कम्बोडियाको कल सेन्टरमा चार महिना
काठमाडौंमा स्नातक तहको अध्ययन गरिरहेका महोत्तरीका २५ वर्षीय मुकेश ठाकुरलाई गत वर्ष कम्बोडियामा आकर्षक जागिरको प्रलोभन आयो । कम्प्युटरको सामान्य ज्ञान भए पुग्ने र मासिक एक लाखसम्म तलब हुने प्रस्तावमा उनी लोभिए ।
साथीमार्फत चिनजान भएकी राखी सिंहले उनलाई यस्तो प्रस्ताव राखेकी थिइन्, जसमा उनी राजी भए । सुरुमा भिजिट भिसामा लैजाने र पछि कामदार भिसा बनाई रोजगारी दिलाउने आश्वासन थियो ।
योजनाअनुसार नै गत वर्ष २७ चैतमा उनलाई भिजिट भिसामा त्यो समूहले सुरुमा दुबई पुर्यायो । त्यहाँ चार दिन बसेपछि उनलाई कम्बोडिया लगिएको थियो । त्यहाँ एक बंगलादेशी एजेन्ट विमानस्थलमा उनलाई लिन आए । तिनै एजेन्टले कम्बोडियाको सिहानुकभिल्ले भन्ने ठाउँको एउटा एकान्त घरमा मुकेशलाई पुर्याए । समुद्री तटछेउमा रहेको सो घर ठूलो कम्पाउन्डले घेरिएको थियो । भोलिपल्टदेखि त्यहीँ उनको जागिर सुरु भयो ।
सुरुको एक–दुई दिन उनलाई लाग्यो– राम्रै ठाउँमा आइपुगेँछु । तर, एक सातामै उनले चाल पाएँ– आफूले गरेको काम त अपराध पो रहेछ । केटीको नाममा नक्कली आइडी बनाएर अमेरिका, क्यानडालगायत देशका व्यक्तिहरूसँग च्याट गर्ने र प्रेमको नाटक गरेर उनीहरूबाट पैसा माग्ने काम थियो ।
चिनियाँ समूहले कल सेन्टरको नाममा चलाएको यस्तो आपराधिक काममा उनलाई पुर्याइएको थियो । ‘यो त सबै ठगी धन्दा रहेछ भन्ने थाहा पाएपछि मैले त्यहाँ काम गर्दिनँ भनेँ,’ ठाकुर भन्छन्, ‘त्यही दिनदेखि ममाथि यातना सुरु भयो ।’
त्यहाँबाट बाहिर निकालिदेऊ भन्दा आफूमाथि पटक–पटक करेन्ट लाउने तथा कुटपिट भएको उनी बताउँछन् । ‘१३ पटक त इलेक्ट्रिक सक लगाए, पानीको जारले हान्नेदेखि अनेक यातना दिन्थे,’ उनी भन्छन्, ‘चार महिनाको प्रयासपछि बल्लतल्ले बाँचेर त्यो नरकबाट बाहिर निस्कन पाएँ ।’ थाइल्यान्डस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, कम्बोडियालगायतको पहलमा उनको उद्धार भएको हो । बुधबार नेपाल आइपुगेका उनले मानव बचेबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् ।
गएकै दिनदेखि उनको पासपोर्ट र मोबाइल चिनियाँ गिरोहले खोसेर राखेको थियो । कम्बोडियामा रहेका बंगलादेशी एजेन्टले उनलाई तीन हजार पाँच सय ५० डलरमा बिक्री गरेका थिए । ‘तँलाई हामीले किनेका हौँ, बाहिर कसैसँग कुरा गरेको थाहा भए सीधै मारिदिन्छु भनेर धम्क्याउँथे,’ ठाकुर भन्छन्, ‘सँगै काम गर्ने एक कम्बोडियन साथीको मोबाइलबाट कहिलेकाहीँ परिवारलाई फोन गर्न पाउँथे ।’ त्यहाँ गाईको मासु खान दिने र चरम यातना हुने भएकाले आफू डिप्रेसनमा गएको उनी सुनाउँछन् ।
यातनाकै बीच उनले चार महिना काम गरे । तीन महिनाको न्यूनतम तलब पाए । नेपालस्थित एजेन्टलाई पनि निरन्तर दबाब दिए । उद्धारका लागि हारगुहार गरेपछि त्यहाँको प्रहरीले ‘नोटिस’मा लियो । त्यसपछि चिनियाँ गिरोहले सञ्चालन गरेको कल सेन्टरबाट उनलाई बाहिर जान अनुमति दिइएको थियो । अवैध रूपमा तीन महिना बसेकाले फर्कँदा उनलाई अध्यागमनले ६ सय ९० अमेरिकी डलर जरिवाना गराएको छ ।
चिनियाँ गिरोहले त्यहाँको प्रहरीलाई समेत प्रभावमा पारेर त्यसरी एकान्त ठाउँमा अवैध कल सेन्टर चलाएको उनले सुनाए । अन्य चिनियाँ कल सेन्टरमा प्रहरीले छापा हाने पनि आफू बसेको ठाउँमा कहिल्यै छापा नहानेको उनी बताउँछन् । उनलाई राखिएको घरको करिब पाँच किलोमिटर वरपर घर नभएकाले पनि भाग्नसमेत सम्भव नभएको उनी बताउँछन् । बन्धक बनाइएका कामदार भाग्न सक्ने भएकाले ‘कम्पाउन्ड’ पर्खालमा करेन्ट छाडिएको थियो । कम्बोडियासँग भियतनाम, बंगलादेश र चीनका व्यक्तिहरूले त्यसरी काम गर्दै आएको उनी सुनाउँछन् । त्यहाँ पाएको यातनाले अहिले पनि आफ्नो टाउको र आँखा निरन्तर दुख्ने गरेको ठाकुर बताउँछन् ।
विदेशीलाई अनलाइनमार्फत ठगी गर्ने चिनियाँ गिरोहले गोप्य रूपमा त्यस्ता अखडा चलाएका थिए । च्याट गर्ने क्रममा विदेशीले भिडियोमा कुरा गर्न चाहने हुँदा त्यसका लागि त्यहाँ युवतीसमेत राखिएका थिए । भिडियोमा कुरा गरेपछि मात्र उनीहरूले विश्वासमा परेर पैसा पठाउने गर्दथे । नेपाल फर्किएपछि ठाकुरले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् । उनले त्यहाँ जानका लागि तीन लाख आठ हजार रुपैयाँ बुझाएका थिए ।