१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ई. सुवास पौडेल
२०७९ भदौ १५ बुधबार १५:१०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

‘दलीय क्रान्ति’ : युगको अन्तिम संघर्ष

Read Time : > 2 मिनेट
ई. सुवास पौडेल
२०७९ भदौ १५ बुधबार १५:१०:००

नेपालमा अहिले सबैजसो नागरिक कुनै न कुनै राजनीतिक रंगबाट अछुतो छैनन्। डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक, कर्मचारी, व्यापारी, मजदुर, किसान वा जोकोहीले पनि आफ्नो कार्यसम्पादन र जीविकोपार्जनमा ठाउँठाउँमा सिर्जना गरिने नक्कली असहजता, उल्झन र अवरोधहरू छिचोल्न कुनै न कुनै हिसाबले राजनीति गर्नुपर्ने वा राजनीतिकर्मीको साथ लिनुपर्ने बाध्यताजस्तो बनेको छ।

जबसम्म देश सिस्टममा चल्दैन, तबसम्म राजनीति सबैभन्दा ठूलो र सबैले गर्नैपर्ने पेसा भइरहन्छ। जब देशमा सिस्टमले काम गर्न थाल्छ, तब हुने काम आफैँ हुन्छ। नहुने काम जुनसुकै शक्तिकेन्द्रले चाहेर पनि हुँदैन भन्ने नागरिकमा पर्छ अनि मात्र राजनीति पेसा नभई सेवाभावमा परिणत हुनेछ। त्यसवेला बहुसंख्यक नागरिकलाई राजनीतिसँग खास सरोकार पनि हुनेछैन। निर्वाचनमा पैसाको चलखेल, अनावश्यक खर्च र किनबेच हुनेछैन। किनकि प्रत्येक व्यक्ति आफ्नो जीवनका सजिला र अफ्ठ्यारा पलहरू आफैँले सामना गर्न सक्षम हुनेछ। जो व्यक्तिलाई कसैको आस र त्रास रहँदैन, उसलाई कसैको साहरा आवश्यक पर्दैन। राज्यप्रति पूर्ण विश्वास हुनेछ। सुन्दा वा कल्पना गर्दै गर्दा मनै आनन्दित हुने त्यो दिन ‘कहिले र कसरी’ आउला ? आहिले राजनीतिक दल र नेताबाट जनताले यही प्रश्नको उत्तर खोजिरहेका छन्।

विगत केही वर्षदेखि देशमा तरंगित वैकल्पिक राजनीति व्यक्तिप्रधान नायकत्वको अभिमानबाट ग्रसित छ। चाहे रवीन्द्र मिश्र हुन् या रवि लामिछाने।आफूलाई केन्द्रमा राखेर नायकत्वको स्टन्ट गर्ने कुनै अमुख पात्रबाट देश परिवर्तन सम्भव हुँदैन। त्यस्ता पात्रहरू अहंकार र अभिमानबाट सिँञ्चित हुन्छन्।संरचनागत सुधार र सस्थागत सुशासनभन्दा सानातिना देखावटी कार्यमा आफूलाई इन्गेज गराएर मास/मिडियामा छाइरहने प्रवृत्ति उनीहरूमा हुन्छ। कोही नेता वा उम्मेदवारबाट नीति, कार्यक्रम, योजना, सपना, संकल्प, समाधान र परिणामका उपाय खोज्नुको साटो राम्रो अङ्ग्रेजी, अक्सफोर्ड वा हार्वर्ड अध्ययन, गज्जबको पत्रकारिता, हास्यव्यंग्य वा गायन आदिबाट निकै प्रभावित भई समस्या, पीडा र सहानुभूतिको वकालतबाट आकर्षित भएर अमुख पात्रलाई देशको नेतृत्वमा उपयुक्त देख्ने युवाहरूको भावनात्मक बहकावले पनि निकास निस्किँदैन।

एउटा व्यक्ति सुरुवाती कालखण्डमा अथाह सम्भावना, ऊर्जा र हुटहुटी बोकेर राजनीतिमा प्रवेश गर्छ। तर, सोही व्यक्ति पदमा पुगिसकेपछि किन डेलिभर गर्नबाट चुक्छ ? किन समाज परिवर्तन गराउने सामर्थ्य राख्दैन ? किन अस्ति र हिजो जुन अवस्थिति थियो त्यसमा तात्विक भिन्नता आउँदैन ? हाम्रो बहस यतातिर छैन। हामीले कहिल्यै समस्याको जड खोज्ने प्रयत्न गरेनौँ । हामी त केवल कोही व्यक्ति नायक बनेर आउला र जादुको छडी चलाउला भन्ने असम्भव र अमूर्त सपनाबाट ब्युँझिएकै छैनौँ।

खासमा हामीलाई बलियो व्यक्ति हाेइन, संस्थागत सुशासन, बलिया राज्य संरचना र उक्त संरचनाहरूमार्फत नियम–कानुनसम्मत हिसाबले स्वचालित प्रणालीबाट सर्भिस डेलिभरीको थिति बसाउने सोच र क्षमता राख्ने नेतृत्व चाहिएको छ। यही संसदीय प्रणालीमार्फत नै त्यस्तो सोच र क्षमता राख्ने नेतृत्व प्राप्त गर्न दलीय रूपान्तरण र पुस्तान्तरण अपरिहार्य सर्त हो। 

