मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २५ शनिबार
  • Thursday, 19 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
मञ्जु टेलर काठमाडाैं
२o७९ भदौ २५ शनिबार o६:oo:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

संक्रमण फैलिँदा सिटामोलको सधैँ संकट

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २५ शनिबार o६:oo:oo

स्वास्थ्य मन्त्रालय भन्छ– अभाव छैन, तर सरकारी अस्पतालमै पाइँदैन

डेंगु ज्वरोका बिरामी बढेसँगै केही दिनदेखि सिटामोल अभाव देखिन थालेको छ । देशका अधिकांश जिल्लामा फैलिएको डेंगु र अन्य संक्रामक रोगका कारण सिटामोल अभाव देखिन थालेको हो । उपत्यकाका अधिकांश अस्पतालमै समेत अहिले सिटामोल अभाव हुन थालेको छ । त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरूले नै पर्याप्त सिटामोट नभएको जनाएका छन् । 

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले नेपाल औषधि लिमिटेडले पर्याप्त सिटामोल नल्याएका कारण इन्डियन कम्पनीबाट ल्याएको बताए । ‘हामीलाई अहिले औषधि सप्लाई गरेको कम्पनीले अभाव हुँदैन भनेको छ, डेंगु यहाँ मात्रै फैलिएको हो, भारतमा फैलिएको छैन,’ उनले भने, ‘नेपालमा अभाव भए भारतबाट पनि ल्याउन सकिन्छ ।’ उनका अनुसार हाल त्रिवि अस्पतालमा ३६ जना डेंगुका बिरामी उपचाररत छन् । उपचारका लागि दैनिक डेढ सयजनासम्म बिरामी आउँछन् । 

अनावश्यक रूपले खरिद गर्दा सिटामोल अभाव : औषधि लिमिटेड
रुघाखोकी, ज्वरो, टाउको दुख्ने, दुखाइ कम गर्नेलगायत प्रयोजनमा सिटामोल प्रयोग हुन्छ । तर, कतिपयले अनावश्यक मात्रामा सिटामोल खरिद गरेर राख्दा बजारमा कृत्रिम अभाव हुने गरेको नेपाल औषधि लिमिटेडका प्रमुख दीपक तण्डुकारले बताए । 

सिभिल अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले डेंगुका बिरामी बढेकाले सामान्य अवस्थामा भन्दा सिटामोल खपत बढेको जनाए । तर, कोभिडको समयमा स्वास्थ्य सेवा विभागले अस्पताललाई दिएको सिटामोल बाँकी रहेकाले त्यसैलाई प्रयोग गरिएको उनको भनाइ छ । ‘हामीकहाँ पुरानै स्टक छ, तर फार्मेसीहरूमा अभाव भएको सुनिन्छ,’ उनले भने, ‘सामान्य अवस्थामा भन्दा अभाव हुनु स्वाभाविक हो, किनकि डेंगुका बिरामीले खाने नै सिटामोल हो ।’

वीरमा केही महिनालाई पुग्ने सिटामोल छ
वीर अस्पतालमा भने केही महिनासम्म सिटामोलको अभाव हुने अवस्था छैन । वीरले एक महिनाअघि मात्रै नेपाल औषधि लिमिटेडबाट एक लाख रुपैयाँमा डेढ लाख ट्याब्लेट सिटामोल खरिद गरेको थियो । उक्त सिटामोल अझै चार महिनालाई पुग्ने वीरका फार्मेसी विभाग प्रमुख श्यामु मण्डलले जानकारी दिए । उनका अनुसार डेंगु तथा भाइरलजन्य रोगका बिरामी बढ्न सक्ने भन्दै खरिद गरिएको थियो ।

 मन्त्रालय भन्छ– अभाव छैन 
स्वास्थ्य मन्त्रालयले भने सिटामोलको अभाव नभएको जनाएको छ । स्वास्थ्य मन्त्रालयमातहतका कार्यालय र स्वास्थ्य संस्थामा पर्याप्त सिटामोल रहेकाले आत्तिनुनपर्ने मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बताए । उनले आफूले औषधि व्यवस्था विभागका अध्यक्षलाई प्रत्येक दिन सिटामोल अभाव हुन नदिन निर्देशन दिइरहेको बताए । ‘उहाँहरू पनि अभाव छैन भन्नुहुन्छ, र हामीकहाँ स्टक सिटामोस पनि थुप्रै छ, त्यसैले अभाव छैन । तर, एउटै कम्पनीको चाहिँ नपाउन सक्छ,’ उनले भने । उनले इडिसिडीलाई सिटामोल अभाव भएका ठाउँमा पूर्ति गर्न पनि निर्देशन दिइरहेको बताए । 

