मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार ०५:५३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वायुसेवा निगमको न्यारोबडी जहाज १२ दिनदेखि ग्राउन्डेड, दैनिक करोडभन्दा बढीको व्यापार गुमाउँदै

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ श्रावण २६ बिहीबार ०५:५३:००
  • एयरबस– ३२० को दायाँ इन्जिनमा समस्या देखिएपछि १५ साउनदेखि ग्राउन्डेड, दुई साइकल (उडान–अवतरण) मात्र बाँकी
  • ग्राउन्डेड भएको १२ दिन हुँदा पनि मर्मत र अर्को इन्जिन भाडामा ल्याउन प्रक्रिया थालिएन
  • अन्तर्राष्ट्रिय उडान तालिका अस्तव्यस्त 
  • बायाँ इन्जिन भाडामा लिइएको हुँदा जहाजले उडान नगरे पनि दैनिक दुई हजार अमेरिकी डलर भाडा तिर्नुपर्छ
  • यसअघि २८ डिसेम्बर २०२१ मा बायाँ इन्जिनमा समस्या आएपछि ७० दिनसम्म कतारमा अलपत्र परेको थियो 
  • ९० दिनलाई भाडामा लिएको इन्जिन पाँच महिना नाघिसक्दा पनि फिर्ता गरिएन
  • कतारमा बिग्रिएको इन्जिन सात महिनासम्म पनि मर्मत नहुँदा निगमलाई भाडाको इन्जिनको आर्थिक भार
  • इन्जिनको भाडा, उडान घन्टा र साइकल बापत निगमले दैनिक पाँच हजार ८७६ अमेरिकी डलर भाडा तिर्दै 
  • समयमा इन्जिन नबन्दा निगमले २५ साउनसम्म भाडाको इन्जिनलाई करिब १० करोड ३८ लाख रुपैयाँ तिर्नुपर्‍यो 
  • अर्को इन्जिन पनि भाडामा ल्याएर जहाज उडाउँदा दुई इन्जिनको मात्रै दैनिक १५ लाख भाडा मात्रै तिर्नुपर्ने

‘सगरमाथा’ नाम दिइएको नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस– ३२० (९एन–एकेडब्लु) दायाँ इन्जिनमा समस्या देखिएपछि १२ दिनदेखि ग्राउन्डेड छ । जसका कारण निगमले दैनिक करिब एक करोड आम्दानी गुमाइरहेको छ । तर, इन्जिन मर्मत गरी उडान नियमित गर्न व्यवस्थापनले चासो दिएको छैन । 

नियमित उडान अस्तव्यस्त हुँदा निगमको अन्तर्राष्ट्रिय साख पनि गुमेको छ । निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले २१ दिनसम्मका लागि आफैँ निर्णय गरेर तत्काल भाडामा इन्जिन ल्याउन सक्छन् । तर, उनले त्यसका लागि चासो देखाएका छैनन् । 

यसअघि २८ डिसेम्बर २०२१ मा पनि यही जहाज कतारमा अवतरण गरेर पार्किङतर्फ लैजाँदा बायाँ इन्जिनमा समस्या देखिएपछि दोहामै ७० दिन ग्राउन्डेड भएको थियो । सो इन्जिन बिग्रिएको सात महिना नाघिसक्दा पनि अझै मर्मत भएको छैन । त्यतिवेला पनि व्यवस्थापनले मर्मत गर्न र अर्को इन्जिन ल्याउने निर्णय समयमै नगर्दा निगमले करोडौँको व्यापार गुमाउनुपरेको थियो । निगमले बायाँ इन्जिन मर्मत गर्न इजरायली कम्पनी आइएआईलाई दिएको छ । तर, सो कम्पनीले तोकिएको समयमा इन्जिन मर्मत नगरिदिँदा निगमलाई दैनिक साढे सात लाख रुपैयाँ भाडा तिर्नुपर्ने बोझ थपिएको हो । ३ मार्चदेखि अहिलेसम्म भाडाको इन्जिन प्रयोग गरेबापत निगमले एमटियू नामक कम्पनीलाई १० करोड ३८ लाख रुपैयाँभन्दा बढी रकम बुझाएको छ । अहिले जहाज बिग्रिएर ग्राउन्डेड हुँदा पनि निगमले दैनिक दुई हजार अमेरिकी डलर (दुई लाख ५४ हजार रुपैयाँ) इन्जिनको भाडाबापत तिर्नैपर्छ ।

दायाँ इन्जिनमा दुई उडान साइकल मात्रै बाँकी 
निगमका प्राविधिकले १२ साउनमा जहाजको इन्जिनमा मेसिन पठाएर ‘बोरेस्कोप इन्स्पेक्सन’ गर्दा इन्जिनमा समस्या देखिएको थियो । प्राविधिकले जहाजमा १० साइकल मात्रै रहेको बताएका थिए । जहाज निर्माता कम्पनी एयरबसकै प्राविधिकले पनि बोरेस्पोक इन्स्पेक्सन अध्ययन गर्दा अहिलेकै अवस्थामा जहाज उडाउन जोखिम रहेको जानकारी गराए । यो जहाज १४ साउनमा दिल्ली उडान गरेपछि ग्राउन्डेड गरिएको छ । ‘अब जहाजबाट दुईपटक मात्र उडान गर्न मिल्छ,’ निगमका एक प्राविधिकले भने, ‘भोलि जहाज मर्मतका लागि विदेश लैजाँदा समस्या नहोस् भनेर दुई उडान साइकल जोगाएर राखिएको हो ।’ 

