सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना बनाउने गरी बिहीबार मात्रै समझदारी गरेको भारतीय कम्पनी एनएचपिसीले नेपालका थप दुई ठूला आयोजना पनि बनाउने गरी आवेदन दिएको छ, त्यसमध्ये फुकोट–कर्णालीबारे लगानी बोर्डले छलफलसमेत अघि बढाएको छ
हालै सात सय ५० मेगावाटको पश्चिम सेती र चार सय ५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना बनाउन लगानी बोर्डसँग समझदारी गरेको भारतीय कम्पनी एनएचपिसी नेपालका थप दुई ठूला जलविद्युत् आयोजना बनाउन पनि इच्छुक देखिएको छ । चार सय ८० मेगावाटको फुकोट–कर्णाली अर्धजलाशय र एक हजार नौ सय दुई मेगावाटको मुगु–कर्णाली जलाशययुक्त आयोजना बनाउन एनएचपिसी इच्छुक देखिएको हो ।
कम्पनीले गत बिहीबार मात्रै पश्चिम सेती र सेती नदी–६ आयोजना बनाउन लगानी बोर्डसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिसकेको छ । त्यसबाहेक फुकोट–कर्णाली र मुगु–कर्णाली आयोजना पनि बनाउने आशय देखाउँदै एनएचपिसीले लगानी बोर्डमा आवेदनसमेत दिइसकेको छ । एनएचपिसीले पश्चिम सेती र सेती नदी–६ सम्बन्धी समझदारी नहुँदै आवेदन दिएको हो । यदि, उक्त दुई आयोजना पनि पाएमा एनएचपिसीले नेपालमा कुल तीन हजार पाँच सय ८२ मेगावाटका चार जलविद्युत् आयोजना बनाउने देखिन्छ ।
विशेष गरि यसअघि फुकोट–कर्णाली र मुगु–कर्णाली आयोजना सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले बनाउने गरी प्रक्रिया अघि बढाएको थियो । तर, लगानी अभावलगायतका समस्या देखिएपछि उक्त दुई आयोजनामा पनि विदेशी लगानी तथा विकासकर्ता खोजिएको थियो । सोही क्रममा एनएचपिसीले उक्त दुई आयोजनासमेत बनाउने आवेदन दिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले थप दुई आयोजना बनाउने गरी एनएचपिसीबाट आवेदन आएको पुष्टि गरे ।
त्यसमध्ये फुकोट–कर्णाली आयोजनाबारे एनएचपिसीसँग वार्तासमेत अघि बढिसकेको लगानी बोर्डका एक उच्च अधिकारीले बताए । ‘फुकोट–कर्णाली पनि एनएचपिसीलाई दिने गरी वार्ता भइरहेको छ । त्यसका लागि हामीले एनएचपिसीलाई केही सर्त तथा माग राखेका छौँ,’ उनले भने, ‘तर, त्यसमा एनएचपिसी सहमत भइसकेको छैन । यद्यपि, छलफल भने जारी छ । यदि, एनएचपिसी हाम्रो सर्तमा सहमत भयो भने फुकोट–कर्णाली आयोजना बनाउन दिने गरी छिट्टै समझदारी गर्छौँ ।’
एनएचपिसीलाई पश्चिम सेती र सेती नदी–६ मा जेजस्ता सतर्हरू तोकिएका थिए, करिब त्यस्तै सर्तमा उक्त आयोजना बनाउन दिने सम्भावना रहेको स्रोतको भनाइ छ । स्थानीयलाई सेयर दिने, नेपालले निश्चित विद्युत् निःशुल्क पाउने, जमानत राख्नेलगायतका सर्तहरू राखेर एनएचपिसीलाई उक्त आयोजना दिन सकिने उनले बताए । यस्तै, एनएचपिसीका अध्यक्ष अभयकुमार (एके) सिंहले पनि भारतीय एक अनलाइन (लाइभमिन्ट डटकम)को अन्तर्वार्ता दिँदै नेपालको फुकोट–कर्णाली अर्धजलाशय जलविद्युत् आयोजना बनाउने गरी छलफल भइरहेको बताएका छन् । साथै, बिहीबार काठमाडौंमा सम्पन्न समझदारीपत्र हस्ताक्षर समारोहमा समेत उनले ऊर्जा विकासमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न चाहेको बताएका थिए । समग्रमा नेपालका थप जलविद्युत् आयोजनाहरूमा एनएचपिसी लगानी गर्न इच्छुक रहेको उनको भनाइ थियो ।
एक खर्ब ४५ करोड भारु चुक्ता पुँजी भएको एनएचपिसीले कुल ५० हजार मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये नेपालमा पनि ठूलो मात्रामा विद्युत् आयोजना निर्माण गर्ने इच्छा अध्यक्ष सिंहले देखाएका थिए । एनएचपिसीले हालसम्म भने सात हजार ७१ मेगावाटका विभिन्न २४ आयोजना सञ्चालनमा ल्याइसकेको छ । यस्तै, सात हजार पाँच सय ३९ मेगावाटका ११ आयोजना निर्माणका चरणमा छन् । यसका अलावा सात हजार ६ सय ५२ मेगावाटका आठ आयोजना क्लियरेन्सको पर्खाइमा छन् । दुई हजार तीन सय ८० मेगावाटका पाँच आयोजना भने सर्वेक्षणको चरणमा रहेको एनएचपिसीको वेबसाइटमा देखिन्छ ।
कुन आयोजना कस्तो ?
