
नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद कैलाश चौधरीलाई मन्त्री बनाउन सुदूरपश्चिम प्रदेश सरकारलाई सिफारिस गरेको छ। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाशलाई मन्त्री नियुक्त गर्न मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस पठाएकी छिन् ।
सिफारिस प्राप्त भएसँगै मुख्यमन्त्री शाहले चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्ने तयारी गरेका उनको सचिवालयले जनाएको छ । यसअघि यो मन्त्रालयको मन्त्री नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरी थिए ।
चौधरीको लेनदेनसँग जोडिएको अडियो सार्वजनिक भएपछि गत १६ चैतमा उनले राजीनामा दिएका थिए । चौधरीले राजीनामा दिएको डेढ महिनासम्म नागरिक उन्मुक्तिले मन्त्रीका लागि पार्टीबाट नाम सिफारिस गर्न सकेको थिएन । मंगलबार बसेको नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले पार्टी केन्द्रलाई मन्त्रीको नाम सिफारिस गर्न वा त्यसको अधिकार संसदीय दललाई दिन आग्रह गरेको थियो ।
मन्त्रीको सिफारिस भएका चौधरी अध्यक्ष श्रेष्ठका विश्वासपात्र हुन् । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ बाट निर्वाचित उनी प्रदेश सरकारमा तेस्रोपटक मन्त्री बन्दै छन् । उनी ०८० साउनदेखि फागुनसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र गत वर्ष वैशाखदेखि असारसम्म भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।