मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Wednesday, 18 December, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o७९ श्रावण २४ मंगलबार o८:३३:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

विद्यार्थीको रुचि एकातिर अभिभावकको सपना अर्कोतिर

एसइई पछिको यात्रा

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार o८:३३:oo

बाजुराका राजेश शाहीले ०७६ मा राम्रो नतिजा ल्याएर एसइई पास गरे । उनी व्यवस्थापन पढ्न चाहन्थे । तर, बाबु दानबहादुर शाही उनलाई विज्ञान पढाउन चाहन्थे । र, बाबुले भक्तपुर च्यामासिंहमा रहेको बागिश्वरी माविमा विज्ञान संकायमा भर्ना गरिदिए । विद्यालयले लिएको कक्षा ११ को पहिलो त्रैमासिकमै राजेश फेल भए । यसपछि बाबु दानबहादुरलाई चिन्ता लाग्यो । विद्यालयले पनि राजेशसँग पढाइ बिग्रनुको कारणबारे सोधखोज गर्‍यो । आफ्नो चाहनाअनुसारको विषय नपढेकाले फेल हुनुपरेको राजेशको जवाफ थियो । त्यसपछि विद्यालयका कक्षा ११ र १२ संयोजक ज्ञानसागर प्रजापतिको सुझावमा दानबहादुरले राजेशलाई पुनः कक्षा ११ मै व्यवस्थापन संकायमा भर्ना गरिदिए । 

राजेशले राम्रो अंक ल्याएर कक्षा ११ पास गरे । उनी अहिले कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा छन् । ‘मलाई साइन्स पढ्न गाह्रो पनि लागेको थियो र पढ्ने रुचि पनि थिएन,’ उनले सुनाए, ‘बुबाले राम्रो विषय पढाउन खोज्नुभएको थियो, तर त्यसमा मेरो इच्छा नभएकाले मिहिनेत गर्न सकिनँ, त्यसपछि म आफ्नो रुचिकै विषयमा फर्किएँ ।’ रिना लामिछानेले बागिश्वरी माविबाटै एसइई दिइन् । उनी यही विद्यालयमा कक्षा ११ मा विज्ञान पढ्न चाहन्थिन् । तर, उनका अभिभावकको रहर छोरीलाई स्टाफ नर्स बनाउने थियो ।

अभिभावकले स्टार्फ नर्सको तयारी गर्न दबाब दिए पनि रिनाले सुरुमा उक्त विषय नपढ्ने जिद्दी गरिन् । त्यसपछि रिनाका बुबाआमाले विद्यालयसँग सल्लाह लिए । विद्यालयले विद्यार्थीकै रुचिअनुसार पढाउन भन्यो । रिना बागिश्वरीमा विज्ञान समूहमा भर्ना भइन् । कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा ल्याएर उनले अहिले स्नातक तहमा एमबिबिएस पढ्न थालेकी छिन् । ‘विद्यार्थीलाई उनीहरूकै रुचिअनुसारको विषय पढ्न दिनुपर्छ,’ कलेजका कक्षा ११ र १२ संयोजक ज्ञानसागर प्रजापतिले भने, ‘अनि बल्ल पो उसले प्रगति गर्न सक्छ ।’

ललितपुर हात्तीवनकी सुनिता घिमिरे एसइईमा छोरीले राम्रो अंक प्राप्त गरेपछि विज्ञान समूहमा भर्ना गरिदिने सोचमा छिन् । तर, एसइईमा ३.१ जिपिए ल्याएकी छोरी सामना पौडेल उक्त विषय पढ्न चाहन्नन् । सामनाले लिटिल एन्जल्स स्कुलबाट एसइई दिएकी थिइन् । उनी यही विद्यालयमा व्यवस्थापन पढ्न चाहन्छिन् । ‘हामीलाई त राम्रो विषयमा राम्रोसँग पढोस् भन्ने नै हो,’ सुनिताले भनिन्, ‘साइन्स पढ्न जाँगर नगरे आफूलाई रुचि भएको विषय नै पढ्न सुझाव दिएका छौँ ।’ 

अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई राम्रो स्कुल र आफ्नो चाहनाअनुसारकै विषय पढाउन खोज्छन् । तर, छोराछोरीका पनि आफ्नै इच्छा हुन्छ । दुवैको रोजाइ मिले समस्या हुँदैन, नमिलेको अवस्थामा भने एकप्रकारको द्वन्द्व नै सिर्जना हुन्छ । 

राम्रो अंक ल्याएर एसइई पास गरेपछि नुवाकोट बट्टारका निश्चल न्यौपानेले काठमाडौंको कुनै निजी विद्यालयबाट ‘फिजिक्स साइन्स’ पढ्न चाहेका छन् । तर, उक्त विषय पढ्न धेरै खर्च लाग्ने भएकाले अभिभावकले उनलाई अर्कै विषय पढ्न सल्लाह दिएका छन् । उनका अभिभावकको चाहना कुनै सरकारी स्कुलमा ‘बायोलोजी’ पढाउने हो । छोराले रोजेको विषय पढाउने वा अर्को विषय पढाउने भन्नेमा यतिवेला अभिभावकसमेत दोधारमा छन् । ‘बाबुले निजी विद्यालयबाट ‘फिजिक्स साइन्स’ पढ्छु भनेको थियो, तर प्राइभेटमा त्यो विषय पढ्न धेरै खर्च लाग्छ,’ उनकी आमा निर्मला न्यौपानेले भनिन्, ‘त्यसैले हामीले उसलाई अरू नै विषय लिएर सरकारीमा पढ्न सल्लाह दियौँ ।’ 

एसइईको नतिजा आएपछि आफ्ना छोराछोरीलाई कस्तो विषय र विद्यालयमा पढाउने भन्ने पिरलो आमअभिभावकलाई छ । अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई राम्रो स्कुल र आफ्नो चाहनाअनुसारकै विषय पढाउन खोज्छन् । तर, छोराछोरीले पनि आफ्नै चाहनाअनुसार विषय लिने सोचका हुन्छन् । अभिभावक र छोराछोरीको रोजाइ मिले त समस्या भएन, नमिलेको अवस्थामा एकप्रकारको द्वन्द्व नै सिर्जना हुन्छ । 

‘हामीले भर्खरै एसइई दिएर ११ र १२ को पढाइ सुरु गर्न लागेका छोराछोरीलाई द्विविधा र दबाब दिनुहुन्न, बरु उनीहरूलाई सल्लाह र सुझाव दिनुपर्छ,’ कपनका ज्ञानप्रसाद पौडेलले भने, ‘त्यसो गर्दा उनीहरू पढाइमा नै कमजोर हुन सक्छन्, उनीहरूको मानसिकतासमेत बिग्रन सक्छ ।’ काठमाडौंको जरंखुस्थित कौशल इंग्लिस बोर्डिङ स्कुलबाट एसइई दिएकी आकृति देवकोटालाई भने अब कुन विषय पढ्ने भन्ने दबाब छैन । उनले एसइई दिएकै विद्यालयमा कक्षा ११ र १२ पढ्ने सोच बनाएकी छिन् । उनले एसइईमा जिपिए ३.५ ल्याएकी थिइन् । सो स्कुलमा ‘कम्प्युटर साइन्स’को पढाइ हुने भएकाले त्यही विषय नै आफ्नो रोजाइमा रहेको उनले सुनाइन् । ‘मलाई पहिलेदेखि नै कम्प्युटर साइन्स पढ्ने रहर छ, बुबाममीले पनि जे पढ्न मन छ त्यही पढ्न भन्नुभएको छ,’ उनले भनिन्, ‘त्यसैले आफ्नो रोजाइकै विषय पढ्ने योजनामा छु ।’ 

शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यार्थीको रोजाइमा अभिभावक वा विद्यालयले दबाब दिन नहुने बताए । ‘अभिभावकले यो वा त्यो विषय पढ् भनेर आफ्ना बच्चालाई कचकच गर्नुहुन्न, यसले उनीहरूको मनोविज्ञानमा समेत असर पार्छ,’ उनले भने, ‘उनीहरू केमा रुचि राख्छन् र के विषयमा अब्बल छन् त्यही विषय पढ्न दिनुपर्छ ।’ विषय छनोट वा पढाइमा छोराछोरीलाई स्वतन्त्र छाडिदिनु नै उत्तम हुने कोइरालाको निष्कर्ष छ ।