फुकोट–कर्णाली
९२ अर्ब तीन करोड रुपैयाँ लागत अनुमान गरिएको फुकोट–कर्णाली आयोजना कालिकोट जिल्लामा बन्नेछ । त्यसलाई कर्णाली प्रदेशकै गौरवको आयोजनाका रूपमा ल्याइएको छ । यस आयोजनामा कर्णाली नदीको पानीलाई सात सय ६४ मिटर लामो तथा आठ मिटर व्यास भएको सुरुङमार्फत सान्नी त्रिवेणी सिस्नेगडामा एक सय ८० मिटर अग्लो ड्याम बनाएर जम्मा गरिनेछ । उक्त बाँध ११ किलोमिटरसम्म फैलिनेछ । साथै, यस आयोजनाको विद्युत्गृह भने भौरेकुनामा बनाइनेछ । त्यसपछि ड्याममा जम्मा भएको पानी सोही विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ ।
उक्त आयोजनाबाट वार्षिक दुई हजार चार सय ४७ गिगावाट आवर विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । यस आयोजनाको विद्युत् डबल सर्किटको चार सय केभी प्रसारण लाइनबाट २.३ किलोमिटर टाढा रहेको रेलिङ सबस्टेसनमा जोडिनेछ । त्यसपछि उक्त विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । फुकोट–कर्णाली आयोजनाको जग्गा अधिग्रहण, सुरुङ खन्नेलगायतका काम भने सुरु भइसकेको छ । तर, लगानी अभावका कारण आयोजना निर्माणले गति लिन सकेको छैन । त्यसपछि भारतीय कम्पनीलाई उक्त आयोजना बनाउन दिन लागिएको हो । विद्युत् उत्पादन कम्पनीले सन् २०१७ मा यस आयोजना निर्माण अनुमति पाएको थियो । यो आयोजना बन्दा सात हजार युवाले रोजगारी पाउने अपेक्षा गरिएको छ । साथै, पर्यटन विकासमा पनि योगदान पुग्ने विश्वास छ । यो आयोजना बन्दा झन्डै एक हजार रोपनी क्षेत्र प्रभावित हुनेछ । विशेष गरी कालीकोटका सान्नी–त्रिवेणी, रास्कोटलगायतका स्थानीय तहका केही भागहरू डुबानमा पर्ने अध्ययनले देखाएको छ ।
मुगु–कर्णाली
मुगु–कर्णाली जलविद्युत् आयोजनाबारे विस्तृत जानकारी आइसकेको छैन । विद्युत् उत्पादन कम्पनीले सन् २०१८ मा एक हजार नौ सय दुई मेगावाटको मुगु–कर्णाली जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पाएको थियो । गत वैशाखमा मात्रै यस आयोजनाको पूर्व सम्भाव्यता सम्पन्न भएको छ । अन्तिम तथा पूर्ण सम्भाव्यता अध्ययनको काम भने सकिएको छैन । सम्भवतः अबको दुई–तीन महिनामा पूर्ण सम्भाव्यता अध्ययन सकिनेछ । त्यसपछि कर्णाली नदीमा बन्ने उक्त आयोजनाको विस्तृत जानकारी आउनेछ । आयोजनाको लागत अनुमान, आयोजना संरचना तथा स्वरूपबारे पनि त्यसपछि नै जानकारी हुने बताइएको छ ।