१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Monday, 12 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ श्रावण २९ आइतबार १२:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमा अपराध नियन्त्रण गर्न प्रदेश १ का तीन जिल्लामा  ‘लङमार्च पेट्रोलिङ’

गस्तीबाट फर्केको टोलीको प्रतिवेदनका आधारमा थप कार्ययोजना बनाइने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १२:१७:oo

भारतीय सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रदेश १ प्रहरी कार्यालयले लामो दूरीको सशस्त्र प्रहरी गस्ती (लङमार्च पेट्रोलिङ) परिचालन गर्न थालेको छ।

भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरी जिल्लाका सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधिको रोकथाम तथा नियन्त्रणका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले २० साउनदेखि हातहतियारसहितको लङमार्च पेट्रोलिङ परिचालन गर्न थालेको हो।

पहिलो चरणमा मोरङमा वरिष्ठ सइ र सुनसरीमा सइको नेतृत्वमा २० देखि २५ साउनसम्म १०–१० जनाको सशस्त्र प्रहरी टोलीले लङमार्च गस्ती गरेको थियो। कोसी कटान समस्याले गर्दा झापामा भने टोली भर्खरै परिचालन हुने तयारीमा रहेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले बताए। उनका अनुसार लङमार्च गस्तीमा खटिएका टोलीलाई सीमा क्षेत्रमा रहेका सम्बन्धित युनिटले खाना र वासको व्यवस्था मिलाउनुपर्नेछ।

प्रदेश १ को तराईमा रहेका जिल्लाको सीमावर्ती क्षेत्रमा नाकामा स्थापना भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले गस्ती गर्दै आएका छन्। सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका इलाका र चौकीमार्फत आपराधिक कार्य पूर्ण रूपमा नियन्त्रण हुन नसकेपछि थप मद्दतसमेत हुने गरी लामो दूरीको गस्ती सुरु गरेको डिआइजी गिरी बताउँछन्। उनका अनुसार  लामो दूरीको गस्ती गरेर फिर्ता आएको  टोलीको प्रतिवेदनको आधारमा थप कार्ययोजना बनाएर निरन्तर सीमा क्षेत्रमा लङमार्च पेट्रोलिङ निरन्तर परिचालन भइरहने छ।’

प्रदेश १ को झापा, मोरङ र सुनसरीमा भारततर्फ जम्मा दुई सय ७० किलाेमिटर खुला सीमाना छ। जसको फाइदा उठाउँदै लागुऔषध र साना हतियार ओसारपसार, मानव बेचबिखन तथा चोरीतस्करी अपराध हुँदै आएका छन्।