बोरेस्कोप इन्स्पेक्सन रिपोर्टअनुसार जहाजको इन्जिन विदेशमा लगेर मर्मत नगरी उडाउन सम्भव देखिँदैन । इन्जिन मर्मत गर्न र अर्को इन्जिन भाडामा ल्याउने विदेशी कम्पनी छनोटका लागि निगमको आर्थिक विनियमावली, सार्वजनिक खरिद ऐनलगायत पालना गर्नुपर्छ । तर, निगम व्यवस्थापनले अहिलेसम्म इन्जिन मर्मत गर्न र अर्को इन्जिन ल्याउन कुनै सुरसार नगर्दा महिनौँ ग्राउन्डेड हुने देखिएको निगमका एक कर्मचारीले बताए । ‘कार्यकारी अध्यक्ष अधिकारीको कार्यशैली हेर्दा फेरि पनि जहाज महिनौँ ग्राउन्डेड हुने चिन्ता छाएको छ,’ निगमकै एक कर्मचारीले बताए । कोभिडपछि भर्खर पर्यटन क्षेत्र तंग्रिन थालेपछि सेप्टेम्बरदेखि खचाखच विदेशी पर्यटक आउने अपेक्षा छ । तर, पर्यटक बोक्न अग्रणी भूमिका खेल्नुपर्ने राष्ट्रिय ध्वजावाहक पर्यटकीय सिजनमा ग्राउन्डेड भइरहने हो कि भनेर पर्यटन व्यवसायी पनि चिन्तित बनेका छन् । 

बायाँ इन्जिन इजरायलमै अलपत्र
निगम व्यवस्थापनले क्षमतावान् कम्पनी छनोट नगर्दा इजरायली आइएआई कम्पनीले समयमै इन्जिन मर्मत गर्न नसकेको निगमकै कर्मचारी स्वीकार गर्छन् । सात महिनाअघि बिग्रिएको यही जहाजको इन्जिन अहिले इजरायली कम्पनी आइएआईमा अलपत्र छ । इन्जिन कहिलेसम्म मर्मत हुन्छ, निगमकै उच्च अधिकारी पनि अनभिज्ञ छन् । निगमले मर्मतका लागि प्रस्ताव आह्वान गर्दा लुफथान्सा, एमटियू र आइएआईले प्रस्ताव पेस गरेका थिए । तर, निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले सक्षम कम्पनीलाई ‘रिङआउट’ गरी कमजोर आइएआईलाई इन्जिन मर्मत गर्न दिँदा समस्या भएको निगम स्रोत बताउँछ । त्यसो त कतार र इजरायलबीच सुमधुर सम्बन्ध नहुँदा निगमलाई कतारबाट आइएआइमा इन्जिन पठाउनै धेरै समय लाग्यो । लुफथान्साको तुलनामा आइएआई अनुभव र प्राविधिक दुवै पक्षमा पछाडि रहेको निगमका प्राविधिक बताउँछन् । कार्यकारी प्रमुखले अग्रसरता लिएर समयमै निर्णयमा नपुग्दा निकै ढिलो गरी इजरायली कम्पनी आइएआईलाई इन्जिन बनाउन दिइएको थियो । आइएआईले इन्जिन मर्मत गर्न सामानको १० लाख डलर र लेबर कस्ट २० लाख ६० हजार गरी कुल ३० लाख ६० हजार अमेरिकी डलर लाग्ने बताएको छ ।

तीन महिनाका लागि भाडामा लिइएको इन्जिन पाँच महिना बित्दासम्म फिर्ता गरिएन
इन्जिन झिकेर मर्मतमा पठाएपछि निगमले एमटियूसँग बढीमा ९० दिनका लागि इन्जिन भाडामा लिएको थियो । २१ जनवरीमा बसेको निगम सञ्चालक समितिको बैठकले पनि निगमको अधिकतम हित हुने गरी प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही इन्जिन मर्मत हुने अवधि वा बढीमा ९० दिनसम्मको अवधिमध्ये जुन अगाडि हुन्छ, सो अवधिका लागि इन्जिन भाडमा लिनेसम्बन्धी कार्य व्यवस्थापनबाट गर्ने निर्णय गरेको थियो । ३ मार्चदेखि भाडा लागू हुने गरी इन्जिन ल्याएर जहाजले ६ मार्चदेखि नियमित उडान सुरु गरेको हो । 