सिटामोल सप्लाई बढाइसकेका छौँ : संघ
नेपाल औषधि उत्पादक संघले उपत्यकामा सिटामोल अभाव भएसँगै सप्लाई बढाएको जनाएको छ । उपत्यकाको माग धान्न अन्यत्रबाट समेत औषधि सप्लाई गरिरहेको र सोमबारसम्ममा बजारमा सहज हुने संघका अध्यक्ष विप्लप अधिकारीले बताए । उनी भन्छन्, ‘खपत एकैचोटि बढ्दा केही अभाव भएको जस्तो देखिएको हो । सोमबारसम्ममा उपत्यकामा सहजै सिटामोल पाइन्छ ।’

परामर्शविना औषधि प्रयोग नगर्न चिकित्सकको सुझाव
दुखाइ, ज्वरोको उपचारका लागि परामर्शविनै पारासिटामोल, फ्लेक्सनजस्ता औषधि प्रयोग गर्दा साइड इफेक्ट देखिन थालेको चिकित्सकहरूले बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘शरीर दुखाइ, पखाला, उच्च ज्वरो, बान्ता आदि लक्षणका लागि जीवनजल र सिटामोलजस्ता औषधि प्रयोगमा आइरहेका छन् । तर, सिटामोलले दुखाइ कम मात्र काम गर्छ । केही समयपछि पुनः दुखाइ सुरु हुन्छ ।’ यसकारण औषधिको प्रयोग आवश्यकताभन्दा बढी भइरहेको उनले बताए । चिकित्सकको परामर्शविना दुखाइ कम गर्ने औषधिको जथाभावी प्रयोग गर्दा साइड इफेक्टसमेत देखिइरहेको उनले बताए । 

उपत्यकाको सिटामोल अभाव कम गर्न नेपाल औषधि लिमिटेडले ५० लाख ट्याब्लेट उत्पादनको तयारी गरेको छ । अहिले वार्षिक १० करोड ट्याब्लेट सिटामोल माग रहे पनि संक्रमणजन्य रोग फैलिँदा औषधि अभाव हुन थालेको छ । 

डेंगुको जोखिम पुससम्मै
हाल नेपालमा डेंगु एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस नामको लामखुट्टेले डेंगु फैलाइरहेको चिकित्सकहरूको भनाइ छ । नेपालमा यसअघि धेरै मात्रामा एडिस एजिप्टाई लामखुट्टेको प्रभाव रहे पनि पछिल्ला दिनमा एडिस अल्बोपिक्टस नामक लामखुट्टे फैलिरहेको डा. पुन बताउँछन् । उनी भन्छन्, ‘यी दुवै प्रकारका लामखुट्टे एकैचोटि फैलिएकाले संक्रमण बढेको हो । यो वर्ष डेंगु संक्रमण छिटो देखिएको र अत्यधिक फैलिएका कारण मृत्युदर पनि बढेको हो ।’ यो वर्ष डेंगु संक्रमणको जोखिम पुस महिनासम्मै रहने चिकित्सकहरूको अनुमान छ । यद्यपि, मृत्युदर भने नबढ्ने उनीहरूले बताएका छन् । 

तीन लाख ट्याब्लेट उत्पादन, १० लाख माग 
हाल सरकारी औषधि कम्पनी ‘नेपाल औषधि लिमिडेट’ले दैनिक तीन लाख ट्याब्लेट सिटामोल उत्पादन गरिरहेको छ । तर, अहिले बजारमा दैनिक १० लाख ट्याब्लेटको माग छ । 

निजी र सरकारी अस्पतालको मागलाई धान्न मुस्किल परेको लिमिटेडका प्रमुख दीपक तण्डुकारले जानकारी दिए । उनका अनुसार दैनिक तीन लाख २० हजार मात्रै सिटामोल उत्पादन हुन्छ । तर, अहिले डेंगु तथा भाइरस इन्फेक्सनजन्य रोगका कारण सिटामोलको माग चर्को छ । जसका कारण अस्पतालहरूमा समेत औषधिको अभाव देखिनु स्वाभाविक रहेको उनी बताउँछन् । उनले भने, ‘मागभन्दा उत्पादन निकै कम छ ।’ निजी कम्पनीहरूले सिटामोल उत्पादनलाई प्राथमिकतामा राख्दैनन्, त्यसैले सरकारीलाई माग पूरा गर्न हम्मे–हम्मे पर्छ । लिमिटेडले हाल जीवनजल, सिटामोल, स्यानिटाइजर, डिस्टिल्ड वाटर मात्रै उत्पादन गर्दै आइरहेको छ । अस्पतालहरूले कम्पनीहरूसँग सिटामोल खरिद गर्दा प्रतिट्याब्लेट ८६ पैसा पर्छ । अस्पताल तथा फार्मेसीहरूले त्यसलाई एक रुपैयाँमा बेच्छन् ।