तुष्ट छ भन्नेजस्ता बाहिर आएका विषय हल्ला र काल्पनिक भएको उनको दाबी छ । 

सत्तारूढ गठबन्धनले क्षेत्र बाँडफाँड र टिकटको टुंगो लगाउन ढिलाइ गरेपछि एमालेले पनि तत्काल छिनोफानो नगर्ने नीति लिएको छ । गठबन्धनभित्रको असन्तुष्टिलाई हेरेर मात्र टिकटको टुंगो लगाउने र अन्य दलसँगको सम्भावित तालमेलबारे पनि अन्तिम निर्णयमा पुग्ने एमालेको रणनीति छ । 
 

See More On

सुझावित समाचार