Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २४ मंगलबार ०६:०१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिट बाँडफाँड गर्ने कार्यदलको संयोजकमा सिटौला : ०७४ को संघीय र ०७९ को स्थानीय निर्वाचनलाई मुख्य आधार मानेर प्रारम्भिक प्रस्ताव बनाउने तयारी

Read Time : > 2 मिनेट
२०७९ श्रावण २४ मंगलबार ०६:०१:००

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको गठबन्धन दलहरूको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको छ । सोमबार बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजकको जिम्मेवारी तोकेको हो । 

०७४ को संघीय र ०७९ को स्थानीय तह निर्वाचनलाई मुख्य आधार मानेर सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने कार्यदलको तयारी छ । कार्यदलमा नमिलेका विषय शीर्ष नेताहरूलाई छाडिने संयोजक सिटौलाले बताए । शान्तिप्रक्रिया र संविधान निर्माणमा समन्वयकारी भूमिका निभाएका सिटौला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका रोजाइका पात्र हुन् । 

कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहितको सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ । कार्यदल सुझावका आधारमा गठबन्धनले भदौ पहिलो साताभित्र बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरेको छ । 

सरकारका प्रवक्ता तथा कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पहिलो बैठकमा दलहरूका प्रारम्भिक धारणा आएको, संयोजक तोकिएको र आगामी बैठकमा थप छलफल हुने बताए । उनका अनुसार आ–आफ्ना दलमा छलफल गरेर कार्यदलको अर्को बैठक २६ साउनमा बस्नेछ । ‘पहिलो बैठकमा सदस्यहरूले दलगत रूपमा आ–आफ्नो धारणा राख्नुभयो । तालमेल कसरी अगाडि बढाउने र चुनावपछि पनि गठबन्धन कसरी लैजाने भन्नेबारे सदस्यका धारणा आएका छन् । छलफल सकारात्मक रूपमा अगाडि बढेको छ,’ कार्कीले भने, ‘बैठकले कार्यदलको संयोजन गर्ने जिम्मा नेता कृष्ण सिटौलालाई तोकेको छ । कार्यदलले म्यान्डेटअनुसार सिट बाँडफाँडबारे प्रतिवेदन तयार गरी शीर्षस्थ तहमा बुझाउनेछ ।’ 

माओवादी नेता देव गुरुङले सहमतिका आधारमा अगाडि बढिने बताए । ‘कार्यदलको पहिलो बैठकमा तालमेलको तयारीबारे प्रारम्भिक छलफल भएको छ । दलहरूबीच सहमतिमा नै अगाडि बढ्ने सहमति छ । बैठकले संयोजक चयन गरेको छ । अब व्यवस्थित रूपमा छलफल अगाडि बढ्छ । छलफल तालमेलको आधार र मोडालिटीको विषयमा प्रवेश गरेको छ,’ उनले भने । 

कार्यदल सदस्य एवं एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पहिलो बैठकमा प्रारम्भिक छलफल भएको र सिटमा दाबी पेस नभएको बताए । ‘प्रारम्भिक छलफल भयो, तर कुनै पनि दलले अहिले सिटको दाबी गरेका छैनन् । बैठकमा साझा धारणा बनाएर जानेबारे छलफल भएको छ,’ भुसालले भने । 

गत शुक्रबार बसेको सत्तागठबन्धनले चुनावी सिट बाँडफाँडको प्रस्ताव तयार पार्न ११ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा सिटौलासहित कांग्रेसबाट महामन्त्री गगन थापा र कार्की, माओवादीबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । 

कांग्रेसको आन्तरिक छलफल : ‘०७४ को निर्वाचन र स्थानीय तहको परिणाम सिट बाँडफाँडको आधार’
कांग्रेस नेताले ०७४ को प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन र तथा वैशाखको स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको आधार हुन सक्ने बताएका छन् । सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा नेताहरूले ०७४ को निर्वाचन र अहिलेको स्थानीय तह निर्वाचनमा प्राप्त गरेको सिटलाई आधार मानेर जान सुझाव दिएका छन् । 

