१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सोह्रखुट्टेका अनधिकृत संरचनामा डोजर 

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:o९:oo

काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा अवैध रूपमा खडा गरिएका व्यापारिक संरचनामा डोजर चलाएको छ । डोजरसहित सोह्रखुट्टे क्षेत्र पुगेको महानगरपालिकाको नगर प्रहरीले बुधबार साना ठूला गरी करिब १५ वटा अनधिकृत संरचना भत्काएको हो । 

महानगरले यस क्षेत्रमा सोमबार दुई दिनभित्र अनधिकृत संरचना हटाउन निर्देशन दिएको थियो । तर, निर्धारित समयमा संरचना हटाउन अटेर गरेपछि महानगरले आफैँ भत्काइदिएको हो । ‘हामीले पटक–पटक अनधिकृत संरचना हटाउन निर्देशन दिएका थियौँ । तर, व्यवसायीहरूले मान्नु भएन,’ महानगरका नगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले भने, ‘अवैध संरचनाका कारण सडकमा ओहोरदोहोर गर्ने कठिन भइरहेको थियो ।’ उनका अनुसार ती संरचना बनाउनुअघि महानगरसँग कुनै अनुमति लिएको थिएन ।

व्यवसायीहरूले सोह्रखुट्टेस्थित मूल र भित्री सडकको फुटपाथ नै ओगटेर व्यापार व्यवसाय गरिरहेका थिए । कतिपयले बेसमेन्ट पार्किङको ठाउँमा व्यवसाय चलाएका थिए । ती सबै खाले संरचना हटाएको महानगरले जनाएको छ । 

महानगरले अब कलंकी, रविभवन, टेकु, कालीमाटी, त्रिपुरेश्वर, बालाजु, कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, सामाखुसीलगायत क्षेत्रमा बनेका अनधिकृत संरचनामा पनि डोजर चलाउने जनाएको छ । यी क्षेत्रमा हरेक दिन पालैपालो डोजर चलाउनेछ । यद्यपि, डोजर चलाउनु दुई दिनअघि व्यापारीलाई सामान हटाउन समय प्रदान गर्नेछ । 

नगर प्रहरीले पछिल्लो समय अनधिकृत संरचनाको अनुगमनलाई पनि तीव्र पारेको छ । प्रहरीको एक टोली अनधिकृत संरचना भत्काउन जाने र अर्को टोली अनुगमनमा जाने गरेको छ । अनुगमनका लागि १७ जना नगर प्रहरी परिचालन गरिएको छ । जहाँ–जहाँ बढी अवैध संरचना बनेका छन्, सडक तथा फुटपाथ ओगटिएका छन् ती क्षेत्रलाई छिट्टै खाली गरिने महानगरका नगर प्रहरी प्रमुख एसपी पाण्डेले जानकारी दिए । 

महाबौद्ध क्षेत्रका अनधिकृत संरचना आज भत्काइँदै 
काठमाडौं महानगरपालिकाले न्युरोड र महाबौद्ध क्षेत्रका अनधिकृत संरचना आज भत्काउने भएको छ । महानगर टोलीले बुधबार नै ती संरचना खाली गर्न र सडकमा व्यवसाय गरिरहेकालाई हट्न निर्देशन दिएको थियो ।

महानगरका अनुसार महाबौद्धका अधिकांश होलसेल पसलले अनधिकृत रूपमा सडक र फुटपाथ ओगटिरहेका छन् । यहाँका अधिकांश घरमा पार्किङ छैन । केही अग्ला भवनले पनि पार्किङका लागि बनेको बेसमेन्टमा सामान राख्ने गरेका छन् । 

यस्तै, महाबौद्धमा रहेको चाइनिज तथा अन्य मिनी मार्केटले सडक र सडक किनारमा अनधिकृत रूपमा व्यापार गर्दै आइरहेका छन् । ती सामान पनि हटाएर सडक र फुटपाथ खाली गर्न निर्देशन दिएको नगर प्रहरी प्रमुख पाण्डेले बताए । ‘काठमाडौंको भित्री सहरका गल्ली र सडकहरू निकै साघुँरा छन्, ती पनि व्यापारीले खोसेका छन्,’ उनले भने, ‘हामीले त्यसलाई खाली गराउँछौँ ।’ उनका अनुसार बिहीबारसम्म फुटपाथ र सडक ओगटेर थापिएका पसल र सामान नहटाए महानगर प्रहरीले जफत नै गर्नेछ ।

ad
ad