१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसको नजर मधेसमा : ‘पहिलो शक्ति बन्न लोसपासँग सहकार्य’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:३o:oo

पाँचदलीय गठबन्धनभित्र चार दलले उपगठबन्धन बनाउने गृहकार्य गरेपछि कांग्रेसले पनि मधेस प्रदेशका लागि अलग्गै मोर्चाको तयारी थालेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपासँग संघीय र प्रदेश निर्वाचनमा तालमेलको प्रस्ताव गरेका छन् । आइतबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले लोसपा नेतासँग तालमेलको औपचारिक प्रस्ताव गरेका हुन् ।

प्रस्ताव सकारात्मक रहेको तथा दुई दलबीच तालमेलको सम्भावना पनि रहेको लोसपा नेताले बताएका छन् । नेता लक्ष्मणलाल कर्णका अनुसार प्रधानमन्त्री देउवाले आफू लोसपाका माग सम्बोधनमा सकारात्मक रहेको भन्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए । माओवादी अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यसबारे थप छलफल गर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । 

गठबन्धनमै सहभागी हुने वा कांग्रेस–लोसपा मात्रै तालमेल गर्ने दुवै विकल्प खुला रहेको नेता कर्णले बताए । ‘हाम्रा माग पूरा भएको अवस्थामा र छलफल गर्दै जाँदा गठबन्धनमा सामेल भएर या कांग्रेस–लोसपा मात्रै मिलेर निर्वाचनमा जाने सम्भावना कायमै छ,’ उनले भने । लोसपाले मधेस आन्दोलनका मुद्दा फिर्ता र बन्दी रिहाइलगायत माग राखेको छ । नागरिकता विधेयक पारितसँगै एउटा महत्वपूर्ण माग भने सम्बोधन भएको छ । 

माओवादी, एकीकृत समाजवादी र जसपासँगै मधेस प्रदेशमा तालमेल गर्न कठिन हुने बुझाइमा रहेको कांग्रेसले वैकल्पिक मोर्चाका रूपमा लोसपासँग सहकार्यको हात बढाएको हो । पाँचदलीय गठबन्धनका चार दलले उपगठबन्धन बनाए मधेसमा कांग्रेस र लोसपा गठबन्धनको सम्भावना रहनेछ । मधेसका आठ जिल्लामा संघीय संसद्का ३२ प्रत्यक्ष सिट छन् । मतदाता धेरै रहेकाले समानुपातिकतर्फ त्यसको महत्व हुन्छ । संघीय संसद्मा आफ्नो शक्ति बढाउन जुनसुकै पार्टीलाई मधेस रणनीतिक भूभाग हो । 

स्थानीय निर्वाचनमा मधेस प्रदेशमा कांग्रेस पहिलो शक्ति बनेको थियो । मधेसका एक सय ३६ पालिकामध्ये कांग्रेस ४६, एमाले ३०, जसपा २५, लोसपा १४, माओवादी नौ, एकीकृत समाजवादी ६, जनमत पार्टी दुई, तराई मधेस लोकतान्त्रिक पार्टी एक, विवेकशील साझा पार्टी एक र स्वतन्त्रले दुई पालिकामा जित निकालेका थिए । कांग्रेस स्थानीय तहमा जस्तै मधेसमा पहिलो शक्ति बन्ने दाउमा छ । स्थानीय तह निर्वाचनमा कमजोर परिणामपछि लोसपा आगामी निर्वाचनमा ठूला पार्टीसँग गठबन्धनको रणनीतिमा छ । लोसपा नेताहरूले गठबन्धनका लागि कांग्रेस र एमाले दुवैबाट प्रस्ताव आएको दाबी गरेका छन् । नागरिकता विधेयक पारित भएपछि लोसपा कांग्रेससँग सकारात्मक छ । 

 कांग्रेस र लोसपाका लागि मधेस किन महत्वपूर्ण ?
स्थानीय निर्वाचनमा मधेसमा कांग्रेस पहिलो शक्ति बनेको थियो । मधेसका एक सय ३६ पालिकामध्ये कांग्रेस ४६, एमाले ३०, जसपा २५, लोसपा १४, माओवादी नौ, एकीकृत समाजवादी ६, जनमत पार्टी दुई, तराई मधेस लोकतान्त्रिक पार्टी र विवेकशील साझा पार्टी एक–एक तथा स्वतन्त्रले दुई पालिकामा जित निकालेका थिए । संघ र प्रदेशको निर्वाचनमा पनि पहिलो शक्ति बन्ने कांग्रेसको रणनीति छ । त्यस्तै, स्थानीय निर्वाचनमा कमजोर परिणाम आएपछि लोसपा ठूला पार्टीसँग गठबन्धन गर्नुपर्ने दबाबमा छ ।

सत्ता राजनीतिका लागि मधेस रणनीतिक
देशका ७७ वटै जिल्लामा प्रत्यक्षततर्फ एक सय ६५ सिट रहँदा मधेसका आठ जिल्लामा मात्र संघीय संसद्का ३२ सिट छन् । मतदाता धेरै रहेकाले समानुपातिकतर्फ पनि मधेसको ठूलो महत्व छ । संघीय संसद्मा आफ्नो शक्ति बढाउन जुनसुकै पार्टीलाई मधेस रणनीतिक भूभाग हो । पाँच दलबीच तालमेल गर्ने निर्णय गरे पनि एकल बहुमतको नजिक पुग्ने लक्ष्य लिएको कांग्रेस मधेसमा धेरैभन्दा धेरै सिट जित्न चाहन्छ । तर, पाँचै दलबीच सिट बाँडफाँड हुँदा कांग्रेसको भागमा थोरै पर्न सक्छ, त्यसैले उसले लोसपासँग सहकार्य गरेर मधेसमा वैकल्पिक मोर्चाको रणनीति बनाएको छ ।

कांग्रेस–लोसपा मात्रै मिलेर निर्वाचनमा जाने सम्भावना कायमै छ
लक्ष्मणलाल कर्ण, लोसपा नेता

मधेस आन्दोलनका मुद्दा फिर्ता र बन्दी रिहाइलगायत माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ । उहाँले गठबन्धनमा आउन प्रस्ताव गर्नुभएको छ । प्रचण्ड फर्किएपछि थप छलफल गरौँला भन्नुभएको छ । हाम्रा माग पूरा भएको अवस्थामा र छलफल गर्दै जाँदा गठबन्धनमा सामेल भएर या कांग्रेस–लोसपा मात्रै मिलेर निर्वाचनमा जाने सम्भावना कायमै छ ।

 

ad
ad