१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
घटनास्थलको सिसिटिभी फुटेजको स्क्रिनसट, जसमा मोहम्मदमाथि गोली प्रहार भइरहेको देखिन्छ
टेकराज थामी काठमाडाैं
२०७९ असोज ४ मंगलबार ०६:१५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

गोठाटारमा सम्साँझै लखेटी–लखेटी गार्मेन्ट व्यवसायीको गोली हानेर हत्या

सर्लाहीका लाल मोहम्मदमाथि चार गोली प्रहार गर्ने आक्रमणकारी फरार

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असोज ४ मंगलबार ०६:१५:००

काठमाडौंको गोठाटारमा सम्साँझै गार्मेन्ट व्यवसायीको हत्या भएको छ । सोमबार साँझ सर्लाही हरिवन नगरपालिका– २ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको हो । शरीरका विभिन्न अंगमा चारवटा गोली लागेका दर्जीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

गोठाटारस्थित व्यस्त सडकमा बा.६च ५१५२ नम्बरको कारबाट निस्किएका दर्जीमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले एक्कासि गोली प्रहार गरेका थिए । रातो सर्ट लगाएका ती व्यक्तिले दर्जीलाई लखेटी–लखेटी गोली प्रहार गरेका थिए । परिवारका सदस्यले देखेर प्रतिवाद गर्न खोजेपछि आक्रमणकारी पेस्तोल त्यहीँ छाडेर भागेका थिए । तत्काल उपचारका लागि शंखरापुरस्थित अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल लगिएको थियो । 

प्रहरीका अनुसार दर्जी सोमबार साँझ चाबहिलबाट साथी रामप्रसाद गौतमसँगै गोठाटारस्थित आफ्नो गार्मेन्ट फ्याक्ट्री फर्किएका थिए । उनकोे गाडी जब गार्मेन्ट सामुन्नेको सडकमा रोकियो, उनी ढोका खोलेर ओर्लिए । त्यहीवेला उनीमाथि अपरिचित आक्रमणकारीले गोली चलाए । तर, फायर ‘मिस’ हुन पुग्यो । आत्तिएका उनी गाडीको आड लिएर भाग्न थाले । तर, आक्रमणकारीले पिछा गरिरह्योे । गाडीको चक्कर लगााउने क्रममा आक्रमणकारीले दर्जीको घुँडामा फायर ग¥यो । चोटका कारण उनी त्यहीँ ढले । आक्रमणकारीले टाउको र छातीमा सटाएर अर्को फायर खोल्यो । त्यहीवेला दर्जीका परिवारका सदस्य आएपछि आक्रमणकारी मोटरसाइकल चढेर फरार भए । 

‘अचानक गोली चलेको आवाज आयो । दौैडेर घटनास्थल पुग्यौँ । एकजना गाडीनजिकै ढलिरहेको देखिन्थ्यो । गोली प्रहार गर्नेहरू मोटरसाइकलमा भागेको देख्नेहरू सुनाउँथे । सबैजना डरायौँ । केहीबेरमै प्रहरी घटनास्थल आइपुग्यो,’ प्रत्यक्षदर्शी पुष्पराज तामाङले नयाँ पत्रिकासँग भने ।

प्रहरीका अनुसार दर्जीको टाउकोमा दुई, छाती र घुँडामा एक–एकवटा गोली लागेको छ । घाइते उनलाई उपचारका लागि तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो । तर, उनको अवस्था गम्भीर देखिएपछि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको थियो । घटनास्थलबाट एउटा पेस्तोल बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए । ‘मोहम्मद दर्जीमाथि चार गोली प्रहार भएको छ । घटनास्थलबाट एक थान पेस्तोल पनि बरामद भएको छ,’ उनले भने ।

गोलीकाण्डपछि उपत्यकाका नाकामा सुरक्षा कडाइ
गोली प्रहारलगत्तै घटनास्थल पुगेका प्रहरीले आसपासको सुरक्षा अवस्था कडा बनाएको छ । आक्रमणकारी भाग्न सक्ने सबै नाकामा प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ । उपत्यका बाहिरिने सबै नाकामा चेकजाँच कडा बनाइएको काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । घटनास्थलआसपास तथा आक्रमणकारी भाग्न सक्ने सडकका सबै सिसिक्यामेरा फुटेज विश्लेषणमा प्रहरी जुटेको छ । ‘गोली प्रहारपछि आवश्यक प्रमाण संकलनमा प्रहरी जुटेको छ । आक्रमणकारी पक्राउ गर्न प्रहरीले सबै शक्ति प्रयोग गरेको छ,’ मैनालीले भने ।

