
प्राकृतिक विपत्तिले बर्सेनि थिलथिलो हुने सिन्धुपाल्चोकमा यो वर्ष तुलनात्मक रूपमा कम क्षति भएको छ । १० दिनदेखि लगातार परेको भारी वर्षाले धेरै स्थानमा भौतिक क्षति पुर्यायो, मानवीय क्षति भएन । जिल्ला प्रहरी कार्यालय चौताराका सूचना अधिकारी डिएसपी दक्षकुमार बस्नेतले हालसम्म ठूलो भौतिक क्षति नभएको बताए । यद्यपि, ठूलो बाढी आउँदा मेलम्ची र हेलम्बुस्थित नदीतटीय क्षेत्रका बासिन्दामा भागदौड चल्ने गरेको छ । उनीहरू जहिले पनि सुरक्षित स्थानको खोजीमा भौँतारिन्छन् ।
प्रहरी र जनप्रतिनिधिले दिएको जानकारीअनुसार हेलम्बु गाउँपालिका– ५ सिरिसेमा १० घर पहिरोको जोखिममा छन् । मेलम्ची नगरपालिका– २ भोटेचौर न्युगाउँमा पहिरो जाँदा १६ घर जोखिममा छन् । पहिरो जाँदा बनेको अस्थायी खोलालाई पन्छाएर बस्ती सुरक्षित गर्न सुरक्षाकर्मी लागिरहेको मेयर आइतमान तामाङले बताए । जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा लगेर टेन्टमा राखिएको सूचना अधिकृत बस्नेतले जानकारी दिए ।
यता बाह्रबिसे नगरपालिका– ९ काँडाबिसौनामा चार घर पुरेको छ । सडकको वाल भत्केर घर पुरिएका हुन् । यता जुगल गाउँपालिका– ६ मगरनाम्सामा पहिरोले नौ घर पुरेको छ । पहिरोले पुरेका र जोखिममा रहेका स्थानीयलाई टेन्ट दिएर सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए । जुगल, भोटेकोसी, बाह्रबिसे, त्रिपुरासुन्दरी, हेलम्बु र पाँचपोखरी थांपाल गाउँपालिकामा शाखा सडकहरू पहिरोले अवरुद्ध भएका छन् ।
बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर कोदारी सडक, बलेफीदेखि २० किलोमिटर ढाँडे पुग्ने सडक, मेलम्चीबाट तिपेनी जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको छ । मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले सयौँ रोपनी धानबाली बगाएको छ । बाहुनेपाटी, ढाँडखोला, भिमटारमा धानखेत बगाएको हो । यता ब्रह्मायणी नदीमा आएको बाढीले पनि जलवीरेआसपास केही स्थानमा धानबाली बगाएको छ ।
१७ साउन ०७१ को जुरे पहिरोदेखि १ असार ०७८ मा मेलम्ची खोलामा आएको बाढीले पाँच सयभन्दा बढीको ज्यान गयो । ०७२ को भूकम्पमा सिन्धुपाल्चोकमा मात्रै तीन हजार पाँच सय मानिसको ज्यान गएको थियो । त्यसपछि लगातार २१ असार ०७३ मा भोटेकोसी नदीमा आएको बाढी र पहिरोले भएका मानवीय क्षति, जम्बु पहिरो, नागपुजे पहिरो, लिदी पहिरो र अरू स–साना पहिरोले पुरेर दर्जनौँ मानिसको मृत्यु भयो । पहिरोले पुरेको बस्तीका अधिकांश पीडितको अवस्था अझै सुध्रिएको छैन ।