Skip This
राष्ट्र बैंकलाई जग्गा बेचेर प्लान्ट मर्मत गर्ने हेटौँडा सिमेन्टको योजना
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २१ मंगलबार
  • Tuesday, 13 May, 2025
२o७९ भदौ २१ मंगलबार १८:४५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्र बैंकलाई जग्गा बेचेर प्लान्ट मर्मत गर्ने हेटौँडा सिमेन्टको योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २१ मंगलबार १८:४५:oo

आर्थिक स्थिति निरन्तर ओरोलो लागेपछि सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले जग्गा बेचेर प्लान्ट निर्माण गर्ने योजना अघि सारेको छ। हाल सञ्चालित प्लान्ट मर्मत गर्न र नयाँ प्लान्ट निर्माणका लागि रकम अभाव भएपछि हेटौँडा सिमेन्टले जग्गा बिक्री गर्ने योजना अघि बढाएको हो।

उत्पादन बढाएर मुनाफा आर्जन गर्न प्लान्ट मर्मत र नयाँ निर्माणका लागि रकम अभाव भएपछि जग्गा बिक्रीलाई उद्योगले प्राथमिकता दिएको हो। प्लान्ट मर्मतका लागि ८० लाखदेखि १ अर्ब र नयाँ प्लान्ट निर्माणका लागि ५ देखि ८ अर्ब रकम खर्चिनुपर्ने देखिएपछि रकम अभावमा उद्योगले नेपाल राष्ट्र बैंकलाई जग्गा उपलब्ध गराउन लागेको महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए।

उद्योगले राष्ट्र बैंकलाई ५ बिघा जग्गा उपलब्ध गराउने र त्यसबापत ८० करोड रकम लिने महाप्रबन्धक पाण्डेले जानकारी दिए। ‘उत्पादन बढाउन प्लान्ट मर्मत वा नयाँ निर्माण अनिवार्य भइसकेको छ। अहिले केही वर्षका लागि नयाँ प्लान्ट निर्माण गर्न नसकिने भएपछि मर्मतलाई प्राथमिकता दिइएको छ।’ उनले भने, ‘उद्योगलाई उकास्ने हो भने, यो उपाय अन्तिम हो, त्यसकारण जग्गा राष्ट्र बैंकलाई दिएर ८० करोड लिन खोजिएको हो,’ उनले भने।

राष्ट्र बैंकले हेटौँडा–९ लामसुरेस्थित प्रादेशिक कार्यालय राख्ने जानकारी पाएपछि उद्योगले आफ्नो जग्गा उपलब्ध गराउन प्रयास थालेको थियो। उद्योगको स्वामित्वमा रहेको लामसुरे हाइटस्थित रातो डाँडामध्ये ५ बिघा हाल दिइने र ८० करोड रकम लिएर प्लान्ट मर्मत अघि बढाउने महाप्रबन्धक पाण्डेले बताए।

राष्ट्र बैंकलाई जग्गा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट मूल्यांकन भइसकेको छ। जग्गाको स्वामित्व हस्तान्तरणका लागि उद्योग मन्त्रालयमा प्रक्रिया अघि बढाइएको छ। मन्त्रालयले उद्योगलाई साधारणसभाबाट जग्गाको स्वामित्व दिइनेबारे निर्णय गरेको प्रति उपलब्ध गराउन भनेपछि, उद्योगले साधारणसभा बोलाउने तयारी गरिसकेको छ।

साधारणसभाबाट पारित पत्र मन्त्रालयलाई उपलब्ध गराएपछि राष्ट्र बैंकलाई जग्गा स्वामित्व हस्तान्तरण गर्ने मन्त्रिपरिषद्बाट निर्णय हुने र उद्योगले ८० करोड रकम पाउने पाण्डेले बताए। प्लान्ट निर्माण र मर्मतका लागि राष्ट्र बैंकलाई जग्गा बेच्ने, करोडौँका कवाडी मेसिनरी सामानहरू लिलाम प्रक्रियाबाट बिक्री गर्ने, मन्त्रालयबाट अनुदान लिने र सफ्ट लोन लिने उद्योगले योजना अघि सारेको छ।

चार वर्षदेखि घाटा व्यहोर्दै

हेटौँडा सिमेन्ट उद्योगको तथ्यांकअनुसार उद्योगले निरन्तर चार वर्षदेखि घाटा व्यहोर्दै आएको छ। उद्योगले आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ सम्म ६५ करोड ४७ लाख १६ हजार ७ सय ८२ रुपैयाँ नोक्सान व्यहोरिसकेको छ। आर्थिक वर्ष ०७४/७५ देखि ०७८/७९ सम्ममा उद्योग चार वर्ष निरन्तर घाटामा छ। ०७४/७५ मा १६ करोड ३६ लाख ३ हजार ४ सय ९९ रुपैयाँ नाफा कमाएको हेटौँडा सिमेन्टले त्यसयता ०७८/७९ सम्म निरन्तर घाटा व्यहोरिरहेको हो।

निरन्तर नोक्सानकै कारण उद्योग धराशयी बनेपछि प्लान्ट तत्काल मर्मत गरेर उत्पादन बढाउने योजना अघि सारेको महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए। उनका अनुसार ०७४/७५ मा १६ करोड ३६ लाख ३ हजार ४ सय ९९ नाफा आर्जन गरेको उद्योग त्यसयता निरन्तर घाटामा छ।

०७५/७६ मा उद्योगले १ करोड ५ लाख ४१ हजार १ सय ३६, ०७६/७७ मा २३ करोड ८२ लाख २४ हजार, ०७७/७८ मा १७ करोड ४ लाख ४० हजार ६ सय ६९ र गत आव ०७८/७९ मा २३ करोड ५५ लाख १० हजार ९ सय ६९ रुपैयाँ घाटा व्यहोरेको छ।