कार्यदल बैठकअगाडि प्रधानमन्त्रीनिवास बालुवाटारमा कांग्रेस नेताहरूको बैठक बसेको थियो । नेता रामचन्द्र पौडेलले कति सिटमा कांग्रेसको दाबी रहने भन्नेबारे बैठकले निर्णय नगरेको बताए । ‘प्रारम्भिक रूपमा ०७४ को निर्वाचनमा गठबन्धन दलको तथा गत स्थानीय तह निर्वाचनमा गठबन्धन दलको अवस्थाबारे छलफल भयो,’ पौडेलले भने, ‘सिट संख्याबारे स्पष्ट केही भएको छैन, दलहरूको क्षमताअनुसार लिनुपर्छ भन्ने सुझाव छ ।’

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा प्रारम्भिक सुझाव मात्र आएको जानकारी दिए । ‘०७४ को चुनाव र यसपालिको स्थानीय चुनावमा पाएको मतलाई आधार मानेर सिट बाँडफाँड गर्न सुझाव आएका छन्,’ महतले भने । सहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेसले बढीभन्दा बढी सिट जित्ने गरी गठबन्धन गर्न सुझाव दिएको जानकारी दिए । 

कार्यदलमा सहमति जुट्न नसकेका विषय शीर्ष तहबाट टुंगिन्छन् : कृष्ण सिटौला, संयोजक सिट बाँडफाँडसम्बन्धी पाँचदलीय कार्यदल

कार्यदल संयोजकको जिम्मेवारी पाउनुभएको छ, अब कसरी काम थाल्नुहुन्छ ? 
हामीले आ–आफ्नो पार्टीमा पनि छलफल गर्नुपर्ने हुन्छ । कार्यदलमा बसेर पनि छलफल गर्नुपर्ने हुन्छ । हतार गरेर पनि निर्णय गर्न सकिँदैन, साह्रै ढिला गर्ने अवस्था छैन । गठबन्धनमा रहेका दलमा मतदातालाई कसरी जोड्ने भन्ने मुख्य विषय हो । कसरी भोटलाई एक पार्टीबाट अर्को पार्टीमा जोड्न सकिन्छ, कुन तरिका अपनाउने भन्ने विषयमा क्रमिक छलफल गर्दै जानेछौँ । र, टुंगोमा पुग्नेछौँ । 

पहिलो बैठकमा के भयो, दलहरूका प्रस्ताव प्रवेश गरे कि ? 
पहिलो बैठकमा कुनै पनि दलबाट सिटबारे दाबी प्रस्तुत भएको छैन । गठबन्धनमा रहेका सबै दलले आगामी निर्वाचनमा तालमेल गरेरै जाने निर्णय गरेका छन् । तालमेल गरेर जाँदा तालमेलको आवश्यकताबारे अवधारणा चाहिन्छ भन्ने विषयमा छलफल प्रवेश गरेको छ ।

तालमेलका प्रारम्भिक आधार के हुन सक्छन् ? 
मूलतः विगतका निर्वाचन नै हुन् । वैशाखको स्थानीय तह निर्वाचन, २०७४ को संसदीय निर्वाचन, तत्कालीन अवस्थामा मतदातामा देखिएको ‘रुझान’लगायत समग्र विषय तालमेलको आधार हुनेछन् । यसबारे दल र कार्यदलमा विस्तृत छलफल हुन्छ । सिट सीमित छन्, दलहरूका धेरै दाबी रहने होलान् । 

तालमेल निकै कठिन छ भनिन्छ नि ? 
कार्यदलले आफ्नो तहमा सुल्झाउन सक्ने विषय सुल्झाउँछ । विषय पेचिलो बनेको अवस्थामा शीर्ष तहमा छलफल हुन्छ र टुंगो लाग्छ ।

कार्यदलमा कहिलेसम्म काम सक्नुहुन्छ ? 
कार्यदललाई समयसीमा नै त तोकिएको छैन । जतिसक्दो छिटो कार्यदलले टुंगोमा पु¥याउनुपर्नेछ ।