१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ भदौ २३ बिहीबार ०५:५८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रेडियोथेरापी मेसिन नहुँदा टिचिङमा क्यान्सरका बिरामी पूर्ण उपचार सेवाबाट वञ्चित

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ भदौ २३ बिहीबार ०५:५८:००

त्रिवि शिक्षण अस्पतालमा रेडियोथेरापी मेसिन नहुँदा क्यान्सरका बिरामी पूर्ण उपचार सेवाबाट वञ्चित भएका छन् । अस्पतालले एक वर्षदेखि क्यान्सरका बिरामीको उपचार सुरु गरे पनि अत्यावश्यक मेसिन नहुँदा बिरामी रेडियोथेरापीका लागि निजीमा जान बाध्य छन् । 

हाल यहाँ क्यान्सरका बिरामीले किमोथेरापी र डाइग्नोसिस सेवा मात्रै लिन्छन् । रेडियोथेरापी मेसिन नहुँदा अस्पतालले बिरामीलाई अन्तै रिफर गर्ने गरेको छ । हाल त्रिवि शिक्षण अस्पताल, सुरेश वाग्ले स्मृति क्यान्सर सेवा केन्द्र्रअन्तर्गत क्यान्सरका बिरामीको उपचार हुँदै आएको छ । 

केन्द्रअन्तर्गत एक वर्ष अघिदेखि नै क्यान्सरका बिरामीको उपचार हुँदै आए पनि बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले केन्द्रको उद्घाटन गरेका छन् । मन्त्री खापुङले त्रिवि शिक्षण अस्पतालले क्यान्सरका बिरामीको पूर्ण उपचार सेवा सुरु गर्नुपर्ने बताए । 

बजेट अभावले मेसिन किन्न सकिएन : प्रा.डा. दिनेश काफ्ले कार्यकारी निर्देशक त्रिवि शिक्षण अस्पताल

बजेट अभावले रेडियोथेरापी मेसिन किन्न सकिएको छैन । मन्त्रालयले आर्थिक सहायता दिए मेसिन खरिद गरेर क्यान्सरको पूर्ण उपचार सेवा दिन सकिन्छ । चिकित्सकको संख्या पनि कम छ । उपचारका लागि चाहिने आवश्यक उपकरण पनि छैनन् ।

मन्त्री खापुङले क्यान्सरको सबैखाले उपचार सेवा सरकारी अस्पतालबाट प्रदान गर्ने सरकारको नीति रहेको भन्दै रेडियोथेरापी मेसिन खरिदका लागि सहयोग गर्ने वचन दिए । ‘क्यान्सरको उपचार महँगो छ, बिरामी ज्यान बचाउन लाखौँ खर्च गरेर निजीमा जाने गरेका छन्, कसैले सम्पत्तिसमेत बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसैले यस्ता घातक रोगको उपचार सरकारी अस्पतालमा सर्वसुलभ हुनुपर्छ, यसमा सरकारले विशेष चासो राख्नुपर्छ ।’ 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले बजेटको अभावले रेडियोथेरापी मेसिन किन्न नसकेको बताए । मन्त्रालयले आर्थिक सहायता दिए मेसिन खरिद गरेर क्यान्सरको पूर्ण उपचार सेवा दिइने उनको भनाइ छ । ‘हामीकहाँ उपचार पद्धति पूर्ण छैन, चिकित्सकको संख्या पनि कम छ,’ उनले भने, ‘र, यसका लागि चाहिने आवश्यक उपकरण पनि छैनन् ।’ 

०६९ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले उद्घाटन गरेपछि एक वर्षअघि मात्रै केन्द्रको भवन निर्माण भएको थियो । भवनको निर्माणपछि त्रिवि शिक्षण अस्पतालले क्यान्सरका बिरामीको उपचार सेवा सुरु गरेको थियो । उपचार सेवा सुरु गरेको एक वर्षपछि मात्रै केन्द्रको उद्घाटन गरिएको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार हाल क्यान्सर रोग पत्ता लगाउने (डाइग्नोसिस) र किमोथेरापी सेवा मात्रै अस्पतालमा उपलब्ध छ । 

केन्द्रमा हाल दैनिक तीन–चारजना बिरामीले किमोथेरापी गर्छन् । त्यस्तै, दैनिक पाँच–सातजनाले डाइग्नोसिस सेवा लिन्छन् । दैनिक १० जनासम्म बिरामीले ओपिडी सेवा लिने गरेको अस्पतालले जनाएको छ । केन्द्रमा सात डाक्टर र १२ जना नर्स छन् । कतिपय प्रशिक्षार्थी चिकित्सकले पनि काम गर्छन् । सेवा केन्द्रमा १२ वटा बेड छन् । 

पछिल्लो एक वर्षमा करिब चार हजार क्यान्सरका बिरामीले किमो तथा अन्य ओपिडी र डाइग्नोसिससम्बन्धी उपचार सेवा लिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए । उनले औपचारिक उद्घाटनपछि बिरामीको संख्या बढ्न सक्ने बताए । 

हाल उपत्यकाका अधिकांश सरकारी अस्पतालमा क्यान्सरसम्बन्धी उपचार सेवा छ । तर, धेरैजसोमा पूर्ण उपचार सेवा नहुँदा गम्भीर बिरामी निजी अस्पतालमा जान बाध्य छन् । पाटन, वीर, निजामती र भक्तपुर अस्पताललगायतमा रेडियोथेरापी र किमोथेरापीसहितको उपचार सेवा उपलब्ध छ । तर, ती अस्पतालमा पनि क्यान्सरको पूर्ण सेवा छैन । कतिपय सेवाका लागि बिरामी निजी अस्पताल जाने गरेका छन् । 

मन्त्री खापुङले गरे अस्पताल निरीक्षण 
सुरेश वाग्ले स्मृति क्यान्सर सेवा केन्द्रको उद्घाटन गर्न त्रिवि शिक्षण अस्पताल पुगेका स्वास्थ्यमन्त्री खापुङले बुधबार करिब ३ घन्टा बिताए । त्यस अवधिमा उनले अस्पतालको निरीक्षण पनि गरे । उनले उपचार सेवा प्रभावकारी बनाउनुपर्ने बताए । मन्त्री खापुङले सबै वार्ड व्यवस्थित रूपले सञ्चालन गर्न र बिरामीलाई उपचारमा नकुराउन अस्पताल प्रशासनलाई समेत निर्देशन दिए । देशभरका सबै बिरामी उपचारका लागि वीर र त्रिवि शिक्षण अस्पतालमै भरोसा गर्ने भएकाले यी अस्पताललाई सरकारले थप प्राथमिकतामा राखेको बताए । ‘यहाँ आउने बिरामीको संख्या धेरै हुन्छ, तर राम्रो उपचार नपाएको गुनासो पनि आउँछ, त्यसैले सरकारी अस्पताल जिम्मेवार हुनुपर्छ,’ उनले भने ।