
राष्ट्रपति नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेपछि सत्तारुढ गठबन्धनले के गर्ला ? धेरैको जिज्ञासा छ । तर, आज भएको गठबन्धनको बैठकमा यसबारे कुनै छलफल नभएको नेताहरूले बताएका छन् ।
मंगलबार मध्यरातिसम्ममा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको पालना गर्दै नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वासमा आफूहरू रहेको गठबन्धनका नेताको भनाइ छ ।
गठबन्धनमा सामेल एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने विधेयक प्रमाणीकरणका लागि मध्यरातसम्मको समय रहेकाले आज दिउँसो बसेको गठबन्धनको बैठकमा छलफलको आवश्यकता नदेखिएको बताए ।
‘यस विषयमा गठबन्धनमा छलफल भइसकेको छैन । विकसित घटनाक्रमअनुसार आवश्यकताका आधारमा छलफल गरेर अगाडि बढ्छौँ,’ पूर्वप्रधानमन्त्री खनालले नयाँ पत्रिकासँग भने । राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
‘संविधानभन्दा माथि कोही पनि हुँदैन । संसदले दुई–दुई पटक पारित गरेर पठाएको विधेयक रोक्ने अधिकार राष्ट्रपतिलाई छैन । त्यसकारण राष्ट्रपतिले विधेयक प्रमाणिकारण गर्नुको विकल्प छैन,’ उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबै ऐन, कानुनअनुसार चल्नुपर्छ । यदि, राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नुभएन भने ओहोदाको दुरुपयोग हुन्छ ।’