१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मनाङमा अर्गानिक फापरखेती फस्टाउँदो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:२४:oo

धान, मकै र कोदो नफल्ने हिमाली जिल्ला मनाङमा फापरखेती राम्रो हुन थालेपछि किसानहरू हौसिएका छन् । मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फू बस्तीबाहेक तल्लो क्षेत्रमा फापरखेती राम्रो हुने स्थानीय विनोद गुरुङले बताए । मनाङमा  गत वर्ष दुई सय ९६ हेक्टर क्षेत्रफलमा फापरखेती लगाइएको थियो । 

तल्लो मनाङभन्दा निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ । स्थानीयले यसलाई पर्यटनसँग जोड्दै खेती गरिरहेको पिसाङका याङडुङ गुरुङले बताए । ‘हामीले खेती गर्दै आएको फापर यहाँको रैथाने हो, अर्गानिक हो,’ उनले भने, ‘यहाँ आउने पर्यटकलाई खुवाउँछौँ । उनीहरू विशेष रूपले मन पराउँछन् ।’ फापरको पिठोबाट तयार पारिएको ढिँडो र रोटी पोसिलो हुने स्थानीय बताउँछन् । गुरुङका अनुसार होटेल व्यवसायमा आबद्ध स्थानीयले प्रायः फापरको खेती गर्ने गरेका छन् । 

अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरैजनाले होटेल सञ्चालन गर्दै आएका छन् । पर्यटकले फापरको परिकार मात्रै नभएर फापरखेतीलाई पनि मन पराउने गरेका छन् । तराईमा तीतेफापर र हिमालमा मिथेफापरको खेती हुने गर्छ । मनाङको लोभलाग्दो फापरखेती हेर्न आन्तरिक र बाह्य पयर्टकहरू आउने गर्छन् । विगतका वर्षहरूमा कोरोनाका कारण पर्यटक पुग्न नसके पनि यस वर्ष भने अफ सिजनमा समेत पर्यटक आगमनमा कमी नआएको अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङले जनाएको छ । 

समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापरले सबैको मन तानेको छ । तल्लो क्षेत्रको नासों–१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ–९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्राय जेठ अन्तिम साता र असारमा बिउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ । 

ad
ad