तर, इजरायली कम्पनी आइएआईले इन्जिन मर्मत नगरिदिँदा भाडामा ल्याएको पाँच महिना पूरा भइसक्दा पनि निगमका कार्यकारी अध्यक्ष अधिकारीले पटक–पटक म्याद थपेर भाडा तिरिरहेका छन् । तर, आफ्नो इन्जिन बनाउनेतर्फ खास चासो नदेखाएको स्रोतको भनाइ छ । इजरायली कम्पनी आइएआईले पनि इन्जिन मर्मत गर्ने समय पटक–पटक सारिरहेको छ । 

भाडा कुन शीर्षकमा कति तिर्नुपर्छ ? 
निगमले एमटियूलाई दैनिक दुई हजार डलर भाडा, प्रतिघन्टा उडानको दुई सय ९२ डलर र प्रतिसाइकल दुई सय ३९ डलर तिर्ने गरी इन्जिन भाडामा लिएको छ । जहाजले दैनिक न्यूनतम १० घन्टा उडान गर्दा पनि प्रतिघन्टा दुई सय ९२ डलरका दरले दुई हजार नौ सय २० डलर, दिनमा चारपटक उडान अवतरण गर्दा प्रतिसाइकल दुई सय ३९ डलरका दरले नौ सय ५६ डलर र दैनिक दुई हजार डलर भाडा गरी कुल पाँच हजार आठ सय ७६ अमेरिकी डलर भाडा तिरिरहेको छ । यो भनेको दैनिक सात लाख ३५ हजार पाँच सय नेपाली हुन आउँछ । इन्जिन भाडामा लिएबापत ३ मार्चदेखि अहिलेसम्म १० करोड ३८ लाख रुपैयाँ हाराहारी रकम तिर्नुपर्ने देखिएको छ । 

दुवै इन्जिन भाडाकै प्रयोग गर्दा दैनिक १५ लाख तिर्नुपर्ने 
निगमको इजरायलमा मर्मत भइरहेको इन्जिन कहिले आउँछ यकिन छैन । त्यसैले अर्को भाडाको इन्जिन ल्याउनुको विकल्प देखिँदैन । ‘अहिले जहाज नउडे पनि दैनिक दुई हजार डलर भाडा तिर्नैपर्छ, सँगसँगै करोडौँको व्यापार पनि गुमिरहेको छ,’ निगम स्रोतले भन्यो, ‘कि इन्जिन फिर्ता गर्नुपर्‍यो, नत्र अर्को इन्जिन भाडामा लिएरै भए पनि उडान सुचारु गर्नुपर्छ ।’ अर्को इन्जिन लिँदा पनि साढे सात लाख रुपैयाँका दरले भाडा बुझाउनुपरेमा दुईवटा इन्जिनको भाडा मात्रै दैनिक १५ लाख रुपैयाँ पुग्नेछ । निगम व्यवस्थापनको लाचारीका कारण आफ्नो इन्जिन इजरायलमा अलपत्र पारेर चर्को भाडाको इन्जिन प्रयोग गरिरहेको देखिन्छ । निगम कार्यकारी प्रमुख अधिकारीको अनियमितताबारे छानबिन गर्न बनेको समितिले पनि कमिसनको चक्करमा बढी भाडा तिर्ने गरी एमटियूसँग इन्जिन भाडामा लिएको ठहर गरेको छ ।

निगम व्यवस्थापनले पहिल्यै आवश्यक तयारी नगर्दा पनि पटकपटक समस्या आइरहेको प्राविधिक बताउँछन् । दैनिक भाडा र ग्राउन्डेड हुँदा गुमेको व्यापारलाई समेत जोड्ने हो भने निगमले एउटा इन्जिन जगेडा राख्नु नै फाइदाजनक देखिन्छ । ‘एउटा इन्जिन बिग्रिएपछि अर्को पनि बिग्रिन सक्छ भनेर पूर्वतयारी गर्नुपर्थ्यो,’ निगमका उच्च अधिकारीले भने, ‘नेपालमा उडान गर्ने कुनै विदेशी एयरलाइन्ससँग इन्जिनका लागि सहमति गर्न सकिन्थ्यो, त्यो पनि गरिएन ।’

ग्राउन्डेड गर्दा घाटैघाटा
निगमको न्यारोबडीले दिनमा १०–११ घन्टासम्म उडान गथ्र्यो । जहाज ग्राउन्डेड हुँदा निगमले दैनिक एक करोडभन्दा बढी आम्दानी गुमाइरहेको छ । अझै लामो समय ग्राउन्डेड भएमा निगमले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यसै पनि निगमसँग भएका चारवटा जहाज पूर्ण क्षमतामा उडाउन नसक्दा जहाज किन्दा लिएको ऋणको सावाँ–ब्याजको किस्ता तिर्न सकेको छैन । निगमले जहाज उडाएरभन्दा ग्राउन्ड ह्यान्डलिङबाट राम्रो आम्दानी गर्दै आइरहेको छ । तैपनि गत आर्थिक वर्षमा मात्रै निगमलाई चार अर्ब ७९ करोड रुपैयाँ घाटा भएको छ । जुन अघिल्लो वर्षको तुलनामा धेरै हो । आव ०७७÷७८ मा निगमको घाटा तीन अर्ब ६६ करोड रहेको थियो ।