Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ श्रावण २० शुक्रबार ०६:२३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शक्ति सन्तुलनको विश्लेषणसहित एमालेले चुनावी रणनीति बनाउने

Read Time : > 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार ०६:२३:००

कांग्रेस नेतृत्वको गठबन्धन तोडे माओवादी र एकीकृत समाजवादीसँग तालमेलका लागि खुला 

सरकारले ४ मंसिरका लागि आमनिर्वाचन घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमाले शक्तिसन्तुलनको विश्लेषणसहित चुनावी प्रतिस्पर्धामा जाने रणनीतिमा छ । सत्तारूढ दलहरू अहिलेकै गठबन्धन कायम राख्ने कसरतमा देखिएपछि एक सय ६५ संघीय र तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रको शक्तिसन्तुलन विश्लेषण गर्दै चुनावी प्रतिस्पर्धामा होमिने एमालेको तयारी छ । 

उपमहासचिव प्रदीप ज्ञवालीले एमाले तयारी अवस्थामा रहेकाले तत्काल बैठक राखेर शक्तिसन्तुलनको विश्लेषणसहित रणनीतिक योजना बनाएर चुनावमा होमिने बताए । ‘चुनावका लागि तम्तयार छौँ । देशव्यापी रूपमा प्रशिक्षण अभियान, कार्यकर्ता अभिमुखीकरणजस्ता कार्यक्रम चलिरहेको छ । अब नेतृत्वदायी निकायको चरणबद्ध बैठक राखेर तीन काम गर्छौँ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘पहिलो– चुनावको मुख्य एजेन्डा निक्र्योल गरेर बहुमतका लागि अपिल गर्दै जनतामा जाने निर्णय गर्छौँ । दोस्रो– शक्तिसन्तुलनको विश्लेषण गरेर आवश्यक रणनीति बनाउँछौँ । तेस्रो– उम्मेदवार चयनका लागि प्रारम्भिक तयारीका काम अगाडि बढाउँछौँ र सिंगो पार्टी पंक्तिलाई चुनावमा केन्द्रित गर्नेछौँ ।’ दल दर्ता र कानुनी तयारीलगायतका काम पनि पार्टीले अगाडि बढाउने ज्ञवालीले जानकारी दिए । 

एमालेले कांग्रेसको नेतृत्व छाडेर आएको अवस्थामा भने माओवादी, एकीकृत समाजवादी र जसपासहित कुनै पनि दलसँग सम्भावित चुनावी गठबन्धनको ढोका भने खुलै राख्ने रणनीति बनाएको छ । ‘उहाँहरूको अभिव्यक्ति र गतिविधि हेर्दा गठबन्धन नै अगाडि जाने देखिन्छ । आफूलाई वामपन्थी भन्नेहरू पनि कांग्रेसलाई बलियो र ठूलो दल बनाउने मिसनमै हुनुहुन्छ, त्यसलाई नै ठूलो सफलता ठानिरहनुभएको छ । जब कि कांग्रेस कम्युनिस्ट पार्टीको विकल्पको शक्ति हो । त्यसैले आफूलाई कम्युनिस्ट भन्ने पार्टीका साथीहरू नै त्यस दिशामा प्रतिबद्ध रहेसम्म सहकार्य र तालमेलको सम्भावना छैन,’ ज्ञवालीले भने, ‘यति हुँदाहुँदै पनि हामीले सहकार्य र तालमेलको ढोका बन्दचाहिँ गरेका हुँदैनौँ । राष्ट्रियताको रक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सुरक्षा, राष्ट्रिय हित र लोकतन्त्रको सुदृढीकरणको एजेन्डामा सहमति हुन्छ भने हाम्रोतर्फबाट सहकार्यको ढोका खुला नै हुन्छ, तर सत्ता प्राप्तिको उद्देश्यलाई मात्र केन्द्र भागमा राखेर हामी गठबन्धन गर्दैनौँ ।’

आमनिर्वाचनलाई लक्षित गरेर एमालेले असार अन्तिम साताबाट सुरु गरेको कार्यकर्ता भेला र प्रशिक्षणलाई प्रदेश हुँदै जिल्ला तहमा विस्तार गरिरहेको छ । जिल्लापछि पालिका र वडास्तरसम्म चुनावी तयारीको प्रारम्भिक कार्यक्रम गर्ने एमालेको कार्यतालिका छ । आमनिर्वाचनमा एक्लै प्रतिस्पर्धाको सम्भावना औँल्याएर एमाले नेतृत्वले प्रतिरक्षात्मक मनोविज्ञानबाट आक्रामक योजनासहित चुनावी अभियानमा अगाडि बढ्न कार्यकर्तालाई तयार पारिरहेको छ । 

प्रदीप ज्ञवाली, उपमहासचिव, एमाले
चुनावका लागि तम्तयार छौँ । देशव्यापी रूपमा प्रशिक्षण अभियान, कार्यकर्ता अभिमुखीकरणजस्ता कार्यक्रम चलिरहेको छ । अब नेतृत्वदायी निकायको चरणबद्ध बैठक राखेर तीन काम गर्छौँ । पहिलो– चुनावको मुख्य एजेन्डा निक्र्योल गरेर बहुमतका लागि अपिल गर्दै जनतामा जाने निर्णय गर्छौँ । दोस्रो– शक्ति सन्तुलनको विश्लेषण गरेर आवश्यक रणनीति बनाउँछौँ । तेस्रो– उम्मेदवार चयनका लागि प्रारम्भिक तयारीका काम अगाडि बढाउँछौँ र सिंगो पार्टी पंक्तिलाई चुनावमा केन्द्रित गर्नेछौँ ।

एमालेको संरचना बलियो छ, तर अहिलेको अवस्था सहज छैन : प्रा.डा. लोकराज बराल राजनीतिक विश्लेषक 

०७४ को निर्वाचन एमालेका लागि अनुकूल थियो । केपी ओलीले नाकाबन्दीलगायत विषयमा बोलेका कारण ‘राष्ट्रवादको छवि’ थियो । त्यो अब छैन । त्यतिवेला अरू पार्टी एमालेविरुद्ध बलियो रूपमा उभिएको अवस्था पनि थिएन ।

अहिले अवस्था परिवर्तन भएको छ । एमालेविरुद्ध पाँचदलीय गठबन्धन बनेको छ । यो कांग्रेस र गठबन्धनमा रहेका दललाई फाइदाजनक देखियो । अहिलेको सरकारले डेलिभरी दिन नसके पनि बिगारेको पनि केही छैन ।

नागरिकता विधेयक ल्याएर मधेसको मुद्दामा नजिकिन खोजेको देखिन्छ । एमालेको संगठन संरचना बलियो छ, तर अहिले एमालेका लागि सहज अवस्था भने देखिँदैन ।