Skip This
झापामा आत्महत्या गर्नेमध्ये ६१ प्रतिशत पुरुष
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ असोज २ आइतबार १७:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

झापामा आत्महत्या गर्नेमध्ये ६१ प्रतिशत पुरुष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २ आइतबार १७:५o:oo

झापामा वर्षेनी तीन सयभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार वर्सेनी आत्महत्या बढिरहेको पाइएको हो। पछिल्लो तीन आर्थिक वर्षमा प्रत्येक वर्ष तीन सय बढीले आत्महत्या गरेको पाइएको हो।

आर्थिक वर्ष ०७६/७७ मा झापामा २२३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए। यस्तै, आर्थिक वर्ष ०७७/७८ मा ३३४ र आर्थिक वर्ष ०७८/७९ मा ३११ जनाले आत्महत्या गरेकाे उनले बताए। चालू आर्थिक वर्षको एक महिनामा मात्र २९ जनाले आत्महत्या गरेकाे प्रहरीले जनाएको छ।
जिल्लामा आत्महत्या गर्नेमा सबैभन्दा धेरै पुरुष रहेको तथ्यांकले देखाएको छ। आत्महत्या गर्नेमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला रहेका एसपी पोखरेलले जानकारी दिए। उमेर समूहका आधारमा सबैभन्दा धेरै १६ देखि ६० वर्ष उमेरका व्यक्तिले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ। आत्महत्या गर्नेमध्ये उक्त उमेर समूहका ७८ प्रतिशत रहेका छन्। 

यस्तै, १६ वर्षमुनिका १६ प्रतिशत र ६० वर्षमाथिका ६ प्रतिशतले आत्महत्या गरेका प्रहरीको तथ्यांक छ। झापामा रहेका स्थानीय तहमध्ये मेचीनगर नगरपालिकामा आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै रहेको पाइएको छ। गत आर्थिक वर्षमा मेचीनगरमा ४८ जनाले आत्महत्या गरेका थिए।

आत्महत्या न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम
आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले आइतबार दमकमा सचेतनामूलक कार्यक्रम गरेको छ। दमकमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाले प्रभातफेरी गरेका थिए। प्रभातफेरिपछि भएको कार्यक्रममा प्रस्तुति गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले गरिबी, चेतनाको कमीले आत्महत्याको घटना बढेको बताए।

‘अशिक्षा, गरिबीसँगै आफ्ना आफन्त, साथीबाट तिरस्कृत हुनु, मानसिक विचलनको सिकार हुनु, आशाभरोशा गुमाएर जीवनप्रति वितृष्णा हुनु, प्रेम सम्बन्धमा धोका र विछोड, सामाजिक सञ्जालको गलत प्रयोग, देखासिखी, हिंसालगायतका कारणले आत्महत्या गर्ने गरेको पाइन्छ,’ डिएसपी गिरीले भने, ‘यसको न्यूनीकरण गर्न परिवार, छिमेकी र परिवारको दायित्व हो । आत्महत्या गर्नु पनि अपराध हो।’

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आत्महत्या न्यूनीकरणमा स्थानीय तहले वार्षिक कार्यक्रम नै ल्याउनुपर्ने धारणा राखे। उनले अप्ठेरोमा परेकालाई सहयोग गरे आत्महत्या न्यूनीकरण हुन सक्ने बताए।