मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ भदौ १९ आइतबार ०८:२१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौंका ११ सहकारी मर्जरमा

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ भदौ १९ आइतबार ०८:२१:००

काठमाडौंका ११ वटा सहकारीले शनिबार मर्जरको सम्झौता गरेका छन् । न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी, बालाजुस्थित मेगाड्रिम बहुउद्देश्यीय सहकारी, बागबजारस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी, चाबहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी, उषाकिरण बचत तथा ऋण सहकारी कलंकी, नयाँ बानेश्वरस्थित सूर्यदेव बचत तथा ऋण सहकारी, तारकेश्वरको योजना बहुउद्देश्यीय सहकारी, न्युरोडको हनुमानढोका बचत तथा ऋण सहकारी, दुर्गा मातृता बचत तथा ऋण सहकारी, पिपुल्स श्रोता बहुउद्देश्यीय सहकारी र माउन्ट अपि बचत तथा ऋण सहकारी एकीकरण हुने भएका हुन् ।

मर्जरपछि राष्ट्रिय बहुउद्देश्यीय सहकारी नामबाट कारोबार गरिने प्रस्ताव गरिएको छ । त्यस्तै, ५६ करोडबराबरको सेयर पुँजी हुने संस्थाको कारोबार सात अर्ब ६० कुल कारोबार हुनेछ । सहकारी विभागले ०७० जेठमा सहकारी संघ–संस्था एकीकरण कार्यविधि जारी गरेको थियो । कार्यविधिमा एकीकरणपछि बन्ने संस्थालाई कार्यक्षेत्र थप्ने र सेवा केन्द्र खोल्न दिने सुविधा दिएको छ ।  

सहरकेन्द्रित सहकारी
सहकारी विभागको तथ्यांकअनुसार ०७७/७८ सम्म प्रदेश नम्बर १ मा चार हजार सात सय ३७ सहकारी संस्था छन् । कुल सदस्य संख्या नौ लाख ३५ हजार सात सय छ । कुल सेयर पुँजी आठ अर्ब २० करोड रुपैयाँ छ । ४१ अर्ब २१ करोड बचत संकलन र ३८ अर्ब ९५ करोड रुपैयाँ कुल ऋण लगानी रहेको छ । 

प्रदेश नम्बर २ मा चार हजार एक सय ५३ सहकारी संस्था छन् । जसमा पाँच लाख ५५ हजार एक सय ९७ सदस्य संख्या छ । दुई अर्ब ३६ करोड कुल सेयर पुँजी छ भने २३ अर्ब १९ करोड रुपैयाँ कुल बचत संकलन रहेको छ । १५ अर्ब पाँच करोड रुपैयाँ ऋण लगानी छ । 

बागमती प्रदेशमा भने १० हजार चार सय १८ सहकारी संस्था छन् । २७ लाख १७ हजार चार सय ६९ सदस्य संख्या छन् । ५१ अर्ब ४० करोड रुपैयाँ कुल सेयर पुँजी छ । दुई खर्ब १४ अर्ब रुपैयाँ कुल बचत छ भने एक खर्ब ९९ अर्ब रुपैयाँ कुल ऋण लगानी छ । गण्डकी प्रदेशमा दुई हजार ६ सय ७१ सहकारी संस्था छन् । जसमा ११ लाख १६ हजार ६ सय ३२ सदस्य संख्या छ । २२ अर्ब पाँच करोड रुपैयाँ कुल सेयर पुँजी छ । ८६ अर्ब सात करोड रुपैयाँ कुल बचत संकलन भएको छ भने ८८ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी छ । 

लुम्बिनी प्रदेशमा सहकारीको संख्या तीन हजार सात सय ५५ छ । आठ लाख ९८ हजार ६ सय ११ सदस्य संख्या छ । पाँच अर्ब ८२ करोड रुपैयाँ कुल सेयर पुँजी छ । सहकारीहरूको कुल बचत ५९ अर्ब ९६ करोड छ भने ४० अर्ब ८० करोड रुपैयाँ ऋण लगानी छ ।

