मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बर्खा दत्त
२०७९ असोज ४ मंगलबार ११:३८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतीय महिलालाई विभाजित हुने छुट छैन

Read Time : > 2 मिनेट
बर्खा दत्त
२०७९ असोज ४ मंगलबार ११:३८:००

महिलाको प्रजनन अधिकार हनन भइरहेको र कहिल्यै महिला राष्ट्रपति नपाएका अमेरिकीले नियमितजसो भारतीय महिलाका बारेमा पूर्वाग्रहपूर्ण धारणा निर्माण गर्थे । वर्षौंसम्म म अधीनस्थता एवं रुढीबद्ध पूर्वक्षेत्रद्वेषी (ओरिएन्टलिजम) चस्माबाट भारतीय महिलालाई हेर्ने विदेशी संवाददातासँग बाझाबाझ गर्थें । तर, अहिले म एक क्रुद्ध भारतीय महिलाका रूपमा आफ्ना विचार व्यक्त गर्दै छु । बलात्कारलाई सन्त्रास एवं हिंसाको हतियार मात्र नभई हाम्रो शरीरलाई राजनीतिक रणमैदान बनाएर हामीमाथि घात गरिँदै छ । यही साता भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशमा दुई किशोरी दलितको बलात्कार गरी पछ्यौराले झुन्ड्याएर हत्या गरिएको छ । यो अपराधपछि मैले सामूहिक आक्रोशको अपेक्षा गरेकी थिएँ । दुर्भाग्य, मैले राजनीतिको कर्कश कोलाहलबाहेक केही पनि सुन्न पाइनँ ।

विपक्षीका लागि यो घटना हिन्दू उग्रवादी एवं भारतीय जनता पार्टी (भाजपा) का उदाउँदा नेता योगी आदित्यनाथ शासित उत्तरप्रदेश सरकारलाई आलोचना गर्ने मौका बन्न पुग्यो । यता भाजपाका उग्र–दक्षिणपन्थी समर्थक बलात्कार आरोपमा पाँचजना मुसलमान पक्राउ परे भन्दै इन्टरनेटमा निर्लज्जतासाथ खुसी मनाइरहेका छन् । कसैलाई ती पीडित किशोरीबारे चासो थिएन । पीडित वा बाँच्न सफल भएकालाई समाचारमा हेडलाइन बनाउने तर पछि बेवास्ता गर्ने हालैको निराशाजनक प्रवृत्तिबाट यो मामिला पनि अछुतो रहेन । 

विडम्बना, यो प्रवृत्ति यही १५ अगस्ट अर्थात् भारतको स्वतन्त्रता दिवसका दिनदेखि सुरु भएको हो । त्यस दिन सन् २००२ मा गुजरातमा एक १९ वर्षीया गर्भवती महिला बिल्किस बानोको बलात्कारमा दोषी ठहर गरिएका ११ अपराधीलाई फूलमाला पहिर्‍याई मिठाई खुवाएर जेलबाट स्वागत गरिएको थियो । अपराधीमध्येका एक कैदीले माफीनामा निवेदन दिएको र गुजरात सरकारले खडा गरेको एक समितिको सिफारिसका कारण यी अपराधीले उन्मुक्ति पाएका थिए । सो प्यानलका सदस्य एवं भाजपाका विधायकले मैले चलाइरहेको ‘मोजो स्टोरी’ डिजिटल च्यानलमा यी अपराधी ‘ब्राह्मण’ र ‘असल चरित्र’का मानिस हुन् भन्ने विश्वास भएको बताएका थिए ।

यी विधायकले सत्चरित्र भएका भनिएका ‘ब्राह्मण’ले बिल्किसकी आमा र दिदी–बहिनीलाई समेत बलात्कार गरेका थिए, जहाँ परिवारका सदस्य एक–अर्कामाथि भइरहेको बलात्कारको साक्षी बन्न बाध्य भएका थिए । जब रगताम्म भएकी र हात भाँचिएर भुइँमा अचेत भएर बिल्किस ढलिरहेकी थिइन् । उनकी तीन वर्षीया छोरीलाई ढुंगाले टाउको फोडेर हत्या गरिएको थियो । बम्बै उच्च न्यायालयले यो अपराधलाई ‘नरसंहार’को संज्ञा दिएको थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले बिल्किसलाई क्षतिपूर्ति दिने आदेश दिएको थियो र आम भारतीयलाई उनको २२ पटक बलात्कार भएको थियो भनेर स्मरण पनि गराएको थियो ।

