बिजनेस अभावले २२ साउनदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश १ को बर्खे अधिवेशन १७ भदौदेखि सुरु हुने भएको छ । प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार प्रकाशित गरेको सूचनाअनुसार २२ साउनदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको दशाैँ तथा बजेट अधिवेशनको २५औँ बैठक १७ भदौ शुक्रबारदेखि सुरु हुने भएको हो ।
प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभामा सरकारले पेस गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान र प्रदेश आमसञ्चार प्रतिष्ठान विधेयक विचाराधीन छन् । प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक पर्यटन तथा वातावरण समितिमा दफावार छलफल भइसकेको छ ।
तर, प्रदेश आमसञ्चार प्रतिष्ठान विधेयक न्याय प्रशासन तथा विद्यायन समितिमा अझै छलफलमै रहेको छ । सम्भवत विचाराधीन रहेका दुई विधेयक पारित भएपछि प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम अधिवेशन सरकारले अन्त गराउनेछ ।
सरकारले चालू अधिवेशनमै प्रदेशको नामकरण टुंगो लगाउने प्रतिबद्धता जनाए पनि दलहरूको संवादहीनताले पहिलो कार्यकालको जारी अधिवेशनमा प्रदेशको नामकरण हुने सम्भावना लगभग टरेको छ । किनभने अझैसम्म दलहरूले साझा सहमति बनाएर नामकरणबारे प्रदेश सभामा प्रस्ताव दर्ता गराएका छैनन् ।