त्यस्तै, कर्णाली प्रदेशमा एक हजार नौ सय ६७ सहकारी संस्था छन् । सहकारीमा चार लाख चार हजार नौ सय ५६ सदस्य छन् । एक अर्ब ९१ करोड कुल सेयर पुँजी छ । सहकारीहरूको आठ अर्ब ८६ करोड रुपैयाँ बचत संकलन भएको छ भने सात अर्ब ९२ करोड रुपैयाँ कुल ऋण लगानी रहेको छ । सुदूरपश्चिम प्रदेशमा भने दुई हजार ६० वटा सहकारी संस्था छन् । जसमा पाँच लाख ४२ हजार नौ सय ८९ सदस्य छन् । दुई अर्ब एक करोड रुपैयाँ कुल सेयर पुँजी छ । १० अर्ब ४४ करोड कुल बचत संकलन छ भने ११ अर्ब ४९ करोड रुपैयाँ कुल ऋण लगानी भएको छ ।

नौ सहकारीबीच मर्जर सम्झौता
काठमाडौं र ललितपुरका नौवटा सहकारी संस्थाले एक–आपसमा मर्जर (गाभ्ने–गाभिने) सम्झौता गरेका छन् । गत शुक्रबार एक कार्यक्रमबीच न्युरोडस्थित जीवनदीप, कोटेश्वरको सदस्य सेवा सहकारी, कोटेश्वरकै शुभलाभ सहकारी, भोटाहिटीको शुभरत्न सहकारी, न्युरोडको अष्ट सहकारी, चाबहिलको एभरेस्ट सहकारी, चाबहिलकै सर्वोच्च समृद्धि बचत तथा ऋण सहकारी तथा कुमारीपाटीको गंगाजल र न्युरोडको हाम्रो सेवा बहुउद्देश्यीय सहकारीले मर्जरका लागि सम्झौता गरेका हुन् । मर्जरपछि सहकारी शुभसेवा बहुउद्देश्यीय सहकारी संस्थाको नामबाट कारोबार गर्ने सहमति भएको छ । एकीकृत संस्थाको अध्यक्ष यम्बर कार्की र कार्यकारी प्रमुखमा शीतलप्रसाद शर्मा रहनेछन् ।  

मर्जरपछि संस्थाको सेयर पुँजी २७ करोड २९ लाख ६५ हजार हुनेछ । संस्थाको कुल कारोबार ६ अर्ब ४९ करोड हुनेछ । चार अर्ब ८९ करोड ६५ लाख निक्षेप संकलन र पाँच अर्ब ३० करोड २८ लाख कर्जा प्रवाह हुनेछ । संस्थाका सदस्य ६१ हजार सात सय ४९ जना हुनेछन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले तरलता अभावलाई नियन्त्रण गर्न मर्जर अभियान उपयुक्त हुने बताए ।  

त्यस्तै, गत साता पाँचवटा सहरकारीबीच मर्जरको सम्झौता भएको छ । काठमाडौंस्थित आइडल यमुना बहुद्देश्यीय सहकारी, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण र घेदुङ बहुद्देश्यीय एक–आपसमा मर्ज हुने सम्झौता गरेका हुन् । सम्झौताअनुसार मर्जरपछिको नेसनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्थाको नामबाट संयुक्त कारोबार हुनेछ भने संस्थाका अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहनेछन् । 

मर्जरपछि संस्थाको कारोबार झन्डै १० अर्ब रुपैयाँ पुग्नेछ । संस्थाका अनुसार मर्जपछि बन्ने संस्थाको बचत पाँच अर्ब ६३ करोड ७० लाख रुपैयाँ हुनेछ । चार अर्ब ९९ करोड ४५ लाख ऋण तथा लगानी र कुल सम्पत्ति सात अर्ब ५८ करोड पुग्नेछ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीहरू एक–आपसमा गाभिँदा झनै बलियो संस्था बन्ने बताए ।