१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २९ सोमबार १५:३o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

घरभाडामै काठेखोला गाउँपालिकाको ६० लाख खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार १५:३o:oo

बागलुङको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ । जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुंगो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ । मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ ।

लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छ भने दुई पालिकाको भवन निर्माणको चरणमा छन् । तर, काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुंगो लगाउन नसकेको हो ।

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका– २, अछेतेका स्थानीय गणेशबहादुर भण्डारीले बताए । उनले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुंगो लगाउन नसकेको बताए ।

गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुंगोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो ।

नौ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरैपटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लोपटक कार्यपालिकाको बैठकले वडा नं. ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो । सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।