
कवि राजेन्द्र तारकिणीद्वारा लिखित कविता कृति ‘बिगन रामको मादल’ विमोचन गरिएको छ। सोमबार संविधान दिवसको अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठानमा कवि–साहित्यकार श्यामल, कवि तथा चलचित्र निर्देशक राजेन्द्र शलभ, कवि–समीक्षक एवं प्राध्यापक गीता त्रिपाठी र लेखक–समीक्षक राजकुमार बानियाँलगायतले कृतिको विमोचन गरेका हुन्।
विमोचनपछि कृतिमाथि समीक्षात्मक अन्तर्क्रिया गरिएको थियो। प्रस्तोता राजकुमार बानियाँले वक्ताहरू श्यामल, शलभ र त्रिपाठीलाई पालैपालो कवि तारकिणीका कविताको भावभूमि, सबल पक्ष, समकालीन कवितामा उनको स्थान र सीमाबारे प्रश्न गरेका थिए।
कवि श्यामलले भने, कवितामा राजेन्द्रको चिन्ता शासकप्रतिको हाेइन, आमसामान्य मान्छेको चिन्ता छ। त्यसैले उनका कविता भूपि, रिमालका कविताकै चिन्तासँग मिल्दोजुल्दो छ।’
अर्का वक्ता राजेन्द्र शलभले भने, ‘कविताको किताब पढिसकेपछि त्यसभित्रका कविता सम्झिइयो भने म त्यस्तो कृतिलाई सफल कृति ठान्छु। कवि तारकिणीको यो किताब पढिसक्दा मैले १०–१२ वटा कविता सम्झिएँ। त्यसैले यो कृति सफल छ।’ कवि एवं समीक्षक गीता त्रिपाठीले यो युगलाई पढ्न चाहनेहरूका लागि कुनै समय राजेन्द्र तारकिणीका कविता पनि एउटा इतिहास बन्ने बताइन्।
कवि तारकिणीले ‘बिगन रामको मादल’ कृतिगत हिसाबले चौथो कृति रहेको र यसमा पछिल्लो एक दशक अवधिमा लेखिएका कविताहरू संकलित रहेको जानकारी दिए। शिखा बुक्सले प्रकाशन गरेको पुस्तक ६ खण्डमा विभाजित छ। ५४ कविता संग्रहित पुस्तकको मूल्य तीन सय रुपैयाँ रहेको छ।