मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ श्रावण २७ शुक्रबार ०८:१६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वामगठबन्धनको विकल्पमा ओली नरम !

सिट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखसहितको राजकीय शक्ति बाँडफाँड अभिन्न रूपले जोडिएकाले अहिलेको सत्तागठबन्धन कुनै पनि वेला भत्किन वा तोडिन सक्ने एमालेको आकलन

Read Time : > 3 मिनेट
२०७९ श्रावण २७ शुक्रबार ०८:१६:००

एमाले अध्यक्ष केपी ओलीले पार्टीले वामगठबन्धनका लागि ढोका खुला राखेर अघि बढ्ने संकेत गरेका छन् । ४ मंसिरको आमनिर्वाचनको तयारीसँगै प्रारम्भिक रणनीति तय गर्न बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीले अहिलेको गठबन्धन भत्किन सक्ने सम्भावनालाई कायम राख्दै वामगठबन्धनको ढोका भने खुलै राखेर अघि बढ्ने चुनावी रणनीतिको संकेत गरेका हुन् । ओली पाँचदलीय सत्तागठबन्धनप्रति आक्रामक छन् । 

अहिल्यै एमालेको नेतृत्वमा अर्को गठबन्धन बनाउने निर्णय नगर्ने, तर सम्भावित विकल्पलाई खुला राख्ने ओलीको भनाइ छ । ‘सत्तारूढ गठबन्धन तोड्नुपर्छ, अर्को गठबन्धन गर्नुपर्छ भनेर गीत गाउने विषय होइन, झ्याली पिटाउने पनि होइन,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘गठबन्धन सिद्धान्तनिष्ठ र उद्देश्यमूलक हुनुपर्छ । सिद्धान्तविहीन, पहिचानविहीन ढंगले र नीतिविहीन गठबन्धनले उद्देश्य हासिल गर्न सक्दैन र परिणाममुखी पनि हुँदैन, एमाले जहिले पनि सिद्धान्त, नीति र उद्देश्यलाई प्राथमिकतामा राखेर अगाडि बढ्छ ।’ 

उनको पछिल्लो अभिव्यक्तिलाई सचिवालयका अधिकांश नेताले एमालेको नेतृत्वमा बन्न सक्ने वामगठबन्धनप्रति ओली बिस्तारै नरम बन्दै गएको अथ्र्याएका छन् । तर, ओलीले वाम पार्टीमध्ये कुन दलसँग वा मधेस आधारित पार्टीमध्ये कुन दलसँग गठबन्धन हुन सक्छ भनेर प्रस्ट बैठकमा राखेनन् । बैठकमा ओलीले ‘एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न पनि सक्छ, एक्लै लड्नुपर्ने पनि हुन सक्छ ।  

सिट बाँडफाँटसँगै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखसहितको राजकीय शक्ति बाँडफाँट अभिन्न रूपले जोडिएकाले अहिलेको सत्तागठबन्धन कुनै पनि वेला भत्किन वा तोडिन सक्ने एमालेको आकलन छ । सत्तारूढभित्र पनि विशेषतः कांग्रेस र माओवादी केन्द्रले बढी सिटका लागि दाउपेच गर्दा एकीकृत समाजवादीसहितका अरू दल उपेक्षामा पर्न सक्ने भएकाले वैकल्पिक गठबन्धन वा तालमेलका लागि एमालेले पनि आन्तरिक रूपमा प्रयत्न गर्नुपर्ने मत बलियो बन्दै गएको छ ।

