१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ असोज १२ बुधबार १२:३५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१३ विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता, १२ जना तारेखमा रिहा

पितृ खुसी पार्न भन्दै घरमै गएर कुटीकुटी महिलाको हत्या प्रकरण

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ असोज १२ बुधबार १२:३५:००

पितृ खुसी पार्न भन्दै घरमै गएर कुटीकुटी स्थानीय ५५ वर्षीया बिबी माझीको ज्यान लिएको घटनामा संलग्न रामेछापको खाँडादेवी गाउँपालिका– ३ भिरपानी सित्खाका १३ आरोपीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । मृतकका झड्केलो छोरा नाता पर्ने पदमलाल माझीले किटानी जाहेरी दिएसँगै जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । पक्राउ परेका बाँकी १२ जनालाई भने तारेखमा छाडेको छ ।

सित्खाका ३७ वर्षीय शिवबहादुर माझी, ४० वर्षीया राधिका माझी, १७ वर्षीया सपना माझी, १९ वर्षीय भरत माझी, २० वर्षीय सुरज माझी, १६ वर्षीया सविना माझी, १९ वर्षीया मनीषा माझी, १६ वर्षीय शिरीष भन्ने रामकुमार माझी, २६ वर्षीय धनबहादुर माझी र १९ वर्षीय राजेश माझीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको रामेछाप प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले बताए । ‘मृतक बिबीका झड्केलो छोरा नाता पर्ने पदमलाल माझीले १३ आरोपीविरुद्ध किटानी जाहेरी दिएपछि म्याद थपेर थप अनुसन्धान थालिएको छ । सोधपुछका क्रममा अन्य १२ जनाको भने घटनामा संलग्नता नदेखिएकाले प्रहरीले बोलाएका वेला उपस्थित हुने सर्तमा छाडिएको छ,’ उनले भने । प्रहरीले आइतबार र सोमबार गरी २३ जनालाई पक्राउ गरेको थियो । 

माझी समुदायले सोह्र श्राद्धमा पितृ बोलाउने परम्पराअन्तर्गत बिबीका कारण पितृ खुसी नभएको भन्दै आइतबार स्थानीय माझी युवायुवतीको एक समूहले उनकै घरमै गएर कुटपिट गरेका थिए । बिबीको हत्या गरेको समूहले उनकी आमा ७० वर्षीया सुनमाया माझीको पनि हत्या प्रयास गरेको थियो । कुटपिटबाट मरणासन्न अवस्थामा पुगेकी उनको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । 

बीभत्स तरिकाले हत्या गरिएकी बिबीको शव मंगलबार तामाकोसी अस्पतालबाट पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित शिक्षण अस्पताल पठाइएको छ । घटना गम्भीर प्रकृतिको भएकाले सूक्ष्म परीक्षणका लागि भक्तपुर पठाइएको डिएसपी थिङले बताए । 

कस्तो छ घाइते सुनमायाको अवस्था ?
छोरीको हत्यापछि सोही समूहको आक्रमणमा परेकी ७० वर्षीया सुनमायालाई मरणासन्न अवस्थामा मन्थली अस्पताल पुर्‍याइएको थियो । सोही अस्पतालमा उपचाररत उनको अवस्थामा केही सुधार भएको डा. केशव धामीले जानकारी दिए । छोरी बिबीले पालनपोषण गर्दै आएकी उनको परिवारमा अन्य कोही सदस्य नभएकाले अस्पतालमा उनी कर्मचारीको मात्रै निगरानीमा छिन् । उनको शरीरमा चोटपटक लागेको र मानसिक रूपमा विक्षिप्त भएकाले केही समय मनोचिकित्सकबाट परामर्श दिनुपर्ने अवस्था रहेको डा. धामीले बताए । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार छोरीको हत्यापछि पूर्ण रूपमा एक्लिएकी सुनमायालाई गाउँपालिकाकै व्यवस्थापनमा राख्न सेफ हाउसको व्यवस्था गर्ने प्रक्रिया सुरु भएको छ ।