मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३१ शुक्रबार १२:१६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाह्य क्षेत्र र महँगी दबाबमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३१ शुक्रबार १२:१६:००

चालू आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ४२ करोड अमेरिकी डलर पुगेको छ । यो असारको तुलनामा १.२ प्रतिशत (१० करोड डलर) कम हो । अहिले विदेशी मुद्रा सञ्चितिले ९.४ महिनाको वस्तु तथा आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । अहिलेको मुख्य चुनौतीका रूपमा रहेको बाह्य क्षेत्रका परिसूचक सकारात्मक नभएकाले अझै चनाखो हुनुपर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । उनले भने, ‘साउनको शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिको तथ्यांक सन्तोषजनक छैन । मुद्रास्फीति पनि ८ प्रतिशतकै हाराहारीमा छ ।’

गत असारमा रेमिट्यान्स ८२ करोड डलर भित्रिएको थियो । तर, साउनमा ७२ करोड ४० लाख डलर मात्रै भित्रिएको छ । नेपाली विनिमय दरअनुसार साउनमा ९२ अर्ब १० करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । गत असारसम्म उधारोमा सामान आयात गर्दा भुक्तानी सन्तुलनमा केही सुधार देखिए पनि साउनमा त्यसको असर देखिएको छ । असारसम्म एक खर्ब १८ अर्बबराबरको उधारो आयात भएको थियो । राष्ट्र बैंकका अनुसार साउनमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा छ । यो अघिल्लो साउनको तुलनामा कम भए पनि शोधनान्तर स्थिति दबाबमै रहेको तथ्यांकबाट देखिन्छ । गत आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा थियो । 

 महँगीको मार 
चाडबाडको मुखमा उपभोक्ताले महँगीको मार खेप्नुपर्ने भएको छ । साउन महिनामै उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत छ । अघिल्लो वर्षको साउनमा यो दर ४.३५ प्रतिशतमा सीमित थियो । युक्रेन र रुसबीचको युद्धपछि विश्व बजारमा खाद्यवस्तु तथा इन्धनको मूल्य बढ्दै गइरहेको छ । नेपालले यस्ता वस्तुको उत्पादन बढाउन नसकिरहेको अवस्थामा महँगोमा उपभोग्य वस्तु आयात गरिरहेको छ ।

चाडपर्वमा उपभोग्यवस्तुको खपत अत्यधिक हुने भएकाले महँगी थप बढ्ने देखिन्छ । साउनमा खाद्यान्न तथा पेय पदार्थको मूल्यवृद्धि ७.११ प्रतिशत छ भने गैरखाद्यान्न तथा सेवा समूहतर्फको महँगीदर ९.१८ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्यवृद्धि १९.५८ प्रतिशत छ । फलफूलको मूल्य १९.५८ प्रतिशत, रेस्टुरेन्ट तथा होटेलमा १८.७९ प्रतिशत, मदिराजन्य पेय पदार्थमा १०.२४ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डामा १०.१९ प्रतिशत महँगी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।