देशले कम्पिटेन्ट लिडर प्राप्त नगर्नु वा असल व्यक्ति नेतृत्वमा पुगेर पनि डेलिभर गर्न नसक्नुमा हाम्रो यथास्थितिको दलीय संरचना र नेतृत्व चयनको पद्धति सबैभन्दा बढी दोषी छ। हाम्रो दलीय प्रणालीबाट नेतृत्वमा पुग्न नातावाद, कृपावाद, गुटवाद र चाकडीवादको चरम अभ्यासमा चुर्लुम्म डुब्नुपर्छ।राजनीतिकर्मीको अधिकांश दिनचर्या, ऊर्जा र उमेर गुट निर्माण र विस्तारको घनचक्करमै रुमल्लिएर बित्ने गर्छ। त्यति नगरी नेतृत्वमा पुग्ने कुनै गुञ्जायस पनि हुँदैन। यस्तो अवस्थामा नेतालाई सार्वजनिक पदमा पुगेपश्चात् डेलिभर गर्नुपर्ने ‘के र कसरी’ भन्नेबारेमा अध्ययन, अनुसन्धान र योजना बनाउने फुर्सद कहाँ हुन्छ र ! न त दलले नै उनीहरूलाई त्यसबारेमा प्रशिक्षित गर्छ। यो पद्धतिले राजनीतिकर्मीलाई उसको क्षमता, ऊर्जा, काम गर्ने हुटहुटी र आत्मसम्मानको अधिकतम विसर्जन गराई निकै थकित र शिथिल बनाएर मात्र नेतृत्वमा पुर्‍याउने गर्छ। फलस्वरूप असल नियत, प्रचुर सम्भावना र सामर्थ्य बोकेर राजनीतिमा छिरेको कुनै व्यक्ति पदमा पुगिसक्दा डेलिभर गर्ने हिम्मत र हुटहुटी गुमाइसकेको हुन्छ। 

तसर्थ प्रत्येक १५-२० वर्षको अन्तरालमा राज्य व्यवस्था परिवर्तनका लागि क्रान्ति, संघर्ष, जय र पराजयको चक्रब्युहबाट बाहिर निस्की नया संविधानमार्फत प्राप्त उपलब्धिभित्रैबाट देशको अवस्था परिवर्तन गर्न सर्वप्रथम हाल मूलधारमा रहेका दलभित्रै क्रान्ति गर्नुपर्ने हुन्छ। विगत केही वर्षदेखि छचल्किरहेका दलीय वितृष्णाका सुरुवाती तरंगहरु उछालमा परिणत नहुँदै दलहरूले आफूलाई ‘रिफर्म’ गर्न तयार हुनुपर्छ। पटकपटक नेतृत्वमा पुगेर पनि डेलिभर गर्नबाट चुक्ने हाम्रो नियतिलाई बदल्न राजनीतिक दलभित्र महत्त्वपूर्ण तीनवटा ‘रिफर्मेसन’को जरुरी छ।

आफ्नो मतदाता आफैँ छान्ने र आफैँले छानेका मतदाताद्वारा आफू नेता बनिरहने प्रवृत्तिको अन्त्य गर्न सर्वप्रथम दलहरूलाई खुला सदस्यता प्रणालीमा लैजानुपर्छ भने दोस्रो जुनसुकै सार्वजनिक पदको उम्मेदवार बन्न प्राइमरी इलेक्सनको व्यवस्था गरौँ। यसो गर्दा दलभित्र आफ से आफ पुस्तान्तरण र रूपान्तरण हुन आउँछ। तेस्रो, प्रत्येक दलले निर्वाचनअगाडि नै आफ्नो प्रधानमन्त्रीको उम्मेदवार अनिवार्य तोकेर जाने व्यवस्था गर्नुपर्छ। प्रधानमन्त्रीको उम्मेदवारले पार्टीको घोषणापत्रसँगै आफ्नो भिजन, एजेन्डा र योजनाहरू लिएर जनतामा जान्छ र अनुमोदनका लागि मत माग्छ। अनि मात्र देशले काबिल र उत्तरदायी प्रधानमन्त्री प्राप्त गर्न सक्छ। अन्यथा प्रत्येक निर्वाचनपछाडि पार्टी र गुटमा जब्बर ढंगले रजगज गरेर बसेको व्यक्ति मात्रै प्रधानमन्त्री बन्ने परिस्थिति रहन्छ, जसलाई जनता र जनमतप्रति कुनै डर नै हुँदैन। तसर्थ, उल्लेखित दलीय रिफर्मेसनका प्रस्तावनाहरूले राजनीतिक दलमार्फत नै जनताले खोजेजस्तो ‘कम्पिटेन्ट लिडर’ प्राप्त गर्ने बाटो खुल्नेछ र यो नै राष्ट्र निर्माणको हाम्रो अभीष्ट पूरा गर्ने सबैभन्दा छोटो र सजिलो बाटो हुनेछ। तर, आफैँ आफ्नो सीमित मतदाता छानेर तिनैद्वारा आफू नेता बनिरहने प्रवृतिमा गज्जब ढंगले गुटगत रजगज गरेर बसिरहेका दलका नेतृत्वलाई आफ्नै घुँडामा बन्चरो हान्ने परिवर्तन ग्राह्य हुनेछैन। तसर्थ,  देशका तमाम युवापंक्ति जो जुनसुकै राजनीतिक दल वा आस्थामा आबद्ध छन्, आ–आफ्नो राजनीतिक दलभित्र ‘रिफर्मेसन’को अभियानमा गोलबद्ध भई जनता, जनमत र व्यवस्थाप्रति न्याय गर्न अपिल गर्दछु।