पढाइमा फरक पार्छ शैक्षिक संस्थाले 
विद्यार्थीले आफ्नो क्षमता र एसइईमा प्राप्त गरेको अंकको आधारमा त्यसपछिको विषय र विद्यालय रोज्छन् । तर, उनीहरूले विद्यालयको पढाइ मात्रै हेर्दैनन्, पढ्ने वातावरण, भौतिक संरचना, ल्याब तथा पढाइसम्बन्धी उपकरण, खेलमैदान, स्मार्ट शिक्षक, नियमित पठनपाठन, चुस्त विद्यालय प्रशासनलगायत कुरामा पनि विद्यार्थीले चासो दिन्छन् । यी सबै कुरामा अब्बल विद्यालयमा भर्ना हुने आउने विद्यार्थीको संख्या थेगिनसक्नु हुन्छ ।

विद्यार्थीको संख्या थेग्न नसक्ने कतिपय विद्यालयले कोटा नै छुट्याएका छन् । हात्तीवनमा रहेको लिटिल एन्जल्स स्कुलबाट एसइई दिएकी सामना पौडेलले विद्यालयको भौतिक वातावरणका साथै पढ्ने वातावरण पनि राम्रो हुनुपर्ने बताइन् । ‘घरबाट मात्रै नभएर हामीले धेरै कुरा सिक्ने भनेको विद्यालयबाटै हो, त्यसैले विद्यालयमा सबैखाले ज्ञान दिने गरी पढाउनुपर्छ,’ उनले भनिन्, ‘आवश्यकताअनुसार र मनोरञ्जनसँगै पढाउने विद्यालय मन पर्छ ।’ 

विद्यार्थीको चाहनाअनुसार विषय पढ्न नदिँदा अभिभावकलाई नै पछुतो हुन्छ
 ज्ञानसागर प्रजापति कक्षा ११, १२ संयोजक वागीश्वरी कलेज

हरेक अभिभावकले छोराछोरीलाई उनीहरूकै रुचिको विषय पढ्न दिनुपर्छ । पढ्न इच्छा नलागेको विषय पढ्न अभिभावकले कर गर्दा छोराछोरीको सपना नै भताभुंग हुन्छ । विद्यार्थीलाई रुचिअनुसारको विषयमा पढ्न नदिँदा उनीहरूले आफ्नो प्रस्तुति राम्ररी देखाउन सक्दैनन् । त्यसले पछि गएर अभिभावकलाई नै पछुतो हुन्छ । अभिभावकको दबाब र जिद्दीको विषयमा भर्ना गरिदिँदा असफल भएका उदाहरण हामीसँग धेरै छन् । 

अप्ठ्यारो विषय लिएर अड्किनुभन्दा सजिलो विषय लिएर पास गर्नु राम्रो
 राजेश शाही, विद्यार्थी

मेरो बुबाले मलाई डाक्टर वा इन्जिनियर बनोस् भन्ने चाहनु राख्नुभएको थियो । तर, मलाई साइन्स पढ्ने इच्छा नै थिएन । सजिलो विषय लिने र छिटो उत्तीर्ण गर्ने मेरो सोच थियो । त्यसैले पछि मैले म्यानेजमेन्ट पढेँ । विषय जस्तो भए पनि सफल हुनका लागि त्यसमा आफूलाई गहिरो रुचि हुनुपर्छ । साइन्स वा अन्य गाह्रो विषय पढ्दा पढाइमा मात्रै घोटिनुपर्छ भन्ने कुराले मैले सजिलो विषय रोजेको हुँ । अर्को कुरा, मेरो फुटबलमा रुचि छ । यसअघि मैले सानेपा क्लबबाट फुटबल खेलेको थिएँ । अहिले एन्फाको अन्डर– १७ मा छनोट प्रक्रियामा भाग लिएको छु ।