Skip This
ad
भंगालोको भर डुंगा : १२ वर्षअघि शिलान्यास भएको पुल अहिलेसम्म बनेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

भंगालोको भर डुंगा : १२ वर्षअघि शिलान्यास भएको पुल अहिलेसम्म बनेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:o६:oo

जिल्लाको दुर्गा भगवती गाँउपालिका वडा नम्बर– ५ मा पर्ने बडहर्वा गाँउका बासिन्दालाई वडा कार्यालय र गाउँपािलकाको कार्यालयमा आउन जोखिम मोलेर दुईवटा डुंगा चढेर आवतजावत गर्नुपर्ने बाध्यता छ । बागमतीको दुईवटा भंगालो तर्नका लागि दुईवटा डुंगा चढनुपर्ने बाध्यता रहेको छ । १२ वर्षअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको पुल आजसम्म नबनेका कारण बागमती पारी रहेका करिब चार सय घरपरिवारका बासिन्दा जोखिम मोलेर डुंगामा आवतजावत गर्न बाध्य छन् । 

हिउँदमा बाँसको पुल र वर्षामा जोखिम मोलेर उनीहरू वर्षौँदेखि डुंगामा आवतजावत गर्न बाध्य रहेका छन् । बडहर्वा गाउँका स्थानीयले डुंगा चढेबापत वार्षिक रूपमा डुंगा सञ्चालकलाई अन्न दिनुपर्ने बाध्यता छ । पूर्वप्रधानमन्त्री नेपालले शिलान्यास गरेको रौतहट–सर्लाही जोड्ने बागमती नदीमा साढे १२ वर्षदेखि अलपत्र रहेको पुलको बाँकी काम सुरु गर्न नयाँ ठेक्का लगाएको बताइए पनि काम सुरु हुन सकेको छैन । 

लामो समयदेखि निर्माणको काम बन्द हुँदा त्यस क्षेत्रको लाइफलाइन नै अस्तव्यस्त बनेको छ । वर्षाका वेला स्थानीयलाई आवतजावतमा निकै कठिनाइ हुने गरेको स्थानीय बासिन्दा सुरेन्द्र पासवानले बताए । तराई–मधेसका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजना हुलाकी राजमार्गअन्तर्गत दुर्गा भगवती गाउँपालिका– ५ बडहर्वास्थित बागमती नदीमा निर्माण हुँदै गरेको उक्त पुलको ६० प्रतिशत मात्रै काम सकिएको छ । यसअघि ठेक्का लिएको लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले पुलको पिलर मात्र बनाएर त्यत्तिकै छाडेको थियो । ३५ करोड ८९ लाख नाै हजार चार सय ३३ रुपैयाँमा ठेक्का सकारेको लुम्बिनीले २०७० जेठ ३० मा निर्माण सक्ने गरी २०६७ जेठ ३१ मा सम्झौता गरेको थियो । ६ सय ३३ मिटर लामो पुलमा १७ स्पान बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । सबै स्पान ठडिएपछि बाँकी काम भएको थिएन ।

सो पुलको ठेक्का लुम्बिनीले लिए पनि सम्पूर्ण कामको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माणकै क्रममा नदीले धार बदलेपछि पप्पुले २०७० मै काम बन्द गरेको हो । साबिकको स्थानभन्दा पूर्वबाट नदी बग्न थालेपछि पुलको औचित्य नहुने भन्दै तत्काल काम रोकिएको थियो । त्यसपछि निर्माण कम्पनीले डिजाइन गलत भएको भन्दै एकतर्फी रूपमा ठेक्का रद्द गरेको पत्र पठायो । पुल बन्न लागेको भन्दा करिब आठ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि हुलाकी सडक आयोजनाले पनि निर्माणको काम रोकेको थियो ।

३६ महिनामा काम सक्ने गरी महालक्ष्मी विकास वाइफी जेभीले ठेक्का सकारेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले बताए । रौतहट र सर्लाहीवासीलाई आवतजावतमा निकै सहज हुन्थ्यो । अहिले दुवै जिल्लावासी डुंगा चढेर वारपार गर्छन् । वारि वतसपुर, बडहर्वा, राजदेवीलगायत स्थानका मानिस डुंगा चढेरै पारि खेतमा काम गर्न जान्छन् । पुल नबनेका कारण आफूहरूले सास्ती खेप्नुपरेको स्थानीय बासिन्दा विनोद पटेलको भनाइ छ । गाउँपालिका र वडा कार्यालयमा केही सिफारिस गर्न आउनका लागि एक दिनको समय खर्चनुपरेको पटेलको भनाइ  छ । 
 

ad
ad