घटनास्थलमा रहेको सिसिटिभी फुटेजमा गोली प्रहार भएको सुनेपछि घरको पहिलो तलामा रहेकी मोहम्मद दर्जीकी छोरी माथिबाटै हामफालेकी थिइन् । गुहार माग्दै उनी आक्रमणकारीसँग प्रतिकारमा उत्रिएकी थिइन् । त्यसपछि आक्रमणकारी पेस्तोल छाडेर भागेका थिए । प्रहरीले सोमबार बेलुका नै परिवारका सदस्यसँग सोधपुछ गर्ने प्रयास गरेको थियो । तर, उनीहरू खुल्न नमानेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार मोहम्मद दर्जी चार वर्षदेखि गोठाटारस्थित घरको दोस्रो फ्ल्याट भाडामा लिएर मोदी कोट, कुर्ता, पाइजामालगायतका पोसाक उत्पादन गर्थे । भाडाको विषयले उनको घरबेटीसँग सम्बन्ध राम्रो थिएन । लेनदेनकै विषयमा उनको दुई दिनअघि पनि केही अपरिचितसँग विवाद भएको थियो । प्रहरी स्रोतका अनुसार उनी यसअघि नक्कली भारुको कारोबारमा समेत संलग्न थिए । सोही अभियोगमा उनी केही वर्ष जेल बसेर छुटेका थिए । जेलबाट छुटेपछि उनी गार्मेन्ट व्यवसायमा लागेको प्रहरीको भनाइ छ । 

फैजन, जमिम र युनुसकै शैलीमा मोहम्मद दर्जीमाथि आक्रमण 
९ असोज ०६९ मा काठमाडौं घन्टाघरनजिकैको सडकमा दिनदहाडै फैजन अहमदमाथि गोली प्रहार भयो । उनी मस्जिदबाट बाहिर निस्कँदै थिए ।मोटरसाइकलमा आएका अपरिचितले उनीमाथि गोली प्रहार गरे । चोटका कारण सडकमै ढलेका उनी गुहार माग्दै थिए । यही क्रममा आक्रमणकारीमध्ये एक फैजन नजिक पुगे । सटाएर टाउकोमै गोली प्रहार गरे । उनीको टाउको र छातीमा पटक–पटक गोली प्रहार भएको थियो । 

सञ्चार उद्यमी जमिम शाहमाथि २४ माघ ०६६ मा लाजिम्पाटस्थित फ्रान्सेली दूतावास सामुन्नेको सडकमा दिनदहाडै गोली प्रहार भयो । याक एन्ड यती होटेलबाट उनी निवास फर्कँदै थिए । उपराष्ट्रपति परमानन्द झाको शपथ शीतलनिवासमा चलिरहेकाले लाजिम्पाट सडकमा सवारी जाम थियो । सोही कारण गाडीको गति धिमा थियो । यही क्रममा मोटरसाइकलमा आएका अपरिचित जमिम सवार गाडीअगाडि रोकिए । र, गाडीनजिकै पुगे । झ्यालबाट सटाएर गोली प्रहार गरे । उनलाई टाउको र छातीमै गोली प्रहार भएको थियो । कडा सुरक्षा–प्रबन्धको बाबजुद पनि आक्रमणकारी फरार भए । 

नक्कली भारु नोट कारोबारमा सुन्धारास्थित केन्द्रीय कारागारमा कैदजीवन बिताइरहेका अर्का सञ्चार उद्यमी युनुस अन्सारीमाथि २६ फागुन ०६७ मा गोली प्रहार भयो । उनीमाथि दुई अपरिचित व्यक्तिले गोली प्रहार गरेका थिए । तर, फायर मिस भयो । गोली उनको टाउकोनजिकबाट क्रस भएर गएको थियो । १५ असार ०५५ मा पूर्वमन्त्री मिर्जा दिलसाद वेगको कालोपुलस्थित निवासमा गोली प्रहारबाट हत्या भएको थियो । हत्या गरिएका तीन र आक्रमणपछि बाँचेका एक कहीँ न कतै नक्कली भारु नोटको कारोबारमा संलग्न थिए । जसमा भारतीय अपराधी ‘कन्ट्र्याक्ट किलर’का रूपमा प्रयोग भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ ।

 गोलीकाण्डपछि उपत्यकाका नाकामा सुरक्षा कडाइ
गोली प्रहारलगत्तै घटनास्थल पुगेको प्रहरीले आसपासको सुरक्षा अवस्था कडा बनाएको छ । आक्रमणकारी भाग्न सक्ने सबै नाकामा प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ । उपत्यकाबाट बाहिरिने सबै नाकामा चेकजाँच कडा बनाइएको काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । घटनास्थलआसपास तथा आक्रमणकारी भाग्न सक्ने सडकका सबै सिसिक्यामेरा फुटेज विश्लेषणमा प्रहरी जुटेको छ । ‘गोली प्रहारपछि आवश्यक प्रमाण संकलनमा प्रहरी जुटेको छ । आक्रमणकारी पक्राउ गर्न प्रहरीले सबै शक्ति प्रयोग गरेको छ,’ मैनालीले भने ।