१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २ आइतबार ०७:५९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ ज्ञान : के हो बीजक ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २ आइतबार ०७:५९:००

कर बीजक भनेको व्यक्ति, फर्म वा कम्पनीले जारी गर्ने कर उल्लेख भएको रसिद (बिल) हो । बीजकले दर्ता भएको व्यक्ति, फर्म वा कम्पनीले गरेको करयोग्य कारोबारलाई प्रमाणित गर्दछ । 

बीजकको प्रथम प्रतिको शीर्ष भागमा कर बीजक उल्लेख गरी प्रापकलाई दिइन्छ । प्रत्येक बीजकमा न्यूनतम तीन प्रति रहन्छ । पहिलो प्रति, जसमा कर बीजक उल्लेख हुन्छ, खरिदकर्तालाई दिइन्छ । दोस्रो प्रति कर प्रशासनले मागेको समयमा उपलब्ध गराउने गरी दर्ता भएको व्यक्तिले अभिलेखमा राख्दछ । तेस्रो प्रति दर्ता भएको यक्तिले आफ्नो कारोबारको लेखांकनका लागि राख्दछ । यसै तेस्रो प्रतिका माध्यमबाट करदाताले आफ्नो बिक्री खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ ।

अर्को अर्थमा आन्तरिक राजस्व कार्यालयअन्तर्गत दर्ता भएको व्यक्ति, फर्म वा कम्पनीले वस्तु तथा सेवा बिक्री गर्ने क्रममा बीजक जारी गर्नुपर्छ । त्यसैलाई कर बीजक भनिन्छ । मूल्य अभिवृद्धि करअन्तर्गत दर्ता भएको भए १३ प्रतिशत कर देखिने गरी बीजक जारी गर्नुपर्दछ भने आयकरअन्तर्गत दर्ता भएको भए संक्षिप्त कर बीजक जारी गर्न सकिन्छ ।

संक्षिप्त कर बीजक : संक्षिप्त कर बीजक भनेको दर्ता भएको व्यक्तिले जारी गर्ने स्पष्ट रूपमा कर नदेखाइएको (मूल्यमा नै कर समावेश) भएको बिल हो । बीजकको शीर्ष भागमा संक्षिप्त कर बीजक उल्लेख गरी प्रापकलाई दिइन्छ । प्रत्येक बीजकमा न्यूनतम तीन प्रति हुनुपर्छ । पहिलो प्रति खरिदकर्तालाई दिइन्छ । दोस्रो प्रति कर कार्यालयले मागेका बखत उपलब्ध गराउने गरी दर्ता भएको व्यक्तिले अभिलेखमा राख्दछ । यस्तै, तेस्रो प्रतिका माध्यमबाट करदाताले आफ्नो बिक्री खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ । यो बीजक करसहितको मूल्य रु. ५ हजारभन्दा बढीको जारी गर्न मिल्दैन । कर बीजक कर कार्यालयबाट प्रमाणित गराइरहनु आवश्यक छैन ।

वस्तु आपूर्तिको हकमा क्रेताले विक्रेताको कारोबारस्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको समय वा वस्तुको प्रतिफल प्राप्त गरेको समय, जुन पहिला हुन्छ, सोही समयमा कर बीजक जारी गर्नुपर्दछ । सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएका बखत वा सेवाको प्रतिफल प्राप्त गरेको समय जुन पहिला हुन्छ, सोही समयमा बीजक जारी गर्नुपर्दछ ।