मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
समाचार डिजिटल संस्करण

निहारिका बलात्कार आरोपितलाई थुनामा राख्न अनुमति

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडौं
२०७९ भदौ १ बुधबार १५:१८:००

निहारिका राजपुत (सोनाली सिंह)  बलात्कारका आरोपित शिवराज श्रेष्ठमाथि अनुसन्धान गर्न बाटो खुलेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । 

हिजो साँझ पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले प्रहरीलाई गालीगलौज गरेपछि श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । 

‘हिजो प्रहरी सोधपुछ गर्न पुगेको थियाे । त्यही क्रममा उल्टै प्रहरीमाथि गालीगलौज गरेपछि पक्राउ गरिएको हो,’ डिएसपी क्षेत्रीले भने । 
प्रहरी उच्च स्रोतले भने १० दिनदेखि अनशनरत निहारिकाले न्याय नपाएसम्म अनशन नतोड्ने अडान राखेपछि गृह मन्त्रालयको दबाबमा धनुषा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पक्राउ परेको बलात्कार आरोपी श्रेष्ठलाई जिल्ला अदालत धनुषाले सफाइ दिएपछि फैसलाविरुद्ध निहारिका ६ महिनाअघि पुनरावेदन पुगेकी थिइन् । तर, अहिलेसम्म पेसी बस्न सकेको थिएन । 

निहारिकाले शुक्रबार राष्ट्रपति कार्यालयअगाडि आत्मदाह प्रयास गरेपछि सरकारले उनको मुद्दामा चासो देखाएको छ । सोमबार कानुनमन्त्री गोविन्द बन्दीले शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका थिए । न्याय दिलाउने प्रतिबद्धता जनाउँदै उनले अनशन तोड्न आग्रह गरे पनि निहारिकाले न्याय नपाएसम्म अनशन जारी राख्ने अडान राखेकी थिइन् । 

आरोपित श्रेष्ठले भने पक्राउ पर्नुअघि निहारिका र आफू प्रेम सम्बन्धमा रहेको, तर बलात्कार नगरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हिँडेका थिए । 

निहारिकाले धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर आफूलाई बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । तर, जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईले २४ माघ ०७८ मा जबर्जस्ती करणीको दाबी नपुग्ने भन्दै आरोपी श्रेष्ठलाई सफाइ दिएका थिए । 
यता, न्यायाधीश भट्टराईमाथि न्यायपरिषद्ले छानबिन थालिसकेको छ । अरू नै मुद्दाका कारण सर्वोच्च अदालत तानिएका उनीमाथि परिषद्ले यसबारे पनि सोधपुछ थालेको हो ।