पछिल्लो त्यही मनोविज्ञान सम्बोधन गर्ने गरी ओलीले पार्टीको नेतृत्वमा बन्न सक्ने अर्को सम्भावित गठबन्धनप्रति नरम अभिव्यक्ति दिएको एक सचिवालय सदस्यले बताए । ‘पार्टी अध्यक्षले धेरै लामो त बोल्नुभएन, तर केही नयाँ र सांकेतिक रूपमा महत्वपूर्ण कुरा गर्नुभयो,’ ती नेताले भने, ‘उहाँका अभिव्यक्तिको सार एमालेले पनि गठबन्धन गर्ने हो कि क्या हो । तोड्ने भनेरै त नजाऊँ, तर सकिन्छ भने त गरौँ न भन्ने नरम कुरा नै थियो ।’ ओली प्रत्यक्षमा सम्पर्कमा नरहे पनि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, पार्वत गुरुङ, महेश बस्नेतलगायतका दोस्रो तहका कतिपय नेता माओवादी केन्द्र र एकीकृत समाजवादीका नेतासँग मात्र होइन, मधेसकेन्द्रित दलका नेतासँग पनि सम्पर्कमा छन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेता पनि एमाले नेतासँग अनौपचारिक संवादमै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी पाँचदलीय गठबन्धनबीच तालमेल गर्ने निर्णयमा सहभागी भइसकेका छन् । तर, ती दुवै दलमा केही नेता भने वामठबन्धनको पक्षमा उभिएका छन् । पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परिरहेका वेला महन्थ ठाकुर नेतृत्वको लोसपा, डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानसहित थप तीन पार्टीलाई पनि त्यहीँभित्र अडिन सक्ने अवस्था नरहेको एमालेको बुझाइ छ ।

एमालेले आफ्नै बलमा आमनिर्वाचन लड्ने, तर सत्तारूढ गठबन्धन छाडेर आएको अवस्थामा राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरण, सामाजिक आर्थिक रूपान्तरणसहित समाजवादको आधार निर्माण, मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको रक्षालगायतका एजेन्डा मिल्ने कुनै पनि दलसँग सहकार्य वा तालमेल गरेर जान भने तयार रहेको बताउँदै आएको छ । उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने बैठकमा गठबन्धनका विषयमा चर्चा र छलफल नै नभएको बताए । ‘बैठकले चुनावी तयारीका लागि निर्वाचन परिचालन कमिटी र निर्वाचनको घोषणापत्रको तयारीका लागि मस्यौदा समिति बनाएको छ,’ गुरुङले भने, ‘यो बैठकमा गठबन्धनका बारेमा चर्चा वा छलफल केही पनि भएन ।’

बैठकमा जिल्ला र प्रदेशले पठाएको एक सय ६५ ओटा निर्वाचन क्षेत्रको शक्तिसन्तुलनसम्बन्धी विश्लेषण समेटिएको प्रतिवेदनको गहिरोसँग अध्ययन गरेर कमजोरी सच्याउने गरी चुनावी तयारी अगाडि बढाउनुपर्ने ओलीले भनाइ राखेका थिए । ०७४ को चुनावी परिणाम, पछिल्लो स्थानीय चुनावमा पाएको मत, विभाजनको असरसहित समेटिएको प्रतिवेदन जिल्ला र प्रदेशहरूले केन्द्रीय कार्यालयमा पठाएका छन् । ओलीले तिनै प्रतिवेदनमा आधारित भएर कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा के कमजोरी छ, त्यहाँ के गर्ने र कसरी कमजोरी सच्याएर अघि बढ्ने भन्ने गरी रणनीति बनाएर एकताबद्ध भएर पार्टी चुनावमा होमिनुपर्ने बताएका थिए । 

बैठकले एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूसहितलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । जसअनुसार अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा माओवादीका पूर्व केन्द्रीय सदस्य दाङका जीवन गौतम र माओवादीकै पूर्वपोलिब्युरो सदस्य स्याङ्जाका धर्मदत्त देवकोटालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । त्यस्तै, जसपाबाट प्रवेश गरेका कपिलवस्तुका ब्रजेशकुमार गुप्ता, कांग्रेसबाट प्रवेश गरेका महासमिति सदस्य झापाका अमृत राजवंशी पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् भने कांग्रेसकै महासमिति सदस्य बाग्लुङका नवराज पौडेल केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत भएका छन् । 

ओलीको नेतृत्वमा चुनावी परिचालन कमान्ड,
 पोखरेलको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार निर्वाचन परिचालन कमिटीमा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, प्रदेशका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिव रहनेछन् । सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा आठ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरू मस्यौदा कमिटीमा सदस्य छन् । सचिवालय बैठकले ७ भदौमा स्थायी समिति, ९ मा पोलिटब्युरो र १० र ११ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै, बैठकले नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पास गरेको छ ।