मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण २४ मंगलबार १२:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिंकरमा स्वास्थ्य चौकी नहुँदा औषधि लिन ६ घन्टा पैदल

Read Time : > 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार १२:३२:००

व्याँस गाउँपालिका– १ तिंकरका स्थानीय औषधि लिन दैनिक ६ घन्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको त्रिदेशीय नाका तिंकरमा स्वास्थ्य चौकी नहुँदा स्थानीय ६ घन्टा हिडेर छाँगर आउनुपर्ने बाध्यता छ । ‘छाँगरूमा स्वास्थ्य चौकी छ । तर छाँगरूबाट तिंकर आउन र जान ६ घन्टाभन्दा बढी समय लाग्छ,’ तिंकरका स्थानीय प्रह्लाद तिंकरीले भने, ‘चीनको सीमानजिकै रहेको तिंकर गाउँमा अहिलेसम्म राज्यको ध्यान पुगेको छैन ।’ समुद्री सतहबाट तीन हजार दुई सय मिटर उचाइमा तिंकर छ ।

तिंकरीका अनुसार यो गाउँमा ६५ घरधुरीको बसोवास छ । योभन्दा माथि गाउँ छैन । तिंकरकै छायालेकमा नेपाल प्रहरी पनि छ । तर, नजिक स्वास्थ्य संस्था नहुँदा स्थानीय र सुरक्षाकर्मीलाई समेत बिरामी हुँदा समस्या हुने गर्दछ । प्रहरी र स्थानीयले खलंगाबाटै औषधि लिएर खानुपर्ने बाध्यता रहेको तिंकरी बताउँछन् ।औषधिसमेत राज्यबाट नपाउँदा हरेक वर्ष स्थानीयले ६ महिना गाउँमा बस्दा सास्ती भोग्नुपरेको स्थानीय दानसिह तिंकरी बताउँछन् । ‘सीमाका नागरिक हामीलाई राज्यले हेर्ने दृष्टिकोण पञ्चायतकालदेखि नै बनेको छैन । धन्न हिमाली क्षेत्रमा बस्ने हामीलाई अहिलेसम्म केही भएको छैन । तर, बिरामी भयो भने बचाउन सकिने अवस्था छैन,’ तिंकरीले भने । 

संविधानले हरेक नागरिकलाई निःशुल्क र सर्वलसुलभ स्वास्थ्य सेवा पाउने हक उल्लेख गरे पनि उच्च भूभागमा बस्ने तिंकरवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको स्थानीयको गुनासो छ ।  तिंकरी भन्छन्, ‘तिंकरबाटै सामान्य औषधि लिन छाँगरू झर्नुपर्छ । छाँगरूमा औषधि नपाएपछि नेपालतिर आउन पाँच दिन पैदल हिँड्नुपर्छ । नेपालतिर भएर आउन घोरेटो बाटोसमेत छैन । भारतले अनुमति दिए मात्रै भारतीय सडकको प्रयोग गर्नुपर्छ ।’

अहिले छाँगरूमा अहेव विक्रम शाहलगायत चारजना स्वास्थ्यकर्मी छन् । स्थानीय सरकारले समेत तिंकर गाउँमा स्वास्थ्यकर्मी खटाउनेबारे अहिलेसम्म केही निर्णय नगरेको गाउँपालिका स्वास्थ्य संयोजक चन्द्रसिंह कुँवरले बताए । गाउँपालिकाले भर्खरै मात्र स्वास्थ्यकर्मीका लागि भर्ना प्रक्रिया थालेको छ । नियुक्तिपछि कर्मचारी खटनपटन हुन्छ । उनले भने, ‘अहिले तिंकका नागरिक छाँगरूमै आएर सेवा लिन्छन्, । अहिले हामीले तिंकरमा छाँगरूबाटै स्वास्थ्यकर्मी अस्थायी रूपमा खटाउने सोच बनाएका छौँ ।’

व्याँस गाउँपालिका– १ वडासचिव विनोदसिंह बुढाथोकीले गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट तिंकरमा स्वास्थ्य भवन बनाइएको भए पनि बजेट फ्रिज हुँदा निर्माण कार्य अधुरै रहेको बताए । यो क्षेत्रमा निर्माण व्यवसायीले दुई–तीन महिना मात्रै काम गर्न पाउँछ । बजेट फ्रिज भएपछि अहिले निर्माणाधीन स्वास्थ्य चौकी भवन प्रयोग गर्न पाइएको छैन । यो वर्ष गाउँपालिकासँग स्वास्थ्य चौकी भवन निर्माणका लागि बजेट र स्वास्थ्यकर्मी माग गरिएको उनले बताए ।

व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी यो वर्ष तिंकरमा स्वास्थ्य संस्थापना स्थापना गरिने बताउँछन् । यो निकै संवेदनशील विषय हो । अहिलेसम्म राज्यले यहाँका नागरिकलाई स्वास्थ्य सेवाको हक प्रत्याभूति गर्न नसकेको भन्दै उनले स्वास्थ्य चौकी स्थापना गरेर स्वास्थ्यकर्मी तिंकरमा खटाइने बताए ।