मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भारतविरुद्ध पहिलोपटक जित निकालेपछि बंगलादेशका खेलाडी । तस्बिर सौजन्य : एन्फा
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २९ बुधबार ०६:५४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँ महिला साफ च्याम्पियनसिप : भारतविरुद्ध बंगलादेशको ऐतिहासिक जित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २९ बुधबार ०६:५४:००

भारतविरुद्ध जित निकाल्दै बंगलादेश महिला साफ च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ । जितसँगै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । एक खेलअघि नै दुवैै टोली अन्तिम चारमा प्रवेश गरिसकेका थिए । समूह विजेताका लागि मंगलबार भएको अन्तिम खेलमा साबिक विजेता भारत बंगलादेशविरुद्ध ३–० ले स्तब्ध भयो ।

पछिल्ला १० खेलमा भारत पहिलोपटक बंगलादेशसँग पराजित भएको हो । खेलको सुरुवातबाटै भारतविरुद्ध दबाब बनाएको बंगलादेशले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा एक गोल गर्‍यो । भारतविरुद्ध जित निकाल्ने क्रममा बंगलादेशका लागि मोसाम्मत सिरात जहान सोप्नाले दुई र श्रीमती कृष्णरानी सरकारले एक गोल गरिन् ।

मंगलबारको खेलसँगै बंगलादेश समूह ‘ए’को विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेका छन् । खेलपछि भारतीय प्रशिक्षक सुरेशकुमार क्षेत्रीले खराब दिनभन्दा पनि खराब प्रदर्शन भएको बताए । क्षेत्रीले अझै फाइनल प्रवेशको सम्भावना रहेको र नेपालविरुद्ध जितका लागि मिहिनेत गर्ने बताए ।

बंगलादेशका प्रशिक्षक गोलम रोब्बानी चोटोनले ४–५ वर्षको मिहिनेत भारतविरुद्ध देखिएको बताए । उनले यो ऐतिहासिक जितले खेलाडीको मिहिनेत देखिएको बताए । 

सोप्नाको दुई गोल 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशले १२औँ मिनेटमा सोप्नाको गोलमा अग्रता बनायो । १८ यार्ड बक्सबाहिरबाट कप्तान सविना खातुनले निकालेको ‘थ्रु’ बलमा सोप्नाले ‘फर्स्टटच’मै गोल गरिन् । खेलको २२औँ मिनेटमा कृष्णरानीले बंगलादेशको अग्रतालाई दोब्बर बनाइन् । कृष्णरानीले सोप्नाको पासमा भारतीय गोलरक्षक अदिती चौहानलाई जिल्याउँदै उत्कृष्ट गोल गरिन् । खेलको ५३औँ मिनेटमा कप्तान सविना खातुनको पासमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गरिन् । सोप्नाले भारतीय गोलरक्षक अदितीलाई बिट गर्दै टोलीलाई ३–० को जित दिलाइन् । 

सेमिफाइनलमा नेपाल र भारतको भेट
मंगलबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’बाट बंगलादेश विजेता हुँदा भारत उपविजेता भयो । समूह ‘बी’मा नेपाल समूह विजेता बन्दा भुटान उपविजेता भई अन्तिम चारमा प्रवेश गर्‍यो । अब फाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्नेछ । यस्तै, अर्काे खेलमा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेलहरू शुक्रबार हुनेछन् । 

हारे पनि हामी अझै उपाधिको रेसमा छौँ : सुरेशकुमार क्षेत्री प्रशिक्षक, भारत 

हामी अझै रेसमा छौँ । सेमिफाइनलमा थप मिहिनेत गरेर जित निकाल्नेछौँ । अब सेमिफाइनलमा नेपालसँग भेट हुनेछ । काठमाडौंमा नेपाललाई राम्रो समर्थन हुने नै छ । हामीले नेपालसँग यसअघि पनि खेलेका छौँ । नेपालविरुद्धको खेल सहज नभए पनि हामी जित्नका लागि खेल्छौँ ।

हामी यही दिनको पर्खाइमा थियौँ  : गोलम चोटोन प्रशिक्षक, बंगलादेश

आजको जित ४–५ वर्षदेखिको मिहिनेतको फल हो । हामीले इतिहास रचेका छौँ । बंगलादेशको फुटबल परिवर्तन भएको छ । समूह चरणमा माल्दिभ्स र पाकिस्तानविरुद्ध खेल्दा खेलाडीमा आत्मविश्वास थियो । त्यसैले पनि सहज भयो । हामी यही दिनको पर्खाइमा थियौँ । 

साफ च्याम्पियनसिपमा भारतको पहिलो हार 
महिला साफ च्याम्पियनसिपमा भारतले पहिलो हार बेहोरेको छ । भारत अघिल्ला पाँच संस्करणको च्याम्पियन हो । यसअघि विपक्षीविरुद्ध सधैँ वर्चस्व कायम राख्दै आएको भारत बुधबार भने बंगलादेशविरुद्ध निरीह बन्यो । भारतले बंगलादेशविरुद्ध पोस्टमा त्यस्ता कुनै राम्रो प्रहार बनाउन सकेन । हालसम्म भारतले फाइनलमा नेपाललाई चारपटक पराजित गर्दा बंगलादेशलाई एकपटक पराजित गरेको थियो । यस अवधिमा भारत कुनै पनि प्रतिद्वन्द्वीसँग पराजित भएको थिएन । 
चौथो संस्करणबाहेक बाँकी संस्करणमा भारत र बंगलादेशले समूह चरणमा एक–एकपटक भेट गरेका थिए । चौथो साफ च्याम्पियनसिपको समूह चरणमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । सन् २०१६ मा भारतले फाइनलमा बंगलादेशलाई ३–१ ले हराएको थियो । यस्तै, भारतले पहिलो, दोस्रो, तेस्रो र पाँचौँ साफमा बंगलादेशलाई क्रमशः ६–०, ३–०, ५–१ र ४–० ले पराजित गरेको थियो ।