सातै प्रदेशमा आइएमई लाइफ इन्स्योरेन्सको स्वास्थ्य शिविर

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसर पारेर देशका सातवटै प्रदेशमा बृहत् स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशमा गरेको स्वास्थ्य शिविरबाट एक हजार तीन सयजना सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले सातै प्रदेशका आठ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । उनका अनुसार प्रदेश १ को सुनसरी चक्रघट्टीमा आँखा शिविर सञ्चालन गरिएको थियो । त्यस्तै, मधेस प्रदेशको बारा, कलैयामा दन्त शिविर, बागमती प्रदेशको चितवन, नारायणघाटमा पाठेघरको मुखको क्यान्सर शिविर कार्यक्रम गरिएको थियो । नारायणघाटमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा शिविर आयोजना गरिएको कम्पनीले जनाएको छ । 

त्यस्तै, गण्डकी प्रदेशको लमजुङ, सोतिपसलमा जनरल स्वास्थ्य जाँच शिविर, लुम्बिनी प्रदेशको गुल्मी र बाँकेको राप्ती सोनारीमा आँखा शिविर सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशको सुर्खेत, गुमीमा महिला स्वास्थ्य शिविर तथा सुदूरपश्चिम प्रदेशको कैलाली, टीकापुर–नारायणपुरमा पनि जनरल स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको कम्पनीले जनाएको छ । 

त्यस्तै, शुक्रबार देशभर गरिएको रक्तदान कार्यक्रममा पाँच सय ७१ जनाले रक्तदान गरेको जनाइएको छ । यसका साथै शनिबार गरिएको अभिकर्ता तालिममा सहभागी सात सय ४८ जनालाई तालिम दिई प्रमाणपत्र पनि वितरण गरिएको कम्पनीले जनाएको छ । 

०७४ भदौ १ गतेदेखि कारोबार सुरु गरेको इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानीलगायत ग्राहकका विभिन्न आवश्यकतासँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बिमा योजना प्रदान गर्दै आइरहेको जनाएको छ । आफ्ना ग्राहकलाई सर्वसुलभ पहुँच, उत्कृष्ट बिमा लेखन, झन्झटमुक्त दाबी र व्यवसायअनुकूलको समाधान गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

जीवन बिमाबारेमा जनचेतना अभिवृद्धि गर्ने, जीवन बिमा सुविधाका माध्यमबाट ग्राहकको वित्तीय सुरक्षालाई बढवा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ काम गरिरहेको कम्पनीले जनाएको छ । 

सुझावित समाचार