मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७९ भदौ १ बुधबार ०६:२२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कम्बोडियाका चिनियाँ कल सेन्टरमा नेपाली युवाको तस्करी

चिनियाँ कम्पनीमा सयौँ नेपाली युवा दासका रूपमा कार्यरत, समस्यामा परेपछि उद्धारका लागि आग्रह

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७९ भदौ १ बुधबार ०६:२२:००

नेपाली युवालाई भिजिट भिसामा कम्बोडिया पुर्‍याएर त्यहाँ ‘मानव दास’का रूपमा बिक्री हुन थालेको छ । आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुगेका कतिपय युवा समस्यामा परेपछि आफ्नो उद्धारका लागि उनीहरूले आग्रह गरेका छन् । 

मानव बेचबिखनमा संलग्न समूहले कम्बोडिया पुर्‍याएर चिनियाँले सञ्चालन गर्दै आएको ‘कल सेन्टर’मा बन्धक बनाएर काममा लगाउने गरेका छन् । जहाँ अनलाइन जुवा तथा ठगीसम्बन्धी अवैध गतिविधि हुने गरेको छ । लाखौँ खर्च गरेर त्यहाँ पुगेकाको शोषणसमेत हुँदै आएको छ । त्यसमा परेका केही युवा हालै परिवार र गैरआवासीय नेपालीको सहयोगमा स्वदेश फर्किएका छन् । 

त्यसरी फर्किएकामध्ये एक हुन्– हेटौँडाका विश्वास अर्जेल । गत २ वैशाखमा अन्य दुई साथीसहित उनलाई मलेसिया हुँदै पर्यटक भिसामा कम्बोडिया पुर्‍याइएको थियो । त्यहाँ बन्धक बनाएर उनलाई चिनियाँको अनलाइन ठगीसम्बन्धी काममा लगाइयो । तीन महिना त्यसरी काम गरेका उनलाई जम्मा चार सय अमेरिकी डलर पारिश्रमिक दिइयो । बाहिर सम्पर्कसमेत गर्न नदिने र शोषण भएपछि उनी फर्कन चाहे । तर, आफूहरूले किनेको भन्दै उनलाई बाहिर जान दिइएन । ‘तिमीहरूलाई दुई हजार पाँच सय डलरमा हामीले किनेका हौँ, त्यो पैसा दियौ भने मात्र जान दिन्छौँ भने,’ अर्जेल भन्छन्, ‘त्यसपछि नेपालबाट पैसा मगाएर फर्किएको हुँ ।’ भिसाको म्यादसमेत सकिएकाले उनलाई त्यहाँको अध्यागमनले समेत पक्राउ गरी आठ सय डलर तिराएको थियो । अध्यागमनको समेत जरिवाना तिरेर गत २८ साउनमा उनी साथी शिरीष प्रधानसहित नेपाल फर्किएका हुन् । उनीसँगै गएका मीनबहादुर गुरुङ फर्कन सकेका छैनन् । त्यस्ता कल सेन्टरमा मानव दासका रूपमा चिनियाँले नेपालीलाई काममा लगाएको पीडितहरू बताउँछन् । 

चितवनका मनीष न्यौपानेमार्फत हेटौँडाका अर्जेल कम्बोडिया पुगेका थिए । उनले न्यौपानेलाई साढे सात लाख रुपैयाँ बुझाएका थिए । कम्बोडिया पुगेर थप पाँच लाख रुपैयाँ खर्च भएको उनले बताए । ‘म गएको त्यो कम्पनीमा मात्र करिब डेढ सय नेपाली कार्यरत छन्,’ उनी भन्छन्, ‘मलाई जस्तै त्यहाँ लगेर दुई हजार पाँच सय डलरमा बिक्री गरिएको रहेछ, अरू फर्कन सकेका छैनन् ।’ 

उनी कम्बोडियामा बन्धक बनेपछि परिवारले चितवनका सिडिओलाई निवेदन लेखेर उद्धारका लागि आग्रहसमेत गरेको थियो । जिल्ला प्रशासनले यस विषयमा विस्तृत छानबिन गर्न जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरे पनि प्रहरीले अनुसन्धानमा सक्रियता देखाएको छैन । 

