१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फाेटाे
रासस दाङ
२०७९ श्रावण ३१ मंगलबार २३:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङमा एक वर्षमा दुर्घटनाबाट ९५ को मृत्यु

Read Time : > 1 मिनेट
रासस, दाङ
२०७९ श्रावण ३१ मंगलबार २३:३६:००

गत  २२ कात्तिकमा तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा.१ज ४३८ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका– ४ श्रीखोलामा दुर्घटनाग्रस्त हुँदा चारजनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठजना गम्भीर घाइते भए । मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका– ३ का एकै गाउँका थिए ।  

गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा.३प २९१२ नम्बरको मोटरसाइकलले घोराही उपमहानगरपालिका– ७ को बेसाहीमा तीनवटा साइकललाई ठक्कर दिँदा साइकलचालक सोही ठाउँका १६ वर्षीय रितेश केसी र मोटरसाइकलमा सवार घोराही– ७ कै ४४ वर्षीया गंगा कुँवरको घटनास्थलमा ज्यान गयो । मोटरसाइकलचालक र अन्य दुईजना साइकल गम्भीर घाइते भए ।

वास्तवमा यी त उदाहरण मात्र हुन् । जिल्लामा हुने सवारी दुर्घटनाका कारण धेरै नागरिकले ज्यान गुमाउन पुगेका छन् । 

दाङमा गएको आर्थिक वर्ष ०७८–७९ मा  दुई सय तीन सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले उपलब्ध गराएको तथ्यांकअनुसार ती दुर्घटनामा परी एक सय ९५ गम्भीर घाइते भएका छन् । 

दुर्घटनामा दुई सय ८२ सवारीसाधन संलग्न रहेका छन् । तीमध्ये सबैभन्दा बढी दुर्घटना हुने सवारीसाधनमा मोटरसाइकल एक सय ३८, बस २७, ट्र्याक्टर १६, जिप तथा कार ३२ रहेका छन् । 

त्यस्तै, टेम्पो तथा अटोरिक्सा १८, ट्रक १७, टिपर १२, माइक्रोबस दुई, साइकल १९, डोजर १२ वटा रहेका छन् । दुर्घटनाको अनुसन्धान गर्दा सबैभन्दा बढी तीव्र गतिबाट एक सय ४४, मादक पदार्थ सेवन गरी गाडी चलाउँदा २३, चालकको लापरबाहीबाट १५, यात्रुगल्ती चार, सडकको अवस्थाका कारण तीन, यान्त्रिक गडबडी सात, ओभरटेक गर्दा दुई, मौसमका कारण एक रहेका छन् । आर्थिक वर्ष ०७७–७८ मा दुई सय ७९ वटा दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक झवीन्द्र परियार तीव्र गतिमा गाडी चलाउनु, सवारीसाधन चुस्त दुरुस्त नराख्नु, सडकको अवस्थाबारे जानकारी नलिनु, मापसेलगायतका कारणले दुर्घटना बढेको बताउँछन् । सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा चालक तथा सहचालकलाई प्रशिक्षण तथा विद्यालयमा सचेतनामूलक कार्यक्रम पनि गरिरहेको उनको भनाइ छ ।