बलात्कार र हिंसाजस्ता मामिलामा भारतीय महिलालाई दलीय आबद्धता, धर्म या जातआधारित पहिचान वा वैचारिक बफादारीका आधारमा विभाजित हुने छुट छैन

 भर्खर–भर्खर रिपोर्टिङ गरिरहेकी थिएँ, जब मैले बिल्किसलाई एक राहत शिविरमा भेटेकी थिएँ । शिविरमा उनलाई बलात्कार गरिएको केही घन्टामै ल्याइएको थियो । अस्थायी टहरामा मट्टीतेल–टुकीको मलिन उज्यालो थियो र उनको भाँचिएको हात कास्टको टेकोमा अडिएको थियो र मसिनो आवाजमा केही बोलिरहेकी थिइन् । ती हत्यारा–बलात्कारी आफ्नै छिमेकी भएको बताइरहेकी थिइन् । यी अपराधी उनको घरमा दुध खरिद गर्न आउँथे । हालै बिल्किसका श्रीमान् याकुबले मलाई अपराधीलाई उन्मुक्ति दिइरहँदा ‘आफू बल्ल बाँच्न सुरु गरेको’ बताएका थिए । पुनः जेल जाकिनुपर्छ भनेर अदालतमा मुद्दा दायर हुँदा मोजो स्टोरीले यी अपराधी फरार भइसकेको पायो । भाजपाका औँलामा गन्न सकिने मात्रैले बिल्किसका पक्षमा बोलेका थिए । 

बिल्किस बानोका अपराधी फरार भएको केही दिनमै झारखण्ड राज्यमा सुतिरहेकी एक महिलामाथि पेट्रोल छर्केर ज्युँदै जलाइयो । संदिग्ध अपराधीलाई पुलिसले गिरफ्तार गरेर लग्दै गर्दा अपराधी मिडियाका क्यामेराअगाडि मुस्कुराइरहेको थियो । यो राज्यको सरकार भाजपाइतरको पार्टीले चलाइरहेको थियो र भाजपाले न्यायका लागि नेतृत्व लिएको देखिन्थ्यो भने बिल्किसका लागि न्याय माग्ने सत्तारुढ पार्टी मौन थिए । झारखण्डमै भाजपाका राज्यस्तरका नेताले एक आदिवासी महिलालाई तातो तावाले पिटिरहेको घटना सतहमा आएपछि भाजपाले ज्युँदै जलाइएको महिलाका लागि गरिरहेको अगुवाइ पनि रोकियो । यी नेतालाई भने भाजपाले अहिले निलम्बन गरेको छ ।  

भारतका दुवै पुरुष र महिला नेता महिला हिंसाका मामिलामा हिंसा भएको क्षेत्रको सत्तारुढ पार्टी, अपराधीको धर्म र जात र केही ठाउँमा पीडितको धर्म र जात हेरेर मात्रै बोल्ने–नबोल्ने तय गर्छन् । संरचनागत असमानताका गहिरो बुझाइ निर्माण गर्नका लागि निःसन्देह लैंगिकतासँगै धर्म र जात पनि बुझ्न आवश्यक छ । तथापि, मारिएकी महिला वा प्रताडनामा परेका बालिका राजनीति र वैचारिकीको रणमैदानी खेल बन्नु हुँदैन । सबै महिला न्याययोग्य छन् र महिलामाथि हुने हरेक हिंसाले हामीलाई क्रुद्ध बनाउनुपर्छ ।

सरकारकै आँकडाले महिला हिंसाका मामिलामा सबै राज्य कुनै न कुनै रूपमा दोषी छन् । भाजपा शासित राज्य उत्तर प्रदेशमा महिलामाथि सबैभन्दा बढी हिंसा हुन्छ भने कांग्रेस पार्टी शासित राजस्थानमा सबैभन्दा बढी बलात्कारका घटना दर्ज भएका छन् । बलात्कार र हिंसाजस्ता मामिलामा भारतीय महिलालाई दलीय आबद्धता, धर्म, जातआधारित पहिचान वा वैचारिक बफादारीका आधारमा विभाजित हुने छुट छैन । यो समय भारतीय महिलाका लागि एकता र जिम्मेवारीको हुनुपर्छ ।  
(दत्त भारतीय टेलिभिजन पत्रकार एवं  वासिंगटन पोस्टकी स्तम्भकार हुन्) द वासिंगटन पोस्टबाट