मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १५ बिहीबार
  • Thursday, 01 December, 2022
मञ्जु टेलर काठमाडाैं
२०७९ असोज १० सोमबार ०७:१४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बेवास्ताले बढ्दै छ डेंगु : दैनिक १५ सयभन्दा बढीमा संक्रमण

डेंगुसँगै चिकनगुनिया र जिकाको जोखिम बढ्यो, परीक्षण छैन

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ असोज १० सोमबार ०७:१४:००

मानिसबाट एक–अर्कामा नसर्ने र स्पष्ट उपचार नहुँदा डेंगुप्रतिको बेवास्ताले संक्रमण भयावह बन्दै गएको छ । संक्रमण देखिन थालेको लभगग चार महिनामै डेंगु बिरामीको संख्या २४ हजार नाघेको छ । जुन हालसम्मकै सबैभन्दा बढी हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशभर २४ हजार चार सय ९२ जनामा संक्रमण पुष्टि भएको छ । यस वर्ष डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको महाशाखाको तथ्यांकले देखाउँछ । 

बागमती प्रदेशमा मात्रै डेंगु संक्रमितको संख्या १९ हजार पुगेको छ, जुन कुल संक्रमणको झन्डै ७८ प्रतिशत हो । जसमध्ये काठमाडौंमा आठ हजार एक सय ३६, ललितपुरमा पाँच हजार नौ सय ३५ र मकवानपुरमा दुई हजार दुई सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । शरीर दुखाइ, मांसपेशी र टाउको दुखाइजस्ता लक्षणसहितका बिरामी अस्पतालका वार्डसँगै समुदाय स्तरमा अत्यधिक बढ्न थाले पनि अझैसम्म संक्रमणलाई गम्भीर रूपमा नलिँदा समस्या भयावह बन्दै गएको भाइरोलोजिस्टहरू बताउँछन् । ‘उपचारका लागि सिटामोल सेवनबाहेक विकल्प नभएको र मान्छेबाट सर्दैन भनेर बेवास्ता गर्नेको संख्या धेरै भएकाले झन् समस्या बल्झिरहेको छ । सरकारी पक्षबाट पनि संक्रमण नियन्त्रणका लागि ठोस कदम चालिएको छैन,’ वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

नेपालमा दैनिक औसत एक हजार पाँच सयभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भइरहे पनि हालसम्म फैलिइरहेको डेंगुबारे थप परीक्षण भएको छैन । यस वर्ष गम्भीर लक्षणसहितका बिरामी अत्यधिक बढे पनि हाल फैलिइरहेको सेरोटाइपबारे परीक्षण नभएको हो । ‘दुई वा तीनपटकसम्म संक्रमण भएका बिरामी अस्पताल पुग्ने गरेका छन् । लक्षणसमेत भिन्न देखिएको पाइएको छ । तर, परीक्षण नहुँदा समुदाय स्तरमा कुन डेंगु फैलिइरहेको छ भन्नेसमेत यकिन हुन सकेको छैन,’ पुनले भने । 

 वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्‘उपचारका लागि सिटामोलको सेवनबाहेक विकल्प नभएको र मान्छेबाट सर्दैन भनेर बेवास्ता गर्नेको संख्या धेरै भएकाले झन् समस्या बल्झिरहेको छ । सरकारी पक्षबाट पनि संक्रमण नियन्त्रणका लागि ठोस कदम चालिएको छैन । उस्तै लक्षणसहितका बिरामीमा डेंगु संक्रमण नेगेटिभ देखिने गरेको छ । तर, थप परीक्षणमा कसैले ध्यान दिएको पाइँदैन । चिकनगुनिया डेंगुभन्दा कडा संक्रमण हो, यसको दुखाइ वर्र्षौँसम्म पनि रहन सक्छ ।’

हाल आरडिटीको माध्यमबाट डेंगु संक्रमण परीक्षण भइरहे पनि डेंगुको टाइप परीक्षणमा बेवास्ता गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार हाल फैलिइरहेको डेंगुको सेरोटाइप परीक्षणका लागि कम्तीमा डेढ महिना लाग्छ । ‘डेंगु अत्यधिक फैलिन थालेपछि सातवटै प्रदेशमा नमुना संकलन गरेर परीक्षण गर्ने तयारी थालिएको छ । डेंगुको सेरोटाइप परीक्षणका लागि अझै कम्तीमा डेढ महिना लाग्न सक्छ,’ प्रयोगशालाका निमित्त निर्देशक लिली श्रेष्ठले भनिन् । तर, नेपालको मौसमअनुसार अबको डेढ महिनासम्ममा लामखुट्टेको संख्या स्वतः घट्दै जाने भएकाले संक्रमण घट्ने चिकित्सकहरू बताउँछन् । 

