मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १९ आइतबार ११:३७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्वच्छ हावाका लागि इन्डोर प्लान्ट्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १९ आइतबार ११:३७:००
दीपेन्द्र तुलाधर, गमला घरका सञ्चालक 

बढ्दो सहरीकरणले गर्दा मानिससँग पर्याप्त जमिन नै हुँदैन । प्रायः बजारमा तीन–चार आनामा बनेको घरमा गार्डेन, पार्किङ बनाउन असम्भव छ । त्यसैले अहिले नेपालमा इन्डोर प्लान्टप्रति मानिसहरू आकर्षित छन् ।

इन्डोर प्लान्टले घरको आन्तरिक सजावटमा सुन्दरता ल्याउँछ । घरको सजावटका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि यो उत्तिकै उपयोगी छ । घरको ढोकानजिक, भर्‍याङका कर्नर, कोठा, बरन्डालगायतमा बोटबिरुवा रोप्दा एकातर्फ शुद्ध हावा हुन्छ, अर्कोतर्फ घरको डिजाइन पनि आकर्षक देखिन्छ । घरमा बिरुवा रोपेर मात्रै हुँदैन, बिरुवालाई हुर्कन उपयुक्त वातावरण पनि चाहिन्छ । यसलाई  हावा, पानी, घामको तारतम्य मिलाउनुपर्छ । 

स्नेक प्लान्ट 
संसारमा स्नेक प्लान्ट विभिन्न थरीका पाइन्छन् । तर, नेपालमा २० किसिमका स्नेक प्लान्ट पाइन्छ । यो प्लान्ट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । स्नेक प्लान्टले रातमा अक्सिजन फाल्ने भएकाले सुत्ने कोठामा राख्दा राम्रो मानिन्छ । यो प्लान्टले वातावरणको हावा शुद्ध गर्छ भन्ने वैज्ञानिक मान्यता पनि छ । यसले तनावरहित र ऊर्जावान् बनाउन सहयोग गर्छ । यसको बिरुवा पहिले पानीमा उमारेपछि मात्र माटोमा सार्नुपर्छ । स्नेक प्लान्टलाई हेरचाह गर्न गाह्रो छैन । हल्का घामको आवश्यकता पर्छ, समय–समयमा यसका पात काटिरहनुपर्छ । महिनाको दुईपटक पानी हाल्दा पुग्छ । 

एरिका पाम 
एरिका तीन–चार फिटसम्म अग्लो हुन्छ । यो घरको भर्‍याङमा वा बैठक कोठामा गमलामा राख्दा उपयुक्त हुन्छ । यो ठूलो स्पेस भएको ठाउँमा राख्दा उपयुक्त हुन्छ ।  यसका लागि वर्षमा दुईपटक मल हाल्नुपर्छ । पानी पनि धेरै हालिराख्नु पर्दैन । प्लान्टको साइजअनुसर मूल्य पनि फरक–फरक हुन्छ । डेढ सयदेखि तीन हजार रुपैयाँसम्म आउँछ । ठूलो गमलामा राख्नुपर्‍यो भने ३५ सयसम्म बजारमा किन्न सकिन्छ । 

पिस लिली
पिस लिली ‘एयरप्युरफिाई’  प्लान्ट हो । यसले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । यो प्लान्टलाई आकर्षक देखिने भएकाले घरभित्रै सजाउन सकिन्छ । हरियो पात भएको यो बिरुवा सेतो रङको फुल्छ । फूल फुल्दा यसको सुन्दरता अझ बढी खुलेको देखिन्छ । यसलाई गमलामै रोपिन्छ । विशेष गरी घरको लिभिङ रुममा राख्दा अझ राम्रो देखिन्छ ।

 फिलोडेनड्रोन
यो बिरुवा सजिलैसँग रोप्न सकिन्छ । यो सदाबहार बिरुवा हो । यसको हेरचाह गर्न सजिलो छ । यसले कोठाको तापक्रमअनुसार आफूलाई ‘एडजस्ट’ गर्न सक्छ । यो प्लान्ट सधैँ सफा देखिन्छ । फिलोडेनड्रोन धेरै किसिमका पाइन्छ, झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । पानीको लेभल कम हुन नदिन वेलावेलामा हेर्नुपर्छ र पानी थपिदिनुपर्छ ।

पोथोस
यसले पनि हावा शुद्धीकरणको काम गर्छ । यसको बिरुवालाई विशेष गरी झ्याल,  सिँढी वा टेबल, र्‍याकमाथि राख्न सकिन्छ । यो लहरिएर जान्छ र फैलिन्छ । यसबाहेक चामाडोरा पाम, सिफोडिया पाम, फिलडल लिफ, रबर प्लान्ट, मोनेस्टेरा, फिलोडेन्ड्रनलगायत विभिन्न थरीका इन्डोर प्लान्ट प्रचलित छन् । सानो कदका इन्डोर प्लान्ट पिस लिली, एन्थोरियम, स्पाइकर प्लान्ट, डाइफेनवेसिया, मनी ट्री, जेड जेड प्लान्ट, लक्की बेम्बोहरू, बोन्साइ प्लान्ट, एग्लोनिया, पेडिलेन्यस, जेड प्लान्ट सालोम आदि विभिन्न थरीका बिरुवा पनि रोप्न सकिन्छ ।