काठमाडौंको शिरीष ट्राभलमार्फत यसरी सयौँ युवा भिजिट भिसामा कम्बोडिया पुगेका छन् । अध्यागमन कार्यालयमा समेत सेटिङ मिलाएर न्यौपानेलगायतले मानव तस्करी गरेको पीडितहरू बताउँछन् । न्यौपाने हाल फरार रहेको पीडित अर्जेलले बताए । पीडितले अध्यागमनमा समेत मिलेमतोको दाबीसहित छानबिनको माग गरेर अध्यागमन विभागमा समेत उजुरी गरेका छन् । त्यहाँ काम गरेपछि निस्कँदा गोपनीयताका लागि उनीहरूको मोबाइलसमेत फम्र्याट गरिदिने गरेको अर्जेल बताउँछन् । 

कम्बोडियामा चिनियाँले गोप्य कार्यालय राखेर अनलाइन जुवा तथा ठगीका धन्दा चलाउँदै आएको विगतदेखि नै खुल्दै आएको छ । तीन–चार वर्षअघि कम्बोडियामा कडाइ गरिएपछि उनीहरू नेपाल आएर यस्तो काम गरेका थिए । नेपालमा तीन वर्षअघि एकैपटक रेड हानेर एक सय २२ जना एकैपटक पक्राउ परेका थिए । उनीहरूलाई प्लेन चार्टर गरी चीनले आफ्नो देश लगेर कारबाही गरेको थियो । त्यस्तै काम गर्ने चिनियाँ समूहले नेपालीलाई कम्बोडिया लगेर दासी बनाउने गरेको खुलेको छ । 

कम्बोडियामा अलपत्र परेका नेपालीले थाइल्यान्डस्थित नेपाली दूतावासमा समेत उद्धारका लागि आग्रह गरेका छन् । कम्बोडियासमेत हेर्ने थाइल्यान्डका लागि नेपाली राजदूत गणेश ढकालका अनुसार त्यसरी अलपत्र परेकाको शीघ्र उद्धारका लागि सरकारलाई पत्राचार गरी पहल भइरहेको छ । ‘त्यसरी कम्बोडियामा पुगेका नेपाली ठ्याक्कै कति छन् भन्ने विस्तृत विवरण प्राप्त हुन सकेको छैन,’ उनी भन्छन्, ‘हामीकहाँ परेको निवेदनका आधारमा उद्धारको समन्वय भइरहेको छ ।’ 

कल सेन्टरका नाममा चिनियाँले सञ्चालन गरेका यस्ता गोप्य ‘अखडा’मा त्यहाँको प्रहरीले पटक–पटक छापा हान्दै आएको छ । गत अप्रिल १० र ११ मा कम्बोडिया प्रहरीले विभिन्न कल सेन्टरमा छापा हानी ६८ थाई कामदारको उद्धार गरेको थियो । त्यस्ता सेन्टरमा सबैभन्दा धेरै थाई नागरिक कार्यरत छन् । त्यस्तै, फिलिपिन्स, मलेसिया र इन्डोनेसियाका व्यक्तिलाई समेत आकर्षक रोजगारीको प्रलोभनमा पारेर कल सेन्टरमा लगी इन्टरनेटमार्फत हुने जुवा तथा ठगीका काममा लगाउने गरेको त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् । त्यस्तो समूहले पछिल्लो वैदेशिक रोजगारीको प्रलोभनमा नेपाली युवालाई लैजान थालेका हुन् । यसका लागि नेपालमा समेत दर्जनौँ एजेन्ट सक्रिय रहेको स्रोत बताउँछ । 

नेपालमै पनि अहिले चिनियाँ नागरिकले सञ्चालन गरेका गोप्य कल सेन्टरमा प्रहरीले छापा मारेर पटक–पटक पक्राउ गर्दै आएको छ । उनीहरूले कम्बोडियामा पनि लगेर त्यही शैलीको अपराधमा लगाउने गरेका हुन् ।