 कीटजन्य रोग धेरै देखिए पनि विशेषज्ञ शून्य
हरेक वर्षजसो डेंगु, चिकनगुनिया, जिकालगायत संक्रमण देखिने भए पनि नेपालमा कीटरोग विशेषज्ञको दरबन्दी शून्य छ । नेपालमा हाल लामखुट्टेलगायतबाट सर्ने रोगको अनुसन्धान तथा नियन्त्रणका लागि काम गर्ने इन्टोमोलोजिस्टको दरबन्दी नै छैन । सरकारी तथ्यांकअनुसार संघीयता अगाडि विभाग, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयमा ३७ जना इन्टोमोलोजिस्ट कार्यरत थिए । संघीयता कार्यान्वयनमा आएपछि इन्टोमोलोजिस्टलाई पालिका स्तरमा जनस्वास्थ्य कार्यकर्ताका रूपमा खटाइएको थियो । हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत इपिडिमियोलोजिस्टको दरबन्दी छैन । डेंगु संक्रमण दिनानुदिन भयावह रूपमा बढ्दै गए पनि नियन्त्रणममा बेवास्ता गर्दा संक्रमणले मृत्युदर बढाउने जोखिम बढेको चिकित्सक बताउँछन् । 

डेंगु फैलाइरहेको लामखुट्टेबाट चिकनगुनिया र जिका संक्रमणको जोखिम बढेको चिकित्सकहरू बताउँछन् । हाल डेंगु संक्रमण पुष्टि भएकाको पाँच प्रतिशतभन्दा बढी लक्षणसहितका बिरामी घरघरमै भएको अनुमान गरिएको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । उनका अनुसार हाल डेंगु फैलाइरहेको एडिज र एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट चिकनगुनिया र जिकाजस्ता संक्रमण फैलिन्छन् । र, यसका अधिकांश लक्षणसमेत डेंगुसँग मिल्ने गर्छ ।

डेंगु संक्रमण नेगेटिभ आएकामा अत्यधिक मांसपेशी र टाउको दुखाइ, कमजोरीपन, बान्ताजस्ता लक्षण देखिएको छ । त्यस्ता लक्षणसहितका बिरामी अस्पताल पुग्ने गरेको चिकित्सकहरू बताउँछन् । ‘उस्तै लक्षणसहितका बिरामीमा डेंगु संक्रमण नेगेटिभ देखिने गरेको छ । तर, थप परीक्षणमा कसैले ध्यान दिएको पाइँदैन । चिकनगुनिया डेंगुभन्दा कडा संक्रमण हो, यसको दुखाइ वर्षौँसम्म पनि रहन सक्छ,’ डा. पुनले भने ।

हाल नेपालमा चिकनगुनिया र जिका संक्रमण परीक्षण लगभग शून्य छ । हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र भइरहेको परीक्षणमा पनि परीक्षणदर शून्यमा रहेको निमित्त निर्देशक लिली श्रेष्ठ बताउँछिन् । ‘राष्ट्रिय प्रयोगशालामा महिनामा बढीमा आठदेखि १० वटा नमुना परीक्षण हुने गरेका छन् । अहिलेको डेंगु संक्रमणदर हेर्दा परीक्षणदर बढाउनुपर्ने आवश्यक छ । यसका लागि शुक्रराज ट्रपिकल अस्पताल र पाटन अस्पताललाई डेंगु नेगेटिभ आएकामा चिकिनगुनिया र जिका परीक्षणका लागि पत्राचार गरेका छौँ,’ उनले भनिन् । चिकित्सकका अनुसार चिकनगुनिया र जिका संक्रमण तुलनात्मक रूपमा डेंगु संक्रमणभन्दा बढी गम्भीर हुने भए पनि परीक्षणसमेत नहुँदा संक्रमणको जोखिम बढेको छ ।