१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ५ बुधबार o७:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुई महिनामा साढे चार अर्बको विद्युत् निर्यात

१९ जेठदेखि भारतीय बजारमा विद्युत् बिक्री सुरु गरेको प्राधिकरणले त्यसयता सात अर्ब २० करोडको निर्यात गरेको छ, चालू वर्षमा १६ अर्बको निर्यात गर्ने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार o७:४४:oo

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा नेपालले साढे चार अर्ब रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । साउन र भदौमा चार अर्ब ४३ करोड ५२ लाख रुपैयाँबराबरको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत भएर बढी भएको ४८ करोड ९३ लाख ७२ हजार युनिट विद्युत् भारत निर्यात गरेको जनाएको छ । प्राधिकरणले वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको हो । सुरुमा दुईवटा आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा आयोजनाबाट उत्पादित तीन सय ६४ मेगावाट विद्युत् बिक्री गर्दै आएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् निर्यात गरेर सात अर्ब १९ करोड ८६ लाख कमाएको छ ।  आइएक्समा २४ घन्टालाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट नौ रुपैयाँ २३ पैसा छ । 

हरेक महिना विद्युत् निर्यातबाट भएको आम्दानीले नेपालको विदेशी मुद्रा सञ्‍िचति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘चालू आवमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘मंसिरको पहिलो हप्तासम्म विद्युत् निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौँ ।’

थप दुई सय १२ मेगावाट विद्युत् निर्यातको प्रस्ताव
चाडबाडका वेलामा विद्युत् खतप कम हुने, तर उत्पादन भने पूर्ण क्षमतामा हुने भएकाले थप दुई सय १२ मेगावाट विद्युत् भारतमा निर्यातका लागि प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । उनले भने, ‘भारतीय पक्षबाट थप विद्युत् निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौँ ।’प्राधिकरणले आठ जलविद्युत् आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत् निर्यातका लागि प्रस्ताव पेस गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेको २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ आयोजनाबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव गरिएको छ । यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमे आयोजनाबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्‍त हुनेमा विश्वास व्यक्त गरे ।

